एमसीसीविरुद्ध सांस्कृतिक प्रतिरोध सभा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चानिकट संयुक्त सांस्कृतिक माेर्चाहरुले बुधबार `राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर´ भन्ने मूल नाराका साथ सांस्कृतिक प्रतिरोध सभा कार्यक्रम गरेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल सांस्कृतिक युनियन र अखिल नेपाल जनसांस्कृतिक सङ्घले संसदभवन अगाडि नयाँ बानेश्वरमा राष्ट्रघाती एमसीसी कम्प्याक्टका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन आह्वान गर्दै उक्त कार्यक्रम गरेका हुन् ।
उक्त कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका अन्य वक्ताहरूले अमेरिकी रणनीतिक परियोजनाविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी संस्कृतिकर्मी एवम् देशभक्त नागरिकसमक्ष जोडदार अपिल गरेका थिए ।
कलाकार, कवि, साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय स्वाधीनताको पक्षमा क्रान्तिकारी गीत, नृत्य, कविता र मन्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा दर्जनौं स्रष्टाहरुले आफ्नो काव्यिक रचना प्रस्तुत गरेका थिए । चर्चित क्रान्तिकारी कविहरु बलराम तिमिल्सिना विप्लव, गौरी देवकोटा, छायादत्त न्यौपाने, अशोक सुवेदी, इन्दिरा अधिकारी, विष्णु भण्डारी, नारायण शर्मा विपिन, ऋतु केसी, रामप्रकाश ज्ञवाली लगायतले कविता प्रस्तुत गर्नुभएको थियो भने सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक परिवारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकार माइला लामा, आरोह, प्रदिप देवान, अनिस योञ्जन लगायतले एमसीसीका विरुद्ध क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए । भने अन्य स्रष्टाहरुले गीत, कविता र मन्तव्यमार्फत् एमसीसी सम्झौता खारेज हुनुपर्ने र देशभक्त क्रान्तिकारीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने विचार व्यक्त गरेका थिए ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षता र आरोह नेपालीले संचालन गरेको उक्त प्रतिरोधसभामा प्रकाश थापाले स्वागत गरेका थिए ।