जातिको बिषय मानवसिर्जित समस्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले जातिको बिषय मानवसिर्जित समस्या भएको ठोकुवा गर्दै समाजमा विद्यमान जातव्यवस्थाको समाधानका लागि सी जातिको अवधारणा ल्याएको बताएका छन। सो पार्टीनिकट श्रमिक समुदाय मोर्चाद्वारा मंगलबार प्रज्ञा भवन कमलादीमा आयोजित ‘सी’ जातिको अवधारणा विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव बिप्लव सी ले सो कुरा बताएका हुन् । उनले नेपाली समाजमा विद्यमान जातव्यवस्थाको समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रस्तुत सी जातिको अवधारणा भनेको क्रान्ति , निकास ,नयाँ शुरुआत र एउटा उन्नत सभ्यता निर्माणको अभियान भएको बताउदै भने –’ भारतबर्षको पछिल्ला ४ हजार बर्षको इतिहास जातिय सङ्घर्सको इतिहास हो, यहाँ बर्गसंघर्षको इतिहासको कुरा गरेर मात्रै इतिहास अपुर्ण रहन्छ , भारतवर्षमा विभिन्न जातिबिच संघर्षहरु हुँदै आएका छन , त्यसैले यसलाई निकास र हल दिन जरुरी छ ।’
उनले अगाडी भने – “यो बिषय हाम्रो मात्रै सवाल होइन,सबै सचेत ब्यक्ति ,राज्य र अन्ततः समाजको बिषय हो ,हामीले शुरुवात मात्रै गरेका हौं।
जातिको बिषय मानवसिर्जित समस्या हो ,हिन्दु समाजमा चार वर्ण छत्तीस जातको कुरा सत्ताले जन्माएको कुरा थियो,जसरी समाजका सारा चिजहरु जन्मिसकेपछि मर्ने कुरा अनिवार्य छन त्यसरी नै यो जातब्यवस्था पनि समाप्त हुने कुरा निश्चित छ।”
महासचिव बिप्लव सी ले अगाडी भने -‘कुनैपनि ज्ञान आकस्मिक रूपमा जन्मिदैन त्यसको आधार हाम्रो वरिपरिको बस्तु र समाज नै हो।त्यसैले नेपालको समाज र स्थितले हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गर्यो,क्रान्ति र आन्दोलनका क्रममा भोगेका सफलता र असफलता, क्रान्ति र प्रतिक्रान्तिका अनुभवले हामीलाई झक्झक्यायो, त्यसैले हामीलाई समस्या समाधान गर्न एउटा नयाँ सभ्यता निर्माणको रुपमा सी जातिको बिषय ल्याएका हौ ।’
महासचिव बिप्लव सी ले कम्युनिस्टहरुले मानिसको अन्तरास्ट्रिय जाति हुनेछ भनेर गित त गाएको तर बनाउन नसकेको उल्लेख गर्दै भने – ‘त्यसैले हामीले सचेततापुर्वक सी जातिको कुरा गरेका हौं ,कुनैपनि सभ्यता निर्माणमा ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ,सी सभ्यताको निर्माणमा जन्म मृत्युु र बिबाह बारे केहि मान्यता बनाएका छौ तर यस अनुसार आर्थिक दृस्टीकोण बनाउन जरुरी छ ।’
यसैगरी, उक्त बिचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव बिप्लव सी ले माओवादीहरु निराश हुन नपर्ने, यदी माओवादीहरु निराश भए भने आजसम्मकै उपलब्धि ध्वस्त हुने बताए । उनले अहिले चारैतिर माओवादीहरु निराश जस्तो देखिने, हिनाताबोध गर्ने र व्यर्थमा १० वर्ष खेर फालिएछ भनेजस्तो दृश्य देखिएको भन्दै माओवादीहरु निराश हुन नपर्ने र निराश भए हिनताबोध गरे आजसम्मकै सम्पूर्ण उपलब्धि ध्वस्त हुने बताए।
महासचिव बिप्लव सी ले भने -‘ हामीलाई निराश बनाउन ठुलो हमला हुँदै छ, हाम्रा बिरुद्धमा वासिंगटन दिल्ली, लन्डन जुरिज, ब्रुसेल्ज सबै हाम्रा बिरुद्धमा लागेका छन्।’
उनले दश वर्षीय जनयुद्दको इतिहासलाई कसैले चलाउन खोज्छ गिजोल्न खोज्छ र आजसम्मको ऐतिहासिक उपलब्धीलाई नजर अन्दाज गर्न खोज्छ भने अर्को दश वर्ष तिनीहरुलाई आगो झोस्नु पर्छ।

यसैगरी, महासचिव विप्लव सी ले प्रदेश १ को जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामकरण गर्नुपर्ने बताए । उनले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैं समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने बताउदै प्रश्न गरे – ‘किरात प्रदेश राखे के फरक पर्छ ? अझ लिम्बुहरुको पनि (बसोबास) छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बु, राई सबैलाई केन्द्रित गरेर एउटा साझा नाम । त्यहाँका जनताहरुलाई चित्त बुझ्दो नाम राखे के फरक पर्छ ?
महासचिव विप्लव सी ले जातीय पहिचान नहुने गरी नाम राख्नु शासकहरुको वर्गीय चिन्तन भएको बताउदै भने – ‘त्यो त शासक वर्गीय चिन्तन हो । अहिलेसम्म नेपालका शासकहरुले सोच्ने चिन्तन हो त्यो । भूगोल विशेषको कारणबाट हेर्ने वा जाति विशेषको कारणबाट हेर्ने आफैंले ब्याख्या गर्ने दृष्टिकोण गलत हो । त्यहाँ जनता सन्तुष्ट हुुनुपर्दछ ।’
उक्त कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सन्तोष सी, पुर्व राजदुत डा निर्मल बिश्वकर्मा, डा खगेन्द्र प्रसाई, लेखक तथा बिश्लेषकहरु तुलानारायण साह, कमला हेम्चुरी, सहप्राध्यापक अब्दुल खान, सह प्राध्यापक डा श्यामु थापा मगरले अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए । बिचार गोष्टीमा बिक्रम सीले स्वागत मन्तव्य र निशान सीले कार्यक्रमको सञ्चालन गरेका थिए भने श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले अध्यक्षता गर्दैअवधारणा पत्र पेश गरेका थिए।