नेपाल अमेरिकि कब्जामा जाने खतरा बढ्यो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाल अमेरिकि कब्जामा जाने खतरा बढेकाे भन्दै अब त्यसलाई नेकपाले मात्र थेग्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टीनिकट जवस मोर्चाद्वारा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । महासचिव विप्लव सीले नेपाली जनताकाे अबको अन्तर्विरोध भूमण्डलीकृत साम्राज्यवाद अर्थात अमेरिकी साम्राज्यवादसँग भएको उल्लेख गर्दै अब जनताको शक्तिले त्यसलाई थेग्ने जिम्मेवारी नेकपाको काधमा आएको बताए। उनले संसदवादी पार्टी र तिनका नेताहरुले थेग्न नसक्ने भन्दै अब त्यसलाई नेकपाले मात्र थेग्न सक्ने ठोकुवा गरे ।

महासचिव विप्लव सी ले वर्तमान समयमा विश्वपरिवेश बदलिएको भन्दै अमेरिकी साम्राज्यवाद नयाँ तरिकाले नेपाल छिर्न खोजेकोले अबको अन्तर्विरोध भूमण्डलीकृत साम्राज्यवादसङ्ग भएको ठोकुवा गर्दै भने -“अमेरिकी साम्राज्यवादले बुझिसक्याे आफ्नाे उदेश्य पूरा पुराना पिढीका दल र दलालहरुबाट हुँदैन त्यसैले उनीहरूलाई छाेडेर नयाँ दल र पात्रका रूपमा रविहरूलाई योजनाबद्ध रूपमा अगाडि सारेको छ ।”

महासचिव विप्लव सी ले नक्कली भूटानी शरणार्थी प्रकरण पनि पुराना नेता र कार्यकर्ता सिध्याउने र केहि प्रायोजित पात्र ल्याउन गरिएको योजना भएको बताउदै भने – “यो सबै अमेरिकाले सुझबुझका साथ गरेको छ, अमेरिकाले नेपालका नेताहरू पैसाका लागि जे पनि गर्न तयार हुने कमजोरीलाई हतियार बनाएर प्रहार गरेको हो ।”

उक्त प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी शिलु सी, सुशील सी, केन्द्रीय सदस्य जिवन्त सी, पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए ।
युवा संगठन नेपालका अध्यक्ष पाटन सीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा अखिल(क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए ।