‘काँग्रेस, एमाले र माओवादीले अमेरिकी हस्तक्षेप रोक्न सक्दैनन्’

२०७९ असार २२ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काँग्रेस, एमाले र माओवादीले नेपालमा अमेरिकी हस्तक्षेपलाई रोक्न नसक्ने ठोकुवा गर्दै त्यसको निम्ति क्रान्तिकारी श्रमिक जनता र नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्ववाट मात्र सम्भब हुने बताए । नेकपानिकट युवा संगठन नेपाल काठमाडौले बुधबार आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशको पक्षमा उभिने ठुलो कुरा भएको भन्दै त्यसका लागि मारिनसमेत पछि नपर्ने बताए । उनले नेपाली जनताले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई साथ समेत दिने बताए । महासचिव विप्लवले भने – ‘हामीसँग अर्को पार्टीका कार्यकर्ता पनि न्याय माग्न आएका छन् । ‘ उनले अछामको एक जनाले न्याय नपाए विप्लवको पार्टीमा जानुपर्छ भनेर भनेको भन्दै जता गएपनि आफ्नै पार्टी खोजी गर्ने गरेको बताए ।
यसैगरी , महासचिव विप्लवले दलालहरु क्रान्तिकारीहरुका विरुद्ध लडिरहेको भन्दै गगन थापाले अमेरिका नांगो ढंगले आउँदैन भनेर आफुलाई चार पाटा मुडेर खेद्नु भनेको भन्दै अहिले उनलाई अमेरिकाले धोती न टोपी बनाइदिएको बताए । ‘अहिले अमेरिकाले गगनलाई धोती न टोपी बनाइदिएको छ । उनलाई त थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो नि अहिलेसम्म १’ विप्लवको भनाइ छ । उनले अमेरिकाको जनरल आएर नेपालमा क्याम्प खोल्ने हो खोल्न पाउनुपर्छ भनेको भन्दै एमसीसी आइसकेको बताए । त्यस्तै उनले प्रचण्डको व्याख्यात्मक टिप्पणीको पनि धोती लगाइदिएको बताए ।


महासचिव विप्लवले दलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् । बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको विरोध गर्दा विद्यार्थीहरूसँग त्यति धेरै धरौटी मागेकाले त्यस्तालाई घरबाटै थुतेर कुट्नुपर्ने बताएका हुन् । उनले एमसीसी प्रकरणमा काँग्रेस नेता गगन थापाले अमेरिकी सेना नआउने भनेर गरेको भाषणको विरोध गर्दै उनले अहिले उनैलाई अप्ठेरो परेको टिप्पणी गरे । ‘हामीले गाह्रो पारेको होइन गगन थापालाई, हामी त टाउको फुटुञ्जेल लड्यौँ । हातखुट्टा भाचुन्जेल लड्यौँ । हाम्रा साथीहरु जेल पर्नुभयो’, उनले त्यसक्रममा पक्राउ परेकाहरूसँग धेरै रकम धरौटी मागेर दलालहरु मिलेको बताए । महासचिव विप्लवले प्रश्न गरे – ‘धरौटी पनि कति माग्ने ? दश लाख माग्ने ? एउटा विद्यार्थीलाई १० लाख, ५ लाख, न्यायाधीश को हो यो ? घरघर गएर थुतेर कुट्नुपर्छ यिनलाई । एउटा पढिरहेको विद्यार्थीलाई १० लाख कहाँबाट ल्याएर तिर्ने ?’
सो कार्यक्रमलाई सम्बोधन गर्दै संगठन नेपालका अध्यक्ष पाटन जंगलीले क्रान्तिकारी विचार र पार्टीको नेतृत्वविरुद्ध झुट प्रचार गर्ने र क्रान्तिको यात्रालाई भ्रमित पारेर क्रान्तिलाई कमजोर पार्न खोज्नेहरुलाइ युवाहरुले प्रतिरोध गर्ने बताए । देशमा बढ्दै गएको महङ्गी, भस्टाचार र अत्याचार विरुद्ध संघर्ष गर्दै संसदिय व्यवस्थाको अन्त्य गर्न र समाजवादी प्रणालीको उज्यालो भविस्य निर्माण गर्न आफुहरु निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष जंगलीले भने – ” केही समय अघि सुदर्शनहरुले पार्टीका बिरुद्ध भ्रम सिर्जना गर्ने क्रममा विप्लवहरु राजासँग मिलेर दलहरुलाइ तह लगाउनु खोज्नु हुन्थ्यो भनेको सुनियो , यदि उहाहरुलाई पहिले नै यस्तो सूचना थियो भने उहाँ किन यो पार्टीमा आउनु भयो त ? सङ्गै हुदा सबै ठिक छ भन्ने तर अलिकति आफ्नो स्वार्थ पूरा भएन भन्ने बित्तिकै सबै गलत देख्ने यो कसरी भन्न मिल्छ? पत्रकारले उहाहरुलालाई प्रश्न गर्न जरुरी छ।’


युवा संगठन नेपालको उक्त भेलामा सयौ युवाहरूनेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए भने सामना परिवारका कलाकारहरू नृत्य र गितहरु समेत प्रस्तुत गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]