समाजलाई बदल्नु पार्टीको मुख्य दायित्व

२०८० बैशाख ३ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादले सत्ता कब्जा गरेको ठोकुवा गर्दै सामन्त र दलालहरुले थिचोमिचोमा राखेको समाजलाई बदल्नु पार्टीको मुख्य दायित्व भएको बताएका छन् । जनयुद्धमा सहादत प्राप्त गरेका सतराज बुढामगर (समई)को परिवारको लागि कपिलवस्तु शिवराज नगरपालिका वडा न ९ रमादहमा बन्न लागेको ४ कोठे घरको शुक्रबार शिलान्यास गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले सामन्तवाद अन्त्य भए पनि दलाल पुँजीवादले सत्ता कब्जा गरेको उल्लेख गर्दै भने– ‘हामीले सामन्तवादको एउटा जुवा त फालेका छौ । तर, सँगसँगै अर्को दलाल पुँजीपति वर्गको शोषण र दमन फाल्न सकेका छैनौँ र त्यसका लागि आज पनि संघर्ष गर्दैछौँ ।’
महासचिव विप्लव सीले नेपालमा एउटा उन्नत समाज र समृद्ध देश निर्माण गर्ने पार्टीको सपना भएको उल्लेख गर्दै त्यसको लागि संघर्ष गर्दै आएको बताए । उनले नेपालमा श्रमिक जनताको राज्य सत्ता वैज्ञानिक समाजवाद स्थापित गरेरै छाड्ने प्रतिबद्धता समेत दोहो¥याए ।
महासचिव विप्लव सीले पार्टीले सहिदहरुलाई सम्मान गर्ने मात्र नभई सहिदका परिवारहरुलाई संरक्षण गर्ने र उनीहरुलाई पुनः क्रान्तिमा सँगसँगै अगाडि बढाउने पार्टीको नीति रहेको प्रट्याउँदै पार्टीको यही नीतिबमोजिम सहिद समईको परिवारको लागि घर निर्माण गर्न लागिएको बताए । उनले पार्टीले क्रान्तिसँगै निर्माणका कामहरू अगाडि बढाइरहेको र नयाँ बर्षलाई थप रचनात्मक र निर्माणात्मक बनाउन नेता, कार्यकर्तालगायत आमजनसमुदायलाई समेत आग्रह गरे ।
उक्त शिलान्यास कार्यक्रममा नेकपा नेताहरू ध्रुव सी, सञ्जीव सी, अडिग सी, हेमन्त सी, आरोह सीको सहभागिता रहेको थियो भने नेकपा कपिलवस्तुका सल्लाहकार हिमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुष्मा सीले गरेकी थिइन् ।
सहिद समइको परिवारजनको घर निर्माणका लागि मालबहादुर घर्ती (हिमाल)को संयोजकत्वमा जितबहादुर बुढा, सुबिस्ता रोका, सुस्मा सी, प्रेम रोका, कमरा घर्तीसहितको निर्माण समिति गठन गरिएको छ । घरनिर्माणको लागि करिब १६ लाख लागत लाग्ने र त्यसको सम्पूर्ण ब्ययभार नेपाल कम्युनिस्ट पार्टीले बहन गर्ने बताइएको छ ।
स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टीले पार्टी निर्माण, क्रान्ति र आन्दोलन सँगसँगै नमुना निर्माण कार्यहरु पनि गर्दै आएको छ भने यस अघि नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रिय कार्यालय, स्वास्थ भवन, संग्रहालय, खेलकुद संरचना, थवाङको सभाहललगायत देशैभर भौतिक संरचनाहरु निर्माण गरिसकेको छ । – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु

[anycomment]