माओवादी आन्दोलन सम्बद्ध आठ पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ कम्युनिस्ट पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुने जनाइएको छ । पछिल्लो समय माओवादी आन्दोलन तथा जनयुद्ध सम्बन्धी घटनाको सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि माओवादी घटकहरु एकजुट हुन थालेका छन् । सर्वोच्चको उक्त पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै उनीहरुले प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र अन्य माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णयप्रति असहमति जाहेर गरेका छन् । र, उनीहरुले जस्तोसुकै परिस्थितिको सामना गर्ने र प्रतिवाद गर्ने अठोट समेत गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरुले अहिलेसम्म न्याय नपाएको भन्दै तत्कालीन माओवादी विद्रोहीका अध्यक्ष र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन्, जुन विचाराधीन छ ।