‘नेकपाका नेताविरुद्धको मुद्दा अविलम्ब खारेज गरी बन्दीहरूलाई विना शर्त रिहाइ गर’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाउदै उक्त पार्टीका नेतामाथि लगाइएको मुद्दाहरू अविलम्ब खारेज गरी राजनीतिक बन्दीहरूलाई विना शर्त रिहाइ गर्नु पर्ने बताएका छन । नेता गुरुङले मार्फत नेकपाका भूमिगतकालीन मुद्दा फिर्ता नलिएर गम्भीर गल्ती गरेको बताएका हुन् । पूर्ववर्ती सरकारले नेकपासँग सम्झौता गरेको भएपनि कार्यान्वयन गर्न यो सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
नेता गुरुङले नेकपामाथि लागेका मुद्दा सरकारले फिर्ता गर्नुपर्छ भन्दै लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक उद्देश्यबाट अभिप्रेरित गतिविधिको आधारमा मुद्दा लगाएर विपक्षमाथि प्रतिशोध लिन खोज्नु भनेको लोकतान्त्रिक चरित्र नभएको बताउदै पुराना मुद्दा तत्काल फिर्ता गर्न सरकारसमक्ष मागसमेत गरेका छन ।
यस बिषयमा नेकपाका नेता देब गुरुङले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ – ‘ललितपुर जिल्ला अदालतबाट आज पुरानो मुद्दालाई लिएर विप्लव, प्रकाण्ड, धर्मेन्द्र लगायतका नेकपाका नेताहरूकाविरुद्ध गिरफ्तारीको लागि वारेण्ट जारी गरिएको भनी मिडियाहरूमा समाचार आयो । सामान्यतः अदालत ले आफ्नै अदालती प्रक्रिया अनुसार विचाराधीन मुद्दामा वारेण्ट जारी गर्न सक्छ । तर अदालतमा जे जस्तो मुद्दा परेता पनि राज्य विरुद्ध आन्दोलनरत रहँदा परेका सरकारवादी राजनीतिक मुद्दाहरू हुन् ।
पछिल्लो समयमा विप्लव समूह र ओली सरकार बिच ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण प्रक्रियामा सहभागी भइरहेको स्थितिमा ती मुद्दाहरू सरकार स्वयमले फिर्ता लिएर खारेज गर्नु पर्ने हो । परन्तु अहिले सम्म खारेज नगरी उल्टो गिरफ्तारीको लागि वारेण्ट जारी गरिनुले उत्तराधिकारी सरकारको नैतिक इमानदारितामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । ३ बुँदे सम्झौता जुन सरकारले गरेको भएपनि त्यसको जबाफदेहिता उत्तराधिकारी सरकारलाई स्वतः रहन्छ ।
अतः विगतमा विप्लव समूहका विरुद्ध राज्यको तर्फबाट जे जस्ता मुद्दाहरू लगाइएका छन्, ती सबै मुद्दाहरू विना शर्त फिर्ता लिएर शीघ्रतर रूपमा खारेज गरिनु पर्दछ । लोकतान्त्रिक गणतन्त्रमा पनि राजनीतिक उद्देश्यबाट अभिप्रेरित गतिविधिहरूको आधारमा मुद्दा लगाएर विपक्ष माथि प्रतिशोध लिन खोज्नु भनेको लोकतान्त्रिक चरित्र होइन । अतः सरकारबाट ती मुद्दाहरू अविलम्ब खारेज गरी राजनीतिक बन्दीहरूलाई विना शर्त रिहाइ गरिनु पर्दछ ।’