नेकपाले ‘नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस’ भब्यरुपमा मनाउने (भिडियोसहित)

२०८० बैशाख ७ गते, बिहीबार


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले यही बैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको ७५ औ स्थापना दिवस भब्यरुपमा मनाउने बताएको छ । सो पार्टीद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले सो कुराको जानकारी गराएका हुन्।
उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले देश र जनतामाथि ठूलो संकट आइ परेको ठोकुवा गर्दै यसको समाधानको निम्ति नेकपाले पहलकदमी थालेको बताए । उनले यतिबेला देश बैदेशिक हस्तक्षेपलगायत राजनीतिक , आर्थिक ,सास्कृतिक , सामाजिक र बिकासका दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको ठोकुवा गरे। उनले देश संकटमा पर्दा राजनीतिक दल र नेताले बिचार बिमर्श गर्नु पर्ने औल्याउदै यसकै निम्ति नेकपाले पहल सुरु गरेको बताए ।

यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले नेकपाले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ९ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्ने बताए । उनले उक्त आमसभामा देशका १० बढी कम्युनिस्ट पार्टीहरुलाई बोलाइएको जानकारी दिए । उनले भने- ‘हामीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुतीलाई बोलाएका छौं । उहाँहरुले आउछौं भन्नुभएको छ ।’, पत्रकार सम्मेलनलाई संबोधन गर्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, क्रान्तिकारी माओवादीका महासचिव किरण, एमाले अध्यक्ष केपी शर्मा ओली, मसालका अध्यक्ष मोहन विक्रम सिंह, नेमकिपाका अध्यक्ष रोहितलाई पनि बोलाएका छौं । उहाँहरुको पनि सहभागिता हुनेछ ।’
प्रवक्ता प्रकाण्ड सी ले बैशाख ९ गते अर्थात अप्रिल २२ ऐतिहासिक दिन भएको भन्दै यो दिनलाई सबै कम्युनिस्ट पार्टीहरुले उत्सवका रुपमा मनाउनु पर्ने बताउदै भने – ‘सबै कम्युनिस्ट पार्टीको जन्मदिनको हो अप्रिल २२ अर्थात बैशाख ९ गते । यसलाई सबैले उत्सवका रुपमा मनाउन पर्छ । त्यसको पहलकदमी नेकपाले लिएको छ ।’, उनले भने, ‘लेनिनको जन्मदिनका अवसरमा पुस्पलाल श्रेष्ठको पहलकदमीमा र नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । त्यो दिन सबै कम्युनिस्ट पार्टीको जन्मदिन हो ।’
प्रवक्ता प्रकाण्ड सी ले देश राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको भन्दै त्यसको अन्त्यका लागि पार्टीले पहलकदमी लिएको बताउदै भने – ‘देशमा आर्थिक संकट चुलिएको छ । यस्तो बेला वामपन्थी र देशलाई माया गर्ने पार्टीहरु र नेताहरुविच गम्भीर विमर्श गर्नु र निकासको पहलकदमी लिनुपर्ने युगिन दायित्व हाम्रो कांधमा आएको छ ।’, पत्रकार सम्मेलनलाई संबोधन गर्दै उनले भने, ‘हाम्रो पार्टीले त्यही दायित्व पूरा गर्ने उदेश्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसलाई सार्थक बनाउन चाहन्छ । त्यसकारण यो अभियानमा सहभागी भैदिनुहुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं ।’
उक्त पत्रकार सम्मेलनमा नेपालमा कम्युनिस्ट पार्टी प्रवक्ता प्रकाण्ड सी को हस्ताक्षरमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ‘ हाम्रो पार्टीले ७५ औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती (२२ अप्रिल) तदनुसार २०८० वैशाख ९ गते उत्सवसहित मनाउने निर्णय गरेको छ । यो उत्सवलाई वैशाख २ देखी ९ गते सम्म मनाउने पुर्व निर्णयअनुसार देशभरी कार्यक्रमहरु सम्पन्न भइरहेका छन । साताव्यापी सो कार्यक्रमको अन्तिम तथा उत्कर्ष वैशाख ९ गतेको सम्पुर्ण तयारी पुरा भएको छ । सो दिन मध्यान्न १२ बजे काठमाण्डौँ, सुन्धारावाट जुलुश सुरुभै खुल्लामन्चमा २ बजे जनसभा हुनेछ । सो सभालाई देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शिर्षस्थ नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
देश आज राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको छ । आर्थिक संकट चुलिएको छ । यस्तो वेला वामपन्थी र देशलाई माया गर्ने पार्टीहरु र नेताहरुविच गम्भीर विमर्श गर्नु र निकासको पहलकदमी लिनुपर्ने युगिन दायित्व हाम्रो काँधमा आएको छ । हाम्रो पार्टीले त्यही दायित्व पूरा गर्ने उदेश्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसलाई सार्थक बनाउन चाहन्छ । त्यसकारण यो अभियानमा सहभागी भइदिनु हुन सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु