राष्ट्रका लागि संगीत अभियात्रा सुरु हुँदै

काठमाडौं । जनवादी कलाकारहरुले राष्ट्रलाई सही बाटोमा हिडाउनका लागि ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ सुरु गर्ने भएका छन । उनीहरुले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत ४ गते कैलालीको धनगढीबाट ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ सुरु गर्ने घोषणा गरेका हुन् । उक्त पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार २०७९ चैत्र ४ गते दिउसो ३.३० बजे ओम पार्टी प्यालेस धनगढी कैलालीको सभा हलबाट अभियान सुरु गरिने छ । चैत्र ७ गते सिटी सभाहल वीरेन्द्रनगर सुर्खेतमा, चैत्र १० गते बहुउद्देश्यीय सभागृह घोराही दाङमा , चैत्र १३ गते रोज पार्टी प्यालेस कालिकानगर बुटवल रुपन्देहीमा, चैत्र १६ गते विपि मेमोरियल सभाहल भरतपुर चितवनमा, चैत्र १८ गते रोयल पार्टी प्यालेस हेटौंडा मकवानपुरम, चैत्र २० गते दिपक पार्टी प्यालेस बर्दिबास महोत्तरीमा, चैत्र २२ गते सैनिक भवन धरान सुनसरीमा, चैत्र २५ गते साई पार्टी प्यालेस सिटिसेन्टर बिर्तामोड झापामा र चैत्र २८ गते उद्योग वाणिज्य संघको सभाहल पोखरा कास्कीमा अभियान अन्तरगतको कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । अभियानको अन्तिम कार्यक्रम २०८० वैशाख ५ गते प्रज्ञा भवन कमलादी काठमाडौंमा गरिने विज्ञप्तिमा जनाइएको छ ।
अभियान अन्तर्गतका ती कार्यक्रमहरुमा वरिष्ठ जनगायकहरुदेखि प्रगतिशील धारका उदीयमान कलाकर्मीसम्मले प्रस्तुति दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । वरिस्ठ जनगायक जीवन शर्मा, मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ, वीर प्रसाद भन्सारी र माइला लामाको प्रत्यक स्थानका कार्यक्रमहरुमा नियमित प्रस्तुति रहने बताइएको छ । यस्तै कार्यक्रमहरुमा जनगायक तथा जनकलाकारहरु नारायण योगी, टेक बलम्पाकी, चिरन पुन, निलिमा पुन, हिसन समाल, नारायण शर्मा, कुस्मिता दर्लामी, कर्ण गौतम “विद्रोही”, बिहानी बिक, मोहित श्रेष्ठ, लक्ष्मी रिजाल “उदय”, केशर कालिकोटे, सुशील सिंह ठकुरी, प्रगति महरा, केशरी घर्ती “एलिना”, आरोह नेपाली, अनिष योन्जन, रमण थामी, काजी गाउँले र विकास लुङ्गेली लगायतको प्रस्तुति रहने छ । सम्बन्धित क्षेत्रको कार्यक्रममा त्यस भेगमा क्रियाशील जनवादी तथा प्रगतिशील कलाकारहरुको प्रस्तुतिलाई समेत समावेश गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा वरिष्ठ प्रगतिवादी गीतकार तथा संगीतकार मणि थापा, वरिष्ठ जनगायक वीर प्रसाद भन्सारी र उदय श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनमा झण्डै दुई दर्जन जनवादी कलाकारहरु र जनसंगीतप्रेमी श्रोताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा अभियानको नाम र सङ्गीत अभियात्राको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको थियो । जनवादी कलाकारहरुले पत्रकार सम्मेलनमा “रातो लालटीन”, “टुटफुट खण्डित कुरा नगर” र “आउ मिलाउ हाम्रा हातहरु” बोलका कालजयी गीतहरु सामुहिक रुपमा प्रस्तुत गरेका थिए । चिरन पुनको संचालनमा अघि बढेको सो पत्रकार सम्मेलनको अध्यक्षता वरिष्ठ जनगायक माधव प्रधानले गरेका थिए ।
