एकीकृत जनक्रान्ति र मनोवलको सवाल

२०७९ चैत्र १९ गते, आईतवार
असल सी



विषय प्रवेश :
एकीकृत जनक्रान्ति नेपाली मौलीकतासहितको नेपालको क्रान्तिलाई सम्पन्न गरी बैज्ञानीक समाजवादी ब्यवस्था निमार्ण गर्नको निमित्त प्रतिपादित बिचारधारात्मक कार्यदिशा हो । बिश्व कम्युनिष्ट आन्दोलनमा देखिएका सफलता र असफलता साथै नेपाली बिभिन्न जनक्रान्तिहरु र दश वर्षे महान जनयुद्धको सार अथवा बिकसित रुप नै एकीकृत जनक्रान्ति हो । बिश्व कम्युनिष्ट आन्दोलनका साथै नेपाली कम्युनिष्ट आन्दोलन पनि जडसुत्रिय संकृणवाद र सुधारवादी संसदवादको गोलचक्करमा घुमिरहेको अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई सफलता प्रदान गर्न तथा बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ बिचारसहितको सन्देश प्रवाह गर्न यो नयाँ कार्यदिशा अर्थात बिचार कोशेढुङ्गा सावित हुनेछ । बिचारधारात्मक
कार्यदिशा सहि वा गलत हुने कुराले सबै कुराको निर्धारण गर्दछ क माओले भने झै यो कार्यदिशाले गतिशिल माक्र्सवादको चरित्र आजको सामज बिकासको क्रम र बिश्वमा भएको बिज्ञान र प्रबिधिको बिकासका आयामहरुलाई पकडेको छ। त्यसकारण यो भन्न सकिन्छ कि, माओले भने झै यो सहि मात्र होइन कि बिज्ञानलाई पकडेको छ , साथै यो कार्यदिशा आजको बिज्ञान हो । समय सन्दर्भ अनुरुप माक्सवादको गतिशिल चरित्रलाई पकड्न नसक्दा अर्थात आफ्ना बैचारीक र दार्शनिक स्तरहरुलाई बिकास गर्न नसक्दा कयौ क्रान्तिकारी भनिनेहरु लोप हुँदै अस्तित्व रक्षाको खोजीमा भौतारीरहन परेको छ । माक्र्सवादलाई समाज बिकासको गतिसंग बुझ्ने र लागू गर्ने उद्देश्यले नै एकीकृत जनक्रान्तिको जन्म भएको हो । एकीकृत जनक्रान्तिलाई सफल पार्न धेरै संगठनात्मक र राजनितिक कुराहरुको बिकास गर्न भने जरुरी नै छ । त्यस मध्ये एक हो मनोवल । आज हामी एकीकृत जनक्रान्तिमा मनोवलको सवाल बिषयमा छलफल गर्दैछौ ।
मनोवलको प्रश्न :
बिचारले आफै क्रान्ति गर्ने कुरा भने होइन बिचारलाई प्रयोग गर्ने सोही अनुरुपको संगठनको आवश्यकता पर्ने गर्दछ । उच्च मनोवल भएको क्रान्ति र आन्दोलनप्रति प्रतिवद्ध संगठनात्मक शक्तिले मात्र बिचारलाई प्रमाणित गर्ने ल्याकत राख्दछ । अवसरको खोजी गर्ने, नेतृत्व वा पार्टीमा संकट आउदा ठाडो खुट्टा गरेर उभिन नसक्ने क्रान्तिको बिचार र बिश्वासवाट धर्मराएको शक्तिले क्रान्तिलाई अन्तिम बिजयसम्म पु-याउन हिम्मत नगर्न पनि सक्दछ । क्रान्ति पुरा गर्न हिम्मतिलो सैन्य मनोवलसहितको शक्ति नै अन्तिम बिजयको निम्ति तयार हुन्छ । उसो भए मनोवल के हो ? मनोवल मान्छेभित्र हुने एक अमुर्त, अदृश्य आत्मिक गुण हो । क्रान्तिकारी शक्तिले आफ्नो जिम्मेवारी पुरा गर्दा अत्यधिक बलिदानीभावका साथ आफ्नो जिम्मेवारी पुरा गर्न प्रेरित गर्ने आन्तरीक शक्तिलाई नै मनोवल भनिन्छ । उचो र निचो मनोवल भएको शक्ति वा ब्यक्ति सरल तरीकावाट परिचित हुन्छ अर्थात काम गर्ने तरीकाहरुवाट परिचित हुन्छ । मनोवल मानसिक र नैतिक वलवाट प्राप्त हुन्छ । मनोवल क्रान्तिकारी शक्तिको आत्मा हो । एकीकृत जनक्रान्ति क्रान्तिकारी पार्टी, जनता र क्रान्तिकारी शक्तिको उच्च मनोवलवाट मात्र जित्न सकिन्छ । यदि पार्टी र जनताको क्रान्तिकारी मनोवल उच्च छ भने हजारौ चुनौतीहरुको सामना गरेर पनि बिजयसम्म पुग्न सकिन्छ । जनयुद्ध
जनताको बलिदानीपूर्ण तागत मनोवलको सहारामा लाठि र बन्दुकको भरले राज्यलाई पराजयको तहसम्म पु-याएको हो । राज्यसंग आधुनिक हतियार हुँदा पनि लाठीवाट शुरु गरिएको जनयुद्ध असी प्रतिशत भुगोलमा सत्ता संचालन, हजारौ संख्याको जनमुक्ति सेनासहित बिजयको सन्निकट पुगेको थियो । त्यसकारण मनोवल क्रान्तिकारीहरुको निम्ति महत्वपूर्ण मिसाइल हो । जमर्न हिटलरको सेना शक्तिशाली हुँदा पनि शोभियत लालसेनाले पराजित ग-यो , कारण एउटै थियो कि शोभियत सेनासंग कम्युनिष्ट मनोवल थियो । कम्युनिष्ट क्रान्तिकारीहरुले जित्ने भनेको हतियारले मात्र सम्भव रहदैन , मात्र कम्युनिष्ट मनोवलले जित्नु पर्दछ । यदि सैन्य मनोवल छैन भने उसंग ठूला ठूला मेसीनगन भएर पनि पराजीत हुन्छ ।
यदि शक्तिशाली मनोवल छ भने उसंग केही नहुदा पनि सबै चिज प्राप्त हुन्छ र बिजय हुन्छ। हाम्रो मनोवल भनेको हाम्रो नेतृत्व र क्रान्तिकारी बिचार हो । हामीले नेतृत्व र बिचारलाई मनोवल उच्च बनाउन प्रेरित गर्ने मूल तत्वको रुपमा बुझ्न पर्दछ । सैन्य मनोवल भनेको क्रान्ति र परिवर्तनको आकांक्षालाई मुखरीत गर्ने, लक्षसम्म पुग्न आइ पर्ने वाधा र चुनौतिहरु सामना गर्न सक्ने आन्तरीक शक्तिशाली तागतको पैदा गर्नु हो । उच्च मनोवलको तागत हजारौ मिसाइल र क्षेप्यास्त्रहरुभन्दा शक्तिशाली हुन्छ । आधुनिक क्रान्तिमा मनोवलको महत्व झन बढेर गएको छ भन्ने कुरा कयौ बिज्ञहरुले समेत स्वीकार गरिसकेको कुरा हो ।
मनोवललाई प्रभाव पार्ने तत्वहरु :
बिज्ञान तथा भौतिक साधनको प्रभाव : आज अत्यधिक आधुनिक बिज्ञान र प्रविधिको बिकास भएको सन्दर्भमा पनि मान्छेसंग हुने मनोवलको तागत नै मुख्य कुरा हो, अर्थात क्रान्तिमा मान्छेको भूमिका नै पहिलो कुरा हो । बिज्ञानले केवल मान्छेलाई सहायतामात्र प्रदान गर्न सक्दछ । क्रान्तिमा क्रान्तिकारी शक्तिको उच्च मनोवल नै एकमात्र हतियार प्रमुख हतियार हो । अर्थात भौतिक हतियार केवल साधनमात्र हो साध्य होइन । साध्य केवल मान्छे नै हो । यतिमात्र हो कि बिज्ञानले मान्छेको मनोवललाई प्रभावित गर्न सक्दछ । राम्रो भौतिक साधनले उच्च बनाइदिन सक्दछ भने कमजोर साधनले मनोवलमा ह्रास ल्याइदिन सक्दछ । क्रान्तिकारी कम्युनिष्टहरु भौतिक साधनमा मात्र पूर्ण बिश्वस्त रहन्छन भन्ने कुरा भने हुदैन । भौतिक साधन केवल एक चरणमा निमार्ण हुन्छन र अर्को कुनै चरणमा अर्को उच्च भौतिक साधनको निमार्ण भैसकेको हुनेछ, पहिलो चरणको नयाँ भौतिक साधन अर्को चरणमा पुग्दा कमजोर साधनमा रुपान्तरीत हुन पुगेको हुने छ । बैचारीक तागतले लेस क्रान्तिकारी कम्युनिष्टहरुको आन्तरीक दक्ष हतियार भनेको बैचारीक हतियार नै हो। बैचारीक तागतभन्दा बलियो तागत मानव दुनियामा निमार्ण अर्थात बिश्वजगतमा निमार्ण भएको छैन । आज कयौ मान्छेहरु भौतिक तागतसंग डराउने गर्दछन किनकि ति मान्छेहरुसंग मनोवलको शक्ति कमजोर बनिसकेको छ र अगाडी बढने आँट नै छैन । जव अगाडी बढने आँट हुदैन, क्रान्ति केवल गफ गर्ने अखडामा मात्र परिणत हुने गर्दछ । आधुनिक भौतिक साधनको उचित ब्यवस्थापन र त्योवाट माथी उठेको बैचारीक दृष्टिकोणसहितको उच्च मनोवल आजको क्रान्तिको आवश्यकता हो ।
आपसी बिश्वास :
नेतृत्व कार्यकर्ता र जनताबीचको दूरी अर्थात सम्वन्धलाई प्रगाढ तुल्याउनुलाई नै आपसी बिश्वास भन्न खोजीएको हो । नेतृत्व नेतृत्व कार्यकर्ता कार्यकर्ता वा एकआपसबीचका सम्वन्धहरु आशंकापूर्ण बन्न पुगे, एकले अर्कालाई अबिश्वासको घेरामा राख्ने सम्वन्धहरु औपचारीकता भन्दा माथी उठन सकेनन भने त्यस्तो अबिश्वासपूर्ण ब्यवहारहरुले मनोवलहरुमा नकारात्मक प्रभाव पार्ने गर्दछन । एउटा आफ्नो साथी अर्थात सहयोद्धामाथी परेको पिडा मेरो पनि पिडा हो भन्ने उच्च क्रान्तिकारी आदर्शयुक्त ब्यवहार र सम्वन्धहरुले मनोवललाई माथी उठन प्रेरित गर्दछ । खुल्ला, स्पस्ट, भावना, प्रेम र स्नेहपूर्ण ब्यवहार क्रान्तिकारी ब्यवहार हो भने शंका , षडयन्त्र र छलछामपूर्ण ब्यवहार गैरक्रान्तिकारी तथा कम्युनिष्ट मान्यता बिपरितका ब्यवहारहरु हुन् । हाम्रो क्रान्ति मनोवलको सहायताले जित्न पर्ने क्रान्ति हो , त्यसकारण एकआपसका सम्वन्धहरु रहस्यमय षडयान्त्रात्मक होइन खुल्ला र सहयोगीपूर्ण, आत्मिय र भावनात्मक तथा बैचारीकस्तरमा उठेका सम्वन्धहरु बनाउन जरुरी हुन्छ । जसको कारणले समग्र शक्तिको उच्च मनोवलका साथ प्रतिक्रियावादी शक्तिलाई जित्ने सहास पैदा होस् । क्रान्तिकालमा एक अर्कालाई धोका दिनु भनेको अपराधको रुपमा बुझ्नु पर्दछ । आपसी विश्वासको जगमा उभिएको भावनात्मक र बैचारीक एकतासहितको क्रान्तिकारी योद्धाले प्रतिकुल परिस्थितिहरुको एकल सामना गर्न सक्दछ । किनकी उसंग आपसी सम्वन्धहरुले मनोवलको जग माथी उठाएको हुन्छ ।
आत्मबिश्वास :
आपसी बिश्वास जत्तिकै महत्वपूर्ण कुरा आत्मबिश्वास पनि हो । आत्मबिश्वास आफैले आफैप्रति गरिने बिश्वास भन्ने अर्थ राख्दछ । हाम्रो क्रान्तिकारी चरित्र अर्थात ब्यवहार देखावटीमात्र हो या वास्तविक हो भन्ने अर्थमा यसलाई बुझ्नु पर्दछ । एकदिन एउटा कुरा गर्दछ, अर्को दिन अर्कै कुरा गर्दछ भने बुझ्नै पर्दछ कि उसंग आत्मबिश्वासको कमि छ । आत्मबिश्वास पनि मनोवल जस्तै हो, यो देखिने बस्तु होइन मात्र यति हो उसका ब्यवहारहरुले पुस्टि गर्दै गइरहेको हुन्छ । क्रान्तिकारी नेता कार्यकर्तामा आत्मबिश्वास भरीपूर्ण हुन जरुरी हुन्छ । प्रशिक्षण तथा बैचारीक स्पष्टताले आत्मबिश्वास पैदा गर्दछ भने आत्मबिश्वासले मनोवललाई उच्च बनाइ दिन्छ । आत्मबिश्वास नभएको ब्यक्ति वा शक्तिसंग मनोवलको कल्पना गर्न सकिदैन । आत्मबिश्वास कमजोर भएको ब्यक्ति अवसरको खोजीमा रहन्छ । ‘ताक परे तिवारी नत्र गोतामे’ भने जस्तै उ सधै अवसरहरुको खोजीमा तल्लीन रहन्छ । प्रतिकुल परिस्थितिको सामना गर्ने सामर्थ्य उसले राख्न सम्भव हुदैन । त्यस्तो प्रबृती पद प्राप्तीमा वा अवसर लिनेमा अगाडि र संकटमा पछाडि सर्ने गर्दछ । ति ब्यक्तिहरुसंग मनोवलको अपेक्षा गर्न सकिदैन । संकट समाधान गर्ने क्षमताहरु नभएमा वा पार्टी क्रान्ति र नेतृत्वप्रति अबिश्वास खडा भएमा नै मान्छे अवसरवादी बन्ने हो । अबिश्वासको जगमा खडा भएका सम्वन्धहरुले क्रान्तिकारी मनोवलहरुमा ह्रास गर्दछ । आजको आवश्यकता क्रान्तिको जगमा खडा भएको आपसी बिश्वास र क्रान्तिकारी दृढ आत्मबिश्वासले भरीपूर्ण भएको उच्च सैन्य मनोवलसहितको शक्ति बन्न अनिवार्य हुन्छ ।
नेतृत्वप्रतिको बिश्वास :
नेतृत्व भनेको बिचार संगठन र निति योजनाहरुको केन्द्रिकरण हो । नेतृत्वप्रतिको बिश्वासले क्रान्तिकारी शक्तिमा मनोवल उच्च वनाउदछ र बिजयको झण्डा लहराउने सहास प्रदान गर्दछ । यदि नेतृत्वप्रतिको अबिश्वास वा आशंका हुन्छ वा छ भने बिचार संगठनहरु कमजोर पार्ने गर्दछ अर्थात बिजय यात्राको मनोवललाई कमजोर पार्ने गर्दछ । उच्च बौद्धिकस्तर भएको, कुशल, कार्यकर्ताको मनोभावना बुझ्ने, दक्ष र क्षमतावान नेतृत्व हुदा कार्यकर्ता तथा सहयोद्धाहरुको मनोवल उच्च रहने गर्दछ । यदि अदक्ष ,असक्षम र गैरजिम्मेवार तथा कमजोर नेतृत्व छ भने कार्यकर्ताको मनोवल कमजोर बन्ने गर्दछ । राष्ट्रिय नेतृत्व वा प्रमुख अदक्ष हुँदा राष्ट्रिय मनोवल कमजोर सावित हुन्छ । जस्तै नेपालमा सत्तासिन नेतृत्व बर्ग गैरजिम्मेवार अथार्त अक्षम हुदा नेपाली जनताको मनोवल नै कमजोर बनेको छ । यसलाई क्रान्तिमा रुपान्तरण गर्नु र कमजोर वनेको राष्ट्रिय मनोवल माथी उठाउनु क्रान्तिकारी शक्तिको अहम् दायित्व हो । यो कुरा पार्टीभित्र पनि त्यही स्तरमा लागू हुने गर्दछ। पार्टी नेतृत्व कस्तो छ भन्ने कुराले त्यो पार्टी कार्यकर्ता र सहयोद्धाहरुको मनोवल कस्तो छ भन्ने कुरा निर्धारण गर्दछ । कार्यकर्तालाई दास र आफुलाई मालिक जस्तो ठान्ने, पद प्रतिष्ठा र जिम्मेवारीको गलत फाइदा उठाउदै दुरुपयोग गर्ने खालको नेतृत्व छ भने त्यसले सहयोद्धा अर्थात कार्यकर्ताको मनोवल ह्रास पार्ने काम गरेकोछ भन्ने बुझ्नु पर्दछ । आफुलाई जनताको सेवकभन्दा पनि नेतामात्र सोच्ने कार्यकर्तालाई निर्देशनहरुमा अहमता घमण्ड प्रर्दशन गर्ने, कार्यकर्तालाई धम्काउने ,थर्काउने, म नेता हो , मैले भनेको सबै कुरा कार्यकर्ताले पालना गर्नु पर्दछ भन्ने जस्ता तमाम कम्युनिष्ट सस्कार सस्कृति बिरोधी ब्यवहार प्रदर्शनले पनि आफ्नै शक्तिभित्रको मनोवलमा ह्रास गर्दै लिएको हुन्छ । जनता नेता र कार्यकर्तासंग आत्मैदेखि भिजेको, कार्यकर्ता र सहयोद्धालाई समान ब्यवहार गर्न सक्ने अपराध वा कमजोरी गरेमा दण्डित गर्न सक्ने राम्रो काम गर्दा पुरस्किृत गर्न सक्नुले मनोवल बढाउनमा फाइदा पुग्दछ । नेतृत्व सहि हुँदा नेतृत्व स्वयं तथा जनता कार्यकर्ताको पनि मनोवलको मात्रा माथी उठेको हुन्छ । क्रान्तिकारी पार्टीले कतै अबिश्वासका खाडलहरु पर्न थाले र क्रान्तिकारी योद्धाहरुको मनोवल कमजोर बन्न खोज्यो भने उपयुक्त समयमा नै पहलकदमी लिनु उपयुक्त हुन्छ ।
पारिवारीक अवस्था :
एक कुशल क्रान्तिकारी लगातार आफ्नो कार्यक्षेत्रमा प्रतिवद्धताका साथ आफ्नो कर्तब्य पुरा गरिरहन्छ । उत्साहका साथ दुस्मनहरुसंग भिडिरहन्छ । उसले परिवारको वारेमा सोच्नेसम्म फुर्सद पाउदैन भने त्यो बेला स्थानिय पार्टी वा शक्तिले उसको पारिवारीक अवस्थाको वारेमा सोचिदिनु पर्दछ । यदि त्यसवारे पार्टीले सोच्न सकेको छैन भने त्यसको प्रभाव क्रान्तिकारी शक्ति, पंक्ति र ब्यक्तिमा पर्ने निश्चित नै हुन्छ । पारीवारीक अवस्था कस्तो छ भन्ने कुराले पनि मनोवललाई धेरै प्रभाव पार्ने गर्दछ । परिवारले पनि मेरो परिवारको सदस्य क्रान्तिको मोर्चामा छ ,मेरो नकारात्मक सन्देशले क्रान्तिमा असर पर्न सक्दछ भन्ने बुझ्न जरुरी हुन्छ । क्रान्ति संकट र महाबिपत्तीहरुको शृंखलावाट गुज्रने भएकोले स्वभाविक संकटहरु आउनुलाई अस्वाभाविक ठानिदैन तर अन्तिमसम्म जव संकटहरु आइरहन्छन र हल हुदैनन् , त्यसले एउटा क्रान्तिकारी कार्यकर्तामा मनोवल र मनोबैज्ञानिक प्रभाव पार्ने गर्दछ । क्रान्तिको मैदानमा रहेको योद्धामा सकभर पारिवारीक तनाव नरहोस भन्नेमा नेतृत्व पक्ति अर्थात संवन्धित निकायहरुले ध्यान दिनु राम्रो हुन्छ । जव पूर्ण बिश्वासका साथ क्रान्तिमा योद्धाले सबैको साथ पाउछ ,उसको मनोवल हजारौ हजार गुणामाथी रहन्छ र प्रतिकुल अवस्थाहरुलाई मनोवलको सहाराले चिर्दै बिजयसम्म पु-याउने गर्दछ ।
अन्त्यमा :
एक उच्च मनोवल भएको कुशल योद्धा आत्मैदेखि आफ्नो आन्तरिक ईच्छाहरुलाई क्रान्तिमा प्रयोग गर्दछ र सबै कठिनाइहरुलाई पार लगाउन सक्दछ । हाम्रो मनोवल भनेको हाम्रो मुल नेतृत्व हो र हाम्रो क्रान्तिकारी बिचार हो । नेपाली श्रमिक जनताको आशा भरोसा र मुक्तिदाताको रुपमा उभिएको हाम्रो क्रान्तिकारी पार्टी नै हाम्रो समग्र मनोवलको मूल तत्व हो । आजको नेपालमा परिवर्तन र क्रान्तिको अभिभारा हाम्रो पार्टी र नेतृत्वको काँधमा आएको छ, त्यसलाई पुरा गर्न उच्च अनुशासनसहितको उच्च मनोवल भएका योद्धाहरुको ताँतीले मात्र सक्दछ । नेपालको इतिहासमा त्यो जिम्मेवारी हाम्रो हो । सैन्य मनोवलसहित एकीकृत जनक्रान्तिको बिचारको जगमा दह्रोसंग उभिएको अनुशासित क्रान्तिकारी योद्धाले मात्र अन्तिमसम्म लडने आँट गर्दछ र बिजय प्राप्त गर्दछ ।
आज दलाल पूँजिवादी सत्ता बदनाम र धराशयी बन्दै गइरहेको छ । संसदवादी नेताहरुप्रतिको विश्वास जनतामा उडिसकेको छ। बैदेशिक शक्ति केन्द्रको आड भरोसामा नेपालको सत्ता टिकिरहेको छ । जनता आर्थीक ,राजनितिक, सामाजिक रुपमा कमजोर बन्दै गइरहेका छन, दिन प्रतिदिन युवा शक्ति बिदेश पलायन भैरहेको छ । यो बिषम अवस्थामा क्रान्तिकारी शक्ति अझ बढि जिम्मेवार बन्न पर्ने र क्रान्तिलाई माथी उठाउन तथा जनउत्तरदायी रहने ब्यवस्था बैज्ञानिक समाजवाद निमार्णको निम्ति लडन एकीकृत जनक्रान्तिको बिचार बोकेको उच्च सैन्य मनोवलसहितको क्रान्तिकारी शक्तिको आवश्यकता छ । त्यो तागत हामीसंग छ र उच्च मनोवलसहित लडनु र जित्नुको बिकल्प छैन ।

प्रतिक्रियाहरु

[anycomment]