२५ करोड मौरी भागेपछि . . .

काठमाडौँ । अमेरिकाको वासिङ्टन राज्यमा २५ करोड मौरी भागेपछि सावधानी अपनाउन प्रहरीले चेतावनी जारी गरेको छ । मौरी बोकेको ट्रक दुर्घटना हुँदा २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना हुँदा २५ करोड मौरीहरू एक साथ भागेका हुन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउन भनिएको छ ।
क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको समाचारमा उल्लेख छ ।
पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन्। – एजेन्सी