पूर्वसोभियत रुसमा आबद्ध मुलुकलाई साम्राज्यवादी बाटो परित्याग गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पूर्वसोभियत रुसमा आबद्ध मुलुकहरुलाई साम्राज्यवादी बाटो परित्याग गरी लेनिन र स्टालिनले नेतृत्व गर्नुभएको समाजवादकै बाटो अवलम्बन गर्न आग्रह गरेको छ। सो पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्। नेता कञ्चनले रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिकी नीति र व्यवहार रहेको प्रस्ट पारेको बताउदै भनेका छन्, ‘युक्रेनमाथि आक्रमण गर्ने अवस्था सिर्जना गर्न अमेरिकी साम्राज्यवादको प्रमुख भूमिका रहेको तथ्य विश्वसामु प्रस्टै छ । संयुक्त राज्य अमेरिकाले सन १९९० को दशकमा रुसको आन्तरिक राजनीतिमा पैदा भएको कमजोरीको फाइदा उठाउँदै सोभियत सङ्घका तमाम गणराज्यहरू टुक्र्याउने काम मात्र गरेन, बाल्टिक गणराज्यहरूमा सैनिक ब्यारेक खडा गर्ने, रुसका विरुद्ध घेराबन्दी गर्ने, आर्थिक नाकाबन्दी गर्दै रुसी जनतालाई कमजोर बनाउने हर्कत गर्दै आयो । त्यति मात्र होइन, त्यस क्षेत्रका देशहरूमा अमेरिकाले सैनिक उपस्थिति र हतियारको निक्षेपीकरण गर्ने र त्यहाँका सरकार प्रमुखहरूलाई रुसका विरुद्ध उच्काउने काम पनि गर्दै आयो ।’
नेता कञ्चनले विज्ञप्तिमा भनको छन्, ‘स्वतन्त्र राष्ट्रहरूको आर्थिक एवम् राजनीतिक कमजोरीको दुरुपयोग गर्दै साम्राज्यवादी प्रभुत्व कायम गर्ने र जनताको स्वाधीनता र सार्वभौमिकतामाथि बलात् गर्ने कार्य अमेरिकी साम्राज्यवादले गर्दै आयो र अहिले पनि गरिरहेको छ जसको परिणाम अहिले रुस युक्रेनमाथि सैनिक कारबाही गर्न बाध्य भएको प्रस्टै छ ।’
