दलाल पुँजीवादलाई परास्त पार्दै वैज्ञानिक समाजवादको झण्डा फहराउने छौं

२०८० जेष्ठ २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दलाल पुँजीवादलाई परास्त पार्दै वैज्ञानिक समाजवादको झण्डा फहराउने ठोकुवा गरेका छन । नेकपा उपत्यका ब्युरोले सोमबार आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सी ले उपत्यका एकीकृत जनक्रान्तिको केन्द्र भएको ठोकुवा गर्दै काठमाडौं उपत्यकाबाट एकीकृत जनक्रान्तिको विजयी यात्र सुरु हुने बताउदै भने – ‘काठमाडौं क्रान्तिको केन्द्र हो । अर्को अर्थमा एकीकृत जनक्रान्तिको केन्द्र हो । हामी काठमाडौं बसेर क्रान्ति पुरा गर्नेछौं । काठमाडौंबाट दलाल पुँजीवादलाई परास्थ पार्दै वैज्ञानिक समाजवादीको झण्डा फहराउने छौं ।’
महासचिव विप्लव सी ले पार्टीले सामाजवादी क्रान्ति पुरा गर्नका लागि विचार मिल्नेसँग मोर्चा बनाएर जाने निर्णय गरेको बताउदै भने- ‘हाम्रा पार्टीले अमेरिकी साम्राज्यवाद नेपालमा केही व्यक्तिलाई नयाँ जेलेस्कीका रुपमा परिचालित गर्दै प्रबेश गरेको निश्कर्ष निकालेको छ ।’, उनले भने, ‘अबको हाम्रो लडाईं नेपालको संसदीय व्यवस्थाका विरुद्धमा मात्र केन्द्रीत रहेन । त्यसका लागि नेपालका समाजवादी पार्टीहरुसँगको सामाजवादी मोर्चा बनाएर साम्राज्यवादका विरुद्धमा लड्न पर्छ बेला भइसकेको छ ।’
महासचिव विप्लव सी ले दलाल पुँजीवाद (अमेरिकी साम्राज्यवाद)ले सामान्य तरिकाले नसोचेको भन्दै त्यसका विरुद्धमा समाजवादी मोर्चा निर्माण गर्दै जनतामाझ जानुपर्ने बताउदै भने- ‘हामीले जनतालाई भन्नुपर्छ, बुझाउन पर्छ । नेपालको विकल्प संसददेखि संसदसम्म होइन । यसलाई परास्त गर्नका लागि सामाजवाद चाहने शक्तिहरुसँग मोर्चाबन्दी गर्नु अपरिहार्य भयो । हामी सामान्य तरिकाले सोचिरहेका छौं । तर अमेरिका नेपालमा झोलाभरी पैसा, ट्रकभरी हतियार, दिमाख भरी षड्यन्त्र बोकेर आएको छ । उ नेपालमा सबै अस्त्र प्रयोग गरेर आफ्नो शैन्य अखडा बनाउन खोज्दै छ । हामी सतर्क हुनु जरुरी छ । जनतालाई समयमै सतर्क बनाउनु पर्ने भएको छ ।’

महासचिव विप्लव सी ले चितवन, बारा र तनहुँमा भएको उपनिर्वाचनको बेलामा भएको गतिविधिहरुले अमेरिका प्रत्यक्ष रुपमा अमेरिका नेपाल प्रबेश गरेको प्रमाणित गरेको बताउदै भने- ‘उपनिर्वाचनको बेलामा चितवन, तनहुँ, पूर्वतिर भएका गतिविधिहरुले नेपालमा नयाँ रुप लिएको छ । यसले नेपालमा अर्थराजनीतिकमा ठूलो परिवर्तन ल्याएको छ । यसले नेपालका कम्युनिस्ट समाजवादीहरुमाथि खतरा छ । उनीहरुले न्यायालयमा आफ्नो मान्छे राखेको छ, सेनामा आफ्नो मान्छे राखेको छ, अहिले आएर राजनीतिमा पनि आफ्ना मान्छे ल्याएर आयो । अब नेपालमा अमेरिकी साम्रज्यवादी सत्ता आउँदैछ । नेपाल नयाँ ठाउँमा जाँदैछ । त्यही भएर नेपालमा समाजवादी मोर्चा आवश्यक परेको हो ।’
महासचिव विप्लव सी ले अमेरिकाले नेपालमा शैन्य अखडा बनाएर चीनलाई प्रहार गर्न खोजेको भन्दै यस्तो कदापि हुन नदिने बताउदै भने- ‘नेपालमा युक्रेन जस्तो सजिलो छ भनेर अमेरिकाले तानावाना बुनिरहेको छ । यो हामी कदापि सफल हुन दिदैनौं । हामीले अहिलेदेखि नै जनतालाई सू–सुचित गर्नुपर्छ । तपाईंहरु काठमाडौंका गल्लिगल्लीमा गएर जनतालाई बझाउनुहोस् । नेपालमा साम्रज्यवादको अन्तिम लक्ष्य चुनावबाट नयाँ जेलेस्की तयार पार्ने नै छ । यदी त्यसो भएन भने राजनीतिक नेतृत्वमाथि विभिन्न बहाना बनाएर प्रहार गर्ने, देशलाई गृह युद्धमा धकेल्ने र राष्ट्रपति साशन लगाउने षड्यन्त्र बुनिएको छ ।’

महासचिव विप्लव सी ले युक्रेनमाथि रुसले गर्ने आक्रमणले नेपालको भूराजनीतिलाई पनि प्रभावित पार्ने भन्दै तेश्रो विश्व युद्धको समेत आशंका गर्दै भने- ‘नेटो युक्रेनबाट फर्कियो भने नेपालमा पनि एक किसिमको हस्तक्षप घट्न सक्छ । यदी युक्रेनबाट नेटो नफर्किने र रुसले युक्रेनमाथि निर्णायक हमला गर्ने हो भने तेश्रो विश्वग युद्ध हुन्छ । यो पहिला जस्तो हुनेवाला छैन । तेश्रो विश्वयुद्ध खतरनाक हुनेवाला छ ।’, उनले भने, ‘जेलेस्की नेटोबाट हट्ने निर्णय गर्न सकेनन् भने युक्रेन धोस्त हुन्छ । उसँग युद्ध थेग्ने तागत छैन् ।’

अमेरिकाले चीनका विरुद्धमा ताइवानमा पनि निऊँ खोजिरहेको भन्दै पछल्लो समय चिनियाँ नेतृत्व पनि आक्रामक देखिएको बताए । दलाल पुँजीवाद भनेको युद्धकै अर्को रुप भएको भन्दै यसले जताततै युद्धमात्रै चाहेको विप्लवको जिकिर थियो । ‘यसको प्रभावले नेपाललाई चुनौति थप्नेछ । हामीले जनतालाई सचेत ढंगबाट सू–सुचित गरेनौं भने देश दुर्घटनामा पर्ने खतरा छ ।’, उनले भने, ‘देश धोस्त हुने खतरा छ । टुक्रा टुक्रा हुने खतरा छ । अहिले अमेरिका गुलियो ललीपप लिएर आएको छ । सिधै हतियार लिएको आएको छैन । यसबारेमा जतालाई सचेत गराउनुपर्छ ।’

महासचिव विप्लव सी ले सुशिल सी र लक्ष्मण सीको पार्टीसँग एकता भएपछि जनतामा एकप्रकारको उत्साह थपेको भन्दै हरेक महिना एकता गर्दै जाने नीति बनाएको बताउदै भने- ‘हामीले पार्टी एकता गरेपछि धेरैलाई छटपटी भएको छ । विरोधीहरुले उस्टापुल्टा कुराहरु लगाएर भ्रम छरिरहेका छन् ।’, उनले भने, ‘त्यस्ता भ्रमहरु पार्टी हरेक महिना पार्टी एकता गरेर दिनुपर्छ । समाजवादी मोर्चा बनाएर अमेरिकी साम्रज्यवादका विरुद्धमा सम्पूर्ण जनता लड्नुपर्छ ।’


त्यस्तै, प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले अमेरिकाको डिजाइनमा नेपालमा नयाँ पार्टी खुल्न लागेको खुलासा गरेका छन् । अनिलले कांग्रेसबाट गगन थापा, रास्वपाबाट रवि लामिछाने र जनमत पार्टीका सिके राउतलाई मिलाएर अमेरिकाले नयाँ पार्टी बनाउन खोजेको बताए । उनले राजनीतिक रुपमा अरुको विश्वास गर्न नसकेपछि अमेरिकाले नयाँ पार्टीका लागि रणनीतिक तयारी गरेको बताउदै भने- ‘अमेरिकाले नेपाली कांग्रेसका सभापतिबाट ठूलो आशा गरेको थियो । उसको आशा एमसीसी ५ बर्ष रोकिएपछि निराशामा परिणत भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले गर्न नसक्ने अवस्था देखेपछि उसले गगनलाई अगाडि सारेको छ ।’, उनले भने, ‘कांग्रेसभित्र बसेर गगनहरुले हस्तक्षप गर्न नसकेपछि नयाँ मोर्चा खोल्ने अमेरिकी तयारी छ ।’
नेता अनिल सीले अमेरिकाले नेपालको अदालत, नेपाली सेना र कर्मचारीहरुलाई प्रभावमा पारिसकेको ठोकुवा गर्दै भने – ‘अब अमेरिकाले राजनीतिमा प्रभाव जमाउन खोज्दैछ । पहिला पहिला भारत भएर आउने अमेरिका यो पटक सिधै एमसीसीमार्फत आएको हामीले देखेका छौं । अब उसले संसदमा भएका पार्टीलाई संसदमा नङ्ग्याउन, सडकमा भएकालाई दमन गर्ने, कांग्रेस फुटाउने र राजनीति पनि आफ्नो हातमा लिने षड्यन्त्र छ । ’

नेता अनिल सीले अमेरिकाको यही षड्यन्त्र अरु पार्टीका नेताहरुले नबुझेको भन्दै बुझिसक्दा उनीहरुलाई पछुत्ताउनु बाहेक अर्को विकल्प नहुने बताउदै भने- ‘अमेरिका नेपाल आइसक्यो भनेर हामीले समाजवादी पार्टीहरुलाई भनेका छौं । उहाँहरुले होर ! भनेर बसिरहनु भएको छ । हामीले त्यही भएर समाजवादी मोर्चाको विषयमा छलफल गरेका छौं । यसमा धेरै साथीहरु तयार हुनुहुन्छ । अमेरिकी साम्रज्यवादका विरुद्धमा लड्न समाजवादी मोर्चा अनिर्वाय छ ।’
यसैगरी , सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले रवि लामिछाने अमेरिकी साम्राज्यवादको असली एजेण्ट भएको आरोप लगाए । उनले जनताले राम्रो मत दिएर भरोशा गरेको प्रति लक्षित गर्दै भने – ‘जेलेस्की जस्तै हो रवि । रवि साम्राज्यवादको एजेण्ट हो । रवि नेपालको समस्या होइन, यो समाधानन पनि होइन । रवि दलाल पुँजीवादको एजेण्ट हो ।’
नेता सुशिलले रविका वरिपरी राजवादी र धर्मका प्रचार रहेको भन्दै उनी प्रतिगमनकारीको मतियार भएको ठोकुवा गर्दै भने- ‘हामीले रविको वरिपरी पूर्वराजाका व्यक्तिहरु देखिरहेका छौं । केही धर्म प्रचारकहरु पन छन् ।’, उनले भने, ‘यी नेपालका प्रतिगमनकारी शक्ति हुन् । उनी नेपालमा गोल गर्न आएका हैनन् । गोल खान आएका हुन् । ।त्यहीभरु उनीप्रति हामीले धेरै विश्वास गर्नु हुँदैन ।’
नेता सुशिलले अमेरिको विभिन्न बहानामा मोर्चाबन्दी गरिरहेको भन्दै कम्युनिस्टहरुले पनि मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता महशुस भएको बताउदै भने- ‘देशमा अमेरिकाले एउटा मोर्चा बनाएको छ । त्यो निकै शक्तिशाली छ ।’, उनले भने, ‘यो मोर्चा देशका लागि खतरा छ । त्यही भएर त्यसका विरुद्धमा हामीले समाजवादी मोर्चा बनाउने निर्णय लिएका छौं ।’
नेकपाका पोलिटव्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य विद्रोही सीले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा पोलिटव्युरो सदस्य माइला सी, मिलन सी, आस्था सी, शितल सी, बन्दु सी र केन्द्रीय सदस्यहरु विश्वक्रान्ति सी, रामलाल सी, विहानी सी, मिना सी, राजकुमारी सी, भृकुटी, अडिक सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जनसांस्कृति महासंघका कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुति राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]