कुकुरको दिसा सोहोरेर बार्षिक ४५ लाख आम्दानी !
काठमाडौँ । बेलायतका एक युवाले कुकुरको दिसा उठाउने काम गरेर बार्षिक ४५ लाख रुपैयाँ भन्दा धेरै कमाइरहेका छन्। न्युयोर्क पोस्टका अनुसार ३९ वर्षीय काइल न्युभी नामक व्यक्ति कुकुरको दिसा उठाउने काम गरेर मालामाल बनिरहेका छन् । बेलायतको साउथ वेस्ट न्यूज सर्भिससँग कुरा गर्दै न्युभीले धेरैलाई असामान्य लाग्ने आफ्नो उक्त पेशाबारे बताएका छन् । डर्बीशायरका बासिन्दा तथा पेशाले निर्माण व्यवसायी रहेका न्युभीले गतवर्ष मार्च महिनामा इन्स्टाग्राममा एउटा समाचार देखे । त्यसबाट उनले अमेरिकामा कुकुरको दिसा संकलन गर्ने व्यवसाय अत्यन्त लोकप्रिय रहेको कुरा थाहा पाए । त्यसपछि ‘पेट पू पिक’ अर्थात् कुकुरको दिसा उठाउने काम सुरु गर्ने सोच बनाए । त्यसपछि उनले बेलायतको इस्ट मिडल्यान्ड्स क्षेत्रमा यस्तै व्यवसाय सुरु गरेर हेर्ने निर्णय गरे । बेलायतमा यस किसिमको काम गर्ने मानिसहरू निकै कम देखिएकाले उनले फेसबुकमार्फत विज्ञापन दिए । त्यसपछि केही समयमै ग्राहकहरू सम्पर्कमा आउन थाले र व्यवसाय विस्तार हुन थाल्यो । अपेक्षा भन्दा धेरै छिटो र धेरै ग्राहकहरू आउन थालेपछि उनी आफैँ अचम्मित भए ।
सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टले ठूलो चासो जगाइदिएपछि काइल न्यूभीको यो अनौठो पेशा लोकप्रिय बन्दै गयो । अहिले उनीसँग ३५ जना नियमित ग्राहक छन्। उनका अनुसार, उनी बुधबार १५ जना र शनिबार २० जना ग्राहकलाई सेवा दिन्छन् । पहिलो भेटमा उनले ४० डलर लिन्छन् भने त्यसपछि हरेक हप्ता २० डलर शुल्क तोकिएको छ । अतिरिक्त आम्दानीका लागि कुकुरको दिसा उठाउने उक्त पार्ट–टाइम काम निकै लाभदायक साबित भएको उनी बताउँछन् । उनले कुकुरको दिसा उठाउने कामबाट प्रतिहप्ता करिब २ हजार ६८० अमेरिकी डलर कमाउँछन् । उनी हप्तामा करिब १२ घण्टा यस्तो काम गर्छन् । हाल यो उनको अतिरिक्त पेशाका रूपमा काम गरिरहेका छन् । भविष्यमा यसलाई पूर्ण व्यवसायका रूपमा विस्तार गर्ने योजना रहेको उनले बताए । यो कामबाट आफूले निर्माण क्षेत्रमा १० घण्टाको सिफ्ट गर्ने आम्दानीभन्दा पनि बढी कमाइ गर्न सक्ने उनको भनाइ छ । तर यो काम सजिलो भने छैन । प्रत्येक गार्डेनबाट औसतमा १४ वटा कुकुरको दिसा उठाउनुपर्छ । यसका लागि स्कूपर र झोला प्रयोग गरिन्छ र एउटा गार्डेनमा करिब १०-१५ मिनेट समय लाग्छ।
अझ यसरी कुकुरको दिसा संकलन गरेपछि त्यसलाई सुरक्षित रूपमा फाल्नका लागि करिब ५० माइलसम्म यात्रा गर्नुपर्छ । त्यसपछि प्रयोग गरिएका उपकरणहरूलाई राम्ररी कीटाणुरहित बनाइन्छ, ताकि कुनै गन्ध वा दाग बाँकी नरहोस् । उनका अनुसार, दिनको करिब चार घण्टा गाडी चलाउन र तीन घण्टा प्रत्यक्ष सफाइमा खर्च हुन्छ, जुन सबै समय पार्ट–टाइम काम अन्तर्गत नै पर्छ। न्यूभीका अनुसार उनका आधाभन्दा बढी ग्राहक वृद्ध वा शारीरिक रूपमा कमजोर रहेका छन् । धेरैजसो ग्राहक बैशाखीको सहारामा हिँड्ने भएकाले उनीहरू आफैंले सफा गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमा पालेको कुकुरका लागि न्यूभीले सेवा प्रदान गर्दछन् । -एजेन्सी
