नेकपा दोलखाले चुनाव खारेज कार्यक्रमलाई सशक्त बनाउने

२०७९ कार्तिक २६ गते, शनिबार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी दोलखाको पहिलो पूर्ण बैठक मंसिर ४ गते हुने चुनाव खारेज कार्यक्रमलाई सशक्त बनाउने निर्णय गर्दै सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम सी ‘विकल्प’ ले मंसिर ४ को कथित निर्वाचनलाई सशक्त ढंगले खारेज गर्न र दोलखाली देशभक्त एवं क्रान्तिकारी जनतालाई अपिल गर्न सिङ्गो पार्टी पंक्तिलाई कडा निर्देशन दिएका थिए । उनले अहिले आयोजना गरिएको उक्त चुनावमा देश र जनता विरुद्धमा गम्भीर षड्यन्त्रहरु भइरहेकोले राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा गर्न र परिवर्तनको सपनालाई निरन्तर अगाडि वढाउने ऐतिहासिक दायित्व आएको छ भन्दै त्यसको निम्ति देशभक्त,क्रान्तिकारी जनसमुदायलाई सचेत बनाउन र संगठित गर्न लाग्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
मुलुकमा नवऔपनिवेशिकरणको प्रक्रियालाई तीव्र बनाएर छिटै देशको अस्तित्व नै नामेट पार्ने विदेशी षड्यन्त्र लुकेको छ भन्दै उनले भने “एमसीसी र एसपीपी त्यही उद्देश्य र योजनामा ल्याईएको छ ।” चुनावमा तिनै एमसीसीका पक्षधरहरूको छनौट गर्ने र त्यसपछि एसपीपी लागू गरेर नेपालको सार्वभौमिकता समाप्त पार्ने डिजाईन साम्राज्यवादीहरूको छ । साम्राज्यवादी अतिक्रमणको सामना गर्न अब दलाल पूँजीवादी सत्ता, संसदीय व्यवस्था र संसदवादी नेताहरुले सक्नेछैनन् । उनीहरु पूर्णतः असफल र संकटग्रस्त छन् । समाजवादको बाधक पनि यही जनघाती एवं राष्ट्रघाती सत्ता र प्रवृत्ति हो । यसको अन्त्य नगर्दासम्म देशको राष्ट्रिय स्वाधिनताको रक्षा, जनताको सुख र समृद्धिको भविष्य सम्भव छैन । त्यसकारण यो चुनावलाई खारेज गर्नु सबै देशभक्त क्रान्तिकारी शक्तिको दायित्व बन्न पुगेको बताए । नेपालको इतिहास र भूगोल अत्यन्तै संवेदनशील र जोखिममा परेको छ उनले भने “एमसीसी र एसपीपी साम्राज्यवादी चीलका दुइटा पखेटा हुन् ।”
उनले एमसीसी पक्षधर दलालहरुलाई जनताले अब गाउँ-शहर सबैतिरबाट लखेट्नु पर्ने बताए । आफ्नो भनाईका क्रममा उहाँले दलालहरुले अमेरिकी साम्राज्यवादलाई देश बुझाउन लागेकोले आफ्नो पार्टीको नेतृत्वमा हुने संघर्षले नै देशको सार्वभौमिकताको रक्षा गर्ने र जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापना गरी छाड्ने बताए ।
उक्त बैठकमा अतिथि एवं पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य क. यादव सी ले दोलखा जिल्लाका जनता जहिल्यै पनि क्रान्तिको पक्षमा रहेको र जनमुक्ति एवं राष्ट्रिय मुक्तिको लागि बलिदान गर्दै आएको बताए । कम्युनिष्ट आन्दोलनमा चार दशक लामो योगदान वैज्ञानिक समाजवाद स्थापनाको निम्ति समर्पित भएकोले एकिकृत जनक्रान्तिले मात्र वैज्ञानिक समाजवाद सफल बनाई छाड्ने उद्घोष पनि गरे । क्रान्तिको कार्यभार पूरा गर्न र जनताको आशा र भरोसाको धरोहर बनेको नेकपा अब दोलखा जिल्लामा क्रान्तिका अभिभार पूरा गर्न तयार भइसकेको बताए । मालेमावादी उच्च आदर्श र गुणहरुले भरिएको कम्युनिष्ट पार्टी निर्माणमा दोलखा जिल्लाले योगदान पुर्याउने विश्वास व्यक्त गरे । अतिथि यादव सी ले मन्तव्यको क्रममा प्रतिबद्धता व्यक्त गर्दै भने, “देशको वैकल्पिक शक्तिका रुपमा उदाएको नेकपाले जनताका आकांक्षाहरुलाई र सपनालाई पूरा गरी छाड्ने छौं ।”
उक्त बैठकका पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला सेक्रेटरी अर्जुन सी को अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय प्रतिनिधि सदस्यद्वय राजकुमार लामिछाने र जयबहादुर थामीले रिपोर्टिङ मन्तव्य राखेका थिए । बैठकमा जिल्ला सचिवालय सदस्य र जिल्ला समितिका सदस्यको उपस्थिती थियो । जिल्ला सेक्रेटरी एबम् वैकल्पिक केन्द्रीय सदस्य अर्जुन सीले पार्टीको निर्देशन अनुसार नै केन्द्रीय योजना र चुनाव खारेजी कार्यक्रमलाई दोलखा जिल्लामा पूर्णरुपले सफल बनाइ छाड्ने र क्रान्तिलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै बैठकको समापन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु