नेपाल बन्दको प्रभाव देशैभर

२०७८ फाल्गुन १६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता र देशभक्त जनसमुदाय बिहानैदेखि सडकमा उत्रिएका छन् । बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दूध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द छन् । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको छ ।
यसैबीच, नेपाल बन्दमा उत्रिएका ६ राजनीतिक दल र दुई मोर्चाका नेता–कार्यकर्तामाथि सरकारले बिहानैदेखि धरपकड र गिरफ्तारी सुरु गरेको छ । प्राप्त समाचारअनुसार काठमाडौँबाट प्रहरीले बिहानै युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष सागर र सङ्गठनकै हुम्ला उपाध्यक्ष हिम्मत विकलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका युवा नेताहरूलाई कहाँ लगिएको छ र कस्तो व्यवहार गरिएको छ भन्ने कुनै थाहा नदिइएको भन्दै युवा सङ्गठन नेपालले आक्रोश व्यक्त गरेको छ । बन्दमा राजनीतिक पार्टीको मात्र नभएर जनसमुदायको पनि उल्लेख्य र प्रभावकारी उपस्थिति रहेको बताइएको छ । काठमाडौँका चाबहिल स्वयम्भू, कलङ्कीलगायत क्षेत्रमा स्थानीय जनसमुदायले बन्दको अवज्ञा गर्न खोज्ने दर्जनौँ यातायातका साधनमाथि कारबाही गरेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]