नेकपाको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव पारीत

बसन्त विक
३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव सिंगो हल बाट पारीत भएको छ । महासचिव विप्लवले करिव साढे चार घण्टा लामो राजनीतिक प्रतिवेद,विधान र जनजाति सम्वन्धिको प्रस्ताव माथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सिंंगो हलले उत्साहका साथ प्रस्ताव पारित गरेको छ ।
हलमा नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद,लगायतका नारा लगाउदै गडगडाहट ताली वजाएर सिंगो हलले राजनीतिक प्रतिवेदन,विधान र जनजाति सम्वन्धिको प्रस्ताव पारित गरेको हो । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रुपमा असफल भएको भन्दैै नेपालमा वैज्ञानिक समाजवाद अनिर्वाय भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट पुरा गर्ने निश्कर्ष निकालेको छ ।
महाधिवेशनले नेपालमा मुख्य गरी भुमण्डलीकृत पूँजीवाद एवम् दलाल संसदीय पूँजीवाद र उत्पीडित जनता बीचको अन्तरविरोध प्रधान भएको निश्कर्ष निकालेको छ ।
यसअघि आईतवार प्रतिवेदनमा समूहको सुझाव राख्न वाँकी समूहका पाँच जना नेता सम्झना, प्रकाश,सोममाया,श्याम र विपिनले सुझाव राखेका थिए ।
यस्तै नेकपाका केन्द्रीय सदस्य रणवीर र उमा भुजेलले पनि दस्तावेज माथिको आ आफ्नो धारणा राखेका थिए । सुक्रवार र शनिवार गरी १५ जना समूह नेता र ७ जना पार्टीका केन्द्रीय सदस्यहरुले सुझाव र धारणा राखेका थिए । असोज २५ गते उद्घाटन भएको नवौंं महाधिवेशन भोली सकिने छ ।