धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार

–अनिल शर्मा

कोभिड–१९ महामारीको कारण देशमा सरकारले बन्दाबन्दी घोषणा गर्ने निश्चित भएपछि सहरमा बस्नुभन्दा गाउँमा उपयुक्त होला भनेर चैत ८ गते भोजाड, भरतपुरबाट पहाडतिर लागेँ । लोथर बजार नपुग्दै माथि उकालो बाटो हुँदै बजारकै साथी ऋषि सुवेदीसहित लोथरतिर लाग्यौँ । त्यसदिन जनयुद्धकालकै कार्यकर्ता मानबहादुर चेपाङको घरमा बास बसियो । राप्ती–१, (साविक लोथर), तारेवाङ गाउँका मानबहादुर प्रजाको पराले झुपडीमा न्यानो आतिथ्यता थियो । त्यसैदिन त्यहीँ मकवानपुरका पार्टी इन्चार्ज मिङ्मार आइपुगे । स्थानीय नेता कमरेड दोर्जे पनि त्यहीँ आइपुगे । हामी लोथर खोलाको छेउमा थियौँ । खोलाको नागबेली आकृति मनोरम देखिन्थ्यो । खोलापारी मकवानपुर जिल्लाका पाखा–पखेरा तरेली परेका मनोरम लाग्थे । चैतको आधा घर्किनै लाग्दा पनि यतातिर चिसो घटेको थिएन । त्यसै बासमा भर्खरै जेलबाट रिहा भएका युवा कमरेड लक्ष्मण पौडेल र उनका साथी चिकित्सक लहानका रुपेश यादव आइपुगे । जेलबाट रिहा भएका साथीसँगको भलाकुसारी रमाइलो हुन्थ्यो नै । सर्वोच्च अदालतले सरकार र प्रहरीको ज्यादतीको लामो तालिकासहित रिट जारी गरेको रहेछ । फैसला हेरेर समाचार बनाएँ । त्यसलाई सञ्चारगृहसम्म पठाएँ । त्यहीँ पत्रकारहरू भिम चापागार्इं, प्रकाश डुम्रे, शिव डुम्रेसँग छलफल भयो ।

मानबहादुरका दुईटी श्रीमती रहेछन् । मैले जेठीलाई ‘तपाईंहरूको झगडा हुन्छ कि हुन्न दिदी ?’ भनेँ । “केलाई झगडा हुनु, आ–आफ्नो कर्म खानी त हो” जेठीले त्यसो भन्दा कान्छी छेउमा मुसुमसुु हाँस्दै थिइन् । बुढाको कपाल बाँसको जराजस्तै लाग्थे । मैले कति दिनमा नुहाउँछ भाइ ? प्रश्न गरेँ । “सानोमा नुहाएको कामज्वरो आयो । त्यसपछि यो उमेरसम्म नुहाएको छैन । वर्षामा आकासको पानीले भिजिन्छ, त्यत्ति हो” सहजरूपमा उनले भने । त्यो कुरामा उनकी जहानले पनि सही थापिन् । “कि पूरै सफा कि पूरै फोहोर, आधा काम कुनै पनि राम्रो हुन्न सार” हात नधोइकन खाना खानुहुन्न भन्ने मेरो प्रश्नमा उनको जवाफ हुन्थ्यो । डोरी बुनेर बनाएको जालीवाला झोला, त्यसभित्र हँसिया कम्मरबाट सुत्ने बेलामात्र फुकाल्थे । मानबहादुर वनतिर जान्थे । वन थर्काउने गरी नेपाली भाषामा गीत गाउँथे । “गीत त राम्रो गाउनुहुँदो र’छ नि भाइ !” भन्नासाथ “गीत गाएर त दुईटी ल्याएको नि दाइ !” मानबहादुर हाँस्दै भन्थे । कामरेड दोर्जेले फोनमा तरकारी खोज्दै थिए । “ए, कामरेड के मागेको ? बरू नुनसँग खाउँला नि !” मानबहादुरले ठुस्किँदै भने । मानबहादुर गरिब थिए । पढेका थिएनन् । ओढारजस्तो कोप्चेरोमा बास थियो । तर स्वाभिमानका कस्ता धनी ! मलाई इष्र्या लाग्यो त्यो स्वाभिमान जीवनको ! जहाँ धन–सम्पति नभएपनि स्वाभिमान थियो ।

लोथरको त्यो चेपाङ गाउँबाट तेस्रो दिन हामी पश्चिमतिर लाग्यौँ । बाटोमा अँध्यारो वन आयो । त्यहाँ पानी घट्ट थियो । “यो खोँचमा कालीनाग बस्थ्यो । घनघोर वर्षा हुन्थ्यो । दिउँसो १२ बजेपछि हुरी चल्थ्यो । आजभोलि नाग हरायो । नाग हराएसँगै सबैथोक हरायो । मान्छे पापी भएर यस्तो भयो नि सार” कमरेड दोर्जे भन्दै थिए । यस्तो परिवर्तन जलवायु परिवर्तनले भएको होला । तर उनी भने मान्छे पापी भएर भन्दै थिए । प्रकृतिमाथि भएको अतिक्रमणले जलवायुमा ठूलो परिवर्तन भएको हेक्का उनमा थिएन ।

साँझ हामी एउटा अजम्बरी गाउँमा पुग्यौँ । दोस्रो संविधानसभाको निर्वाचनमा त्यो गाउँबाट एक मत पनि खसेको थिएन । मैले त्यो गाउँलाई उसैबेला ‘चितवनको थवाङ गाउँ’ शीर्षकमा समाचार बनाएको थिएँ । कमरेड दोर्जेको त्यो गाउँलाई मैनाटार भनिँदो रहेछ । वसन्त ऋतु लाग्दानलाग्दै त्यो गाउँमा मैनाचरीहरू गीत गाउन थाल्छन् । बुढी आमाको हाँसोजस्तो प्रिय दृष्य । गाउँको पूर्व, पश्चिम र उत्तरतिर खोला थिए । चारैतिर वन । गाउँ आफैँ वन हो कि बस्ती हो जस्तो थियो । साथीहरूले गँगटा, झिँगमे माछा, स–साना माछाहरू ल्याउँथे । कहिले निउरो, कोइरालो, टाँकी, लट्टे, सिमी तरकारी वनपाखाबाट ल्याउँथे । एकदिन कमरेड दोर्जेकी जहानले “हाइस्याक्री चल्छ सर ?” सोधिन् । जनयुद्धको समयमा धेरै चल्थ्यो । भारतको जेलमा बस्दा मुस्लिम साथीहरू भएकोले हाइस्याक्री धेरै नै चल्थ्यो । मुस्लिम र हिन्दु कैदीबन्दीका अलग–अलग कोठा हुन्थे । “आजभोलि चलेको छैन । तर चलाउन सकिन्छ” भनेको थिएँ । गाउँमा हाइस्याक्री काटेका रहेछन् । एक हप्तासम्म सुकुटी खाइयो । एक हप्तापछि गाउँमा राँगो ढाले । एक मुरी मकै किनेर घट्टमा लगेर पिठो बनाइयो । जाँतोमा पिँधेर मकैको सातु बनायौँ । सहरमा बन्दाबन्दीले उकुसमुकुस पार्दै थियो । गाउँमा बन्दाबन्दीको त्यति धेरै प्रभाव थिएन । सहरका ज्यामी गाउँ फर्केका थिए । नुन–तेल कसरी ल्याउने भन्ने समस्या थियो ।

एक दिन उच्च रक्तचापले थलिएका कमरडे दोर्जेको मामाले आफ्नो र गाउँको कथा सुनाए । “ऊ त्यो पारीको गाउँ खास मैनाटार हो । तलको चौर जम्डाँडा हो । ऊ त्यो चुलिवाङ हो । कान्दा ऊ त्यतातिर हो” मामाले बेलिविस्तार लगाए । “दाइ ब्रोसवाङ गाउँमा अनिकाल परेको छ । बाटो, भवन, खानी, ईट्टाभट्टाको काम बन्द भएपछि श्रमिक बस्तीमा कोरोना कहर पीडादायी बन्दै गएको छ । ब्रोसवाङमा खानेपानीको पनि हाहाकार छ । समाचार बनाउन पाए कसैको ध्यान आकृष्ट हुन्थ्यो कि ?” मकवानपुरका नेता मिङ्मारले ब्रोसवाङबाट फोन गर्दै थिए । त्यो खबरलाई मैले ‘काकाकुल ब्रोसवाङ’ शीर्षकमा समाचार बनाएर प्रेषित गरेँ । दोर्जे गायक र कवि पनि हुन् । उनका गीतहरू सञ्चारसम्म पु¥याएँ । लेख्न प्रेरित गरेँ । त्यसरी दुई हप्ता बित्यो ।

दुई हप्तापछि थाकलटार बजार हुँदै उत्तर–पश्चिम लाग्याँ । पैदल यात्रा थियो । गाउँबाट अलि तल जम्डाँडा पथ्र्यो । “ऊ त्यो डाँडाको चौरलाई जम्डाँडा भन्छन् । त्यहीँ कमरेड समरले जनमुक्ति सेनालाई तालिम गराइरहनु हुन्थ्यो । स्थानीयले ‘जम्प डाँडा’ भन्दा भन्दै ‘जम्डाँडा’ भन्नथाले” मलाई पु¥याउन आएका साथी दोर्जेले जनयुद्धको समयमा कमरेड केशव रिमाल ‘समर’ले पटक–पटक त्यही ठाउँमा जनसेनालाई तालिम दिएको स्मरण गरे । नवलपरासी जिल्लाको पर्सावल गाउँमा २०५८ सालमा शाही सेनाले कमरेड समरको हत्या गरेको थियो । त्यसपछि आकासमात्र अलिअलि देखिने सेती नदीजस्तो लाग्ने तर छिपछिपे पानी भएको डरलाग्दो प्राकृतिक सुरुङ हुँदै हामी लोथर खोला पुग्यौँ । थाकलटारछेउ बसेर दोर्जेले बजारतिर सरकारका दूत भए नभएको बुझे । त्यसबेला गाउँतिर गुप्तचरलाई ‘भाइरस’ र प्रहरीलाई ‘झिँगा’ भन्ने गरिन्थ्यो । एकजना समर्थकलाई दोर्जेले तामाङ भाषामा ‘झिँगा, भाइरस केही छ ?’ सोधेका थिए । मलाई अर्को गाउँसम्म पु¥याउन थाकलटारमा विद्यार्थी कार्यकर्ता देवशमसेर लामा भटभटे लिएर आएका थिए ।

साँझ नपर्दै ओनेवाङ पुगियो । यो चेपाङ गाउँ हो । तर कहिलेदेखि त्यहाँबाट चेपाङहरू विस्थापित भए ? किन विस्थापित भए ? खोजको विषय छ । भञ्ज्याङमा प्रतिक्षालय छ । हाम्रो पार्टीले जनसहभागितामा बनाएको हो । चौतारीमा थरक मारेर हाते मोबाइलमा विद्युतीय समाचार हेर्न लागेँ । समाचारहरू हेरिनसक्नु पीडादायी थिए । बन्दाबन्दीको कारण रोजगार गुमाएका ज्यामीहरू, निम्न व्यापारीहरू, सडक पसलेहरू शरणार्थीजस्तै पैदलै घर फर्किँदै थिए । सडकभरि घर फर्किनेको ताँती देखिन्थ्यो । दोजिया नारी जुटको बोरामा हाँडाभाँडा बोकेका शरणार्थीहरूको लहर सडकमा असरल्ल थियो । कोही भोक, थकाइ, जलअल्पता आदिले सडकैमा ढल्थे, उठ्थे । काठमाडौँका घरवालाहरू भाडामा बस्नेहरूलाई निकाल्दै थिए । काठमाडौँका मेयर सरकारी राहत लिने भए काठमाडौँ निवासी भएको नागरिकता पेस गर भन्दै थिए । कतारले विदेशी श्रमिकलाई भोक र रोगबाट रक्षा गर्ने वचन दिइरहेको बेला काठमाडौँले आफ्नै देशका नागरिकको सिकार गर्दै थियो । सिकारी मेयरका भेना प्रधानमन्त्री के.पी. ओलीले सडकमा पोखिएका मान्छेहरू सरकारलाई बदनाम गर्ने प्रायोजित भिड भन्दै थिए । घर जान हिँडेका मान्छेलाई प्रहरीले चितवनको मोवा खोलामा रोक्यो । मलाई काठमाडौँ र भरतपुर गिद्धभन्दा पनि बेइमान, अमानवीय लाग्यो । गिद्धले जिउँदोको त सिकार गर्दैन । त्यही अनुभूतिलाई मैले ‘गिद्ध इमानदार हुन्छ’ शीर्षकमा कविता लेखेँ ।

ओनेवाङको बसाइ दुई–चार दिन भन्ने सोचिएको थियो । बसाइ लम्बियो । मेरो फोन प्रहरी निगरानीमा हुँदो हो । किनकि मैले जेल, हिरासत र सञ्चारकर्मीहरूलाई फोन सम्पर्क गरेको थिएँ । विभिन्न राजनीतिकर्मीहरूलाई पनि । गाउँतिर सरकारी प्रतिनिधि पनि हुनसक्थे । केही दिनयता शंकास्पद गतिविधिहरू भइरहेका थिए । गाउँमा प्रहरी अरू कुनै घटनाको अनुसन्धानमा आउने सूचना आयो । चर्को घाम, किसानहरू मकै गोड्दै थिए । जङ्गलछेउको कुइनेटोमा दिनभरी बसेँ । वनभोजझैँ उतै खाना ल्याइदिए । त्यहीँ खाना खाइयो ।

वैशाख २३ गते गाउँमा फेरि प्रहरी आउने सूचना आयो । वडा अध्यक्ष हितबहादुरले सबै सूचना दिइरहेका थिए । हितबहादुर तामाङ तत्कालीन एमाले पार्टीका कार्यकर्ता भएपनि हाम्रा सहयोगी थिए । “आजचाहिँ पक्कै आइन्छ सर” हितबहादुरले भनेका थिए । वैशाख २३ गते बिहानको समाचार सुन्दै थिएँ । रात्रीकालीन लुगा फेरेकै थिइनँ । लिस्नोबाट गोडा चिप्लिएर भुइँमा बजारिएँ । ‘ड्याम्म…’ आवाज आयो । के भयो, थाहै भएन, अर्धचेतजस्तो अवस्था थियो । केही समयपछि उठ्न खोजेँ । सकिनँ । अररर्रो भएको थियो शरीर । राम्ररी होसमा आएपछि पर कतै मान्छेहरू बोलेकोसम्म सुन्दै थिएँ । गाउँलेहरू नजिकै आएको थाहा भयो । “सर अब तपाईंलाई पसिना आयो, अब केही हुन्न” माइला भन्दै थिए । ‘केही हुन्न’ अर्थात् ‘मर्दैनस्’ त्यसको अर्थ थियो । त्यसपछि धेरै जनाले शरीरको विभिन्न भागमा समातेर गोडा टेकाएर उभ्याए । औधी पीडा भयो । “दाइ मलाई किन थप पीडा दिएको ?” भनेछु । “सर तपाईंलाई ठिक हुन्छ” उनै माइलाको आश्वासन थियो । लाग्थ्यो उनी एम.डी. प्रमाणपत्रधारी चिकित्सक हुन् । आखिर मेरो लागि ल्याप्चेवाला भएपनि त्यहाँ उनै त थिए चिकित्सक, सहयोगी सबै । केही समयपछि मान्छेहरू बोलेको सुन्न छोडँे । डर लागेजस्तो, एक्लै भएजस्तो भयो । झण्डै एक महिनादेखि विद्यार्थी भाइहरू देवशमशेर र मिनबहादुर साथै थिए । मैले उनीहरूलाई अध्ययन लेखनकार्यमा प्रेरित गर्थेँ । उनीहरू लेख, कविता, समाचार सञ्चारसम्म पु¥याउन र खानपानमा सहयोग गर्थे । “भाइ मलाई एक्लै नछोड” भनेछु । “अंकल म यहीँ छु, तपार्इंलाई छोड्दिनँ” त्यो प्रिय आवाज सुनियो । भरोसा भयो । मेरो खल्तीबाट कागज निकालेर भाइलाई फोन गरेछन् । “तपाईंको भाइलाई खबर भएको छ । लिन आउदँै हुनुहुन्छ” प्रधानकान्छाले नजिक आएर भनेका थिए । हेलाको हरिसमा म सुतेकै ओछ्यानको तन्नालाई ‘स्ट्रचे र’ बनाएर मलाई ओरालो झारे । मोटरसम्म पुग्न झण्डै एक घण्टा पैदल हिँड्नुपथ्र्यो । एक घण्टामा बोकेर कालीखोला पु¥याए गाउलँेहरूले । प्रधानकान्छाको छोरो मलाई ‘बिस्कुट दिने अङ्कल’ भनेर मेरो सम्झना गरिरहन्थ्यो । ५ वर्षमा टेक्दै गरेको ऊ पनि कालीखोलासम्म आएको थियो । कालीखोलामा भाइ शेष र सुमन वाहन लिएर आइसकेका थिए । उनीहरू दुवैजना स्वास्थ्यकर्मी भएकोले ढुक्क भयो मन । ओरालो बाटो एकघण्टा झ्याँक्दै कालीखोला पु¥याउँदा दुखाइ केही घटेझैँ भएथ्यो । शरीर हल्लिँदा रक्तसञ्चार भएर हो कि किन हो केही आराम भएझैँ भएको थियो । गाउँलेहरू फर्किए । वाहन मलाई लिएर अस्पतालतिर लाग्यो ।

 बाटोमा नै ज्वरो, रक्तचाप हेरे । हातका औँलाहरू चलाए । गोडा चलाए । नदुख्ने अथवा दुखेको थाहा नहुने सुई लगाइदिए । ‘स्पाइनल इन्जुरी छैन दाइ’ खुसी हुँदै उनीहरूले भने । “भरतपुरमा विकास र समृद्धिका त्यस्ता कुरा हुन्छन् । नगरपालिकाभित्रकै गाउँ यस्तो छ । तपाईंलाई यहाँसम्म ल्याएको दृश्य हेरेर रुन मन लाग्यो” सुमन भन्दै थिए । सहरमा बस्ने ‘टुरिस्ट नेता’ र नागरिकको अनुभूति त्यति धेरै फरक थियो । बिहान १० बजेतिर मलाई पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा पु¥याइसकेका थिए ।

गुप्तचरहरू र उनीहरूद्वारा सञ्चालित सञ्चार माध्यमका अनेक हर्कत हुन्छन् । उनीहरू कहिले चुपचाप पिछा गर्छन् । कहिले पोखरीमा ढुङ्गा फालेर तरङ्ग हेछनर्् र सूचना सङ्कलन गर्छन् । त्यसबेला हाम्रो विषयमा अनेक हल्ला हुन्थे । एकदिन पत्रकार झनक श्रेष्ठले भने, ‘दाइ, सामाजिक सञ्जालमा तपाईं गिरफ्तार हुनुभएको हल्ला छ । तपाईं ठीक हुनुहुन्छ नी ?’ हल्लाले चर्चा सुरु हुन्छ । हल्लाले पुष्टि गर्न नयाँ–नयाँ फोन वा माध्यम सक्रिय भइहाल्छन् । त्यसपछि ती सक्रियताको पिछा गरेर भूमिगत व्यक्तिको वास्तविक सूचना सङ्कलन गर्न सकिँदो हो । एकपटक ‘विप्लव भारतमा’ भन्ने समाचार फैलियो । हाम्रा एकजना नेताले नै ‘विप्लव जनताकै बीचमा हुनहुन्छ’ सामाजिक सञ्जालमा लेखे । त्यसबाट विप्लव नेपालमै रहेको पक्का भयो अर्थात् विप्लवको घेरा साँघुरो भयो । प्रविधिको विकासले थप जटिलता पैदा गरेको छ । तर त्यस्ता जटिलताको विषयमा योजनाबद्ध छलफल थिएन । पुँजीपति वर्गले भूखण्डको कुनै स्थानमा घटना हुँनासाथ अनुभवलाई भूमण्डलीकरण गर्छन् । कम्युनिस्ट आन्दोलनमा त्यसो गर्न कुनै सञ्जाल छैन । गोन्जालोको गिरफ्तारीबारे जे जति सूचना सार्वजनिक भए त्यति पनि अध्ययन भएको छैन । अनुभवहरू सिक्ने भन्दा दोहोरिने क्रम चलिरहेको छ ।

चितवनमा मलाई धेरैले चिन्न सक्थे । त्यसैले कसैलाई खबर नगर्नु, उपचार सकेर सुरक्षित ठाउँमा पुगेपछि खबर गरौँला भनेको थिएँ । तर प्रधानकान्छाले उनलाई आवश्यक लागेको सबैतिर खबर गरेछन् । भाइलाई तारन्तार आएका अनपेक्षित फोनबाट त्यो कुरा बुझ्न सकिन्थ्यो । अस्पताल नपुग्दै जिल्लाभरि हल्ला भइसकेको रहेछ । जिल्ला सचिव दुर्गा सुवेदीले पटक–पटक अस्पतालमा भेट्न आउन चाहेको र अस्पतालको नाम भन्न जोड गरिरहेका थिए । त्यसो गर्नु दुवैको सुरक्षाको दृष्टिले गलत थियो । मैले अस्पतालको नाम नभन्न र भेट्न पर्दैन भन्न लगाएँ । तर बारम्बार फोन गरिरहे । यसअघि उनले राम्रो सहयोग गरेका थिए । कमरेड गोञ्जालोले ‘जीवन हो, धरापमा पर्नसक्छ’ भन्नुभएको थियो । त्यो भनाई सम्झेँ । मलाई गिरफ्तार गर्न गृहमन्त्रालयले सबै उपाय गर्न लागेको सूचना आउँथे । धराप छल्दै हिँडेको धेरै भइसकेको थियो । दुस्मनको कब्जामा पर्न सकिन्छ भन्ने कुरामा म सधैँ नै मानसिक रूपमा तयार थिएँ । अस्पतालको आकस्मिक कक्ष नै नियन्त्रणमा लिएर गिरफ्तार गरे । पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट जबरजस्ती घिसारेर प्रहरीले भरतपुर अस्पताल पु¥यायो । र, त्यहीँबाट गिरफ्तार गरेको भनेर प्रचार ग¥यो । सङ्घर्षको मोर्चा बदलियो । त्यसपछि नयाँ मोर्चामा कसरी लड्ने, सर्वहारा वर्ग, कम्युनिस्ट भावना र परम्परा कसरी कायम गर्ने भन्ने सोच्न थालेँ ।

प्रतिक्रियाहरु

[anycomment]