वैदेशिक हस्तक्षेप रोक्न कम्युनिस्टहरुबीच एकता र मोर्चाबन्दी आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वैदेशिक हस्तक्षेप रोक्नका लागि कम्युनिस्ट शक्तिबिच एकता र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी मेचिब्यूरो, सगरमाथा ब्यूरो, उत्तर कोशी ब्यूरो र कोशी ब्यूरोद्वारा संयुक्तरुपमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सी ले नेपालका कम्युनिस्ट र प्रगतिशील शक्तिहरुबीच एकता गरेर मात्रै वैदेशिक हस्तक्षेपका विरुद्ध लड्न सकिने बताउदै भने – “अमेरिकाले नेपालको उत्तरी ७ वटा जिल्लामा क्याम्प राख्नका लागि औपचारिक प्रस्ताव राख्न खोजेकोले एकता र संघर्षको विकल्प नरहेको र देश गम्भीर मोडमा धकेलिएकोले सबै शक्तिहरु मिल्न जरुरी छ।’
महासचिव विप्लव सी ले विशेष गरी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्थाको विरुद्ध नै रहेपनि यतिबेला अमेरिकी साम्राज्यवादले नेपालमा हस्तक्षेप बढाएको अवस्थामा दलाल बनेका नेताहरू देउवा, केपी, प्रचण्ड भन्दा साम्राज्यवाद अहिलेको मुख्य समस्या हुने र देश बचाउनका लागि सबै एकै ठाउँमा उभिनु परेको विप्लवले बताए । उनले वैदेशिक हस्तक्षेपको अन्त्यका लागि समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि समाजवादी मोर्चा बनाउन आवश्यक रहेकोले त्यसतर्फ प्रयत्न गरिरहेको र छिट्टै समाजवादी मोर्चा घोषणा हुने बताए ।
महासचिव विप्लव सी ले पछिल्लो समय नेकपा संसदवादी व्यवस्थामा गएको मिथ्या भ्रम केही अनलाइन मिडियाहरुले फैलाइरहेको बताउँदै त्यस्तो कल्पना नगर्न र समाजवाद नै पार्टीको लक्ष्य रहेको प्रष्ट्याए ।

उक्त कार्यक्रमका अतिथि तथा नेकपा पोलिट ब्युरो सदस्य सुमन सी ले आफ्नो मन्तव्य राख्दै आजको २१औं सताब्दीमा दास युगमा जस्तै मानव तस्कर नेपालमा चल्नु निकै लाजमर्दो कुरा रहेको बताए । उनले सहरमा वित्तीय संस्थाको किस्ता तिर्न नसकेर आत्महत्या गर्नुपर्ने, महिलाहरुले यौन व्यवसाय गर्न बाध्य हुनुपर्ने अवस्था आएकोले त्यसका विरुद्ध पार्टी सशक्त तरिकाले लड्नुपर्ने समेत बताए ।
कार्यक्रमका सञ्चालक मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले पार्टी नेता – कार्यकर्ताले असाधारण काम गर्नुपर्ने अवस्था आएको बताए । पछिल्लो समय वैदेशिक हस्तक्षेप सँगै देशभित्र गुन्डाराज मौलाइरहेकाले त्यसलाई निस्तेज पार्न नेपाल कम्युनिस्ट पार्टीले विशेष भुमिका खेल्नुपर्ने जोड दिए। कार्यक्रममा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सी ले नेकपाले दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि एकता र मोर्चाबन्दीलाई तीव्रतामा अगाडि बढाइरहेको बताए।
यसैगरी , नेकपाका सल्लाहकार समितिका सदस्य होम सी. ले मोहनचन्द्र अधिकारी गेरु वस्त्र लगाएर सकिएको र प्रचण्डले पनि सोही बाटो अपनाएको बताए ।

कार्यक्रममा प्रतिबन्ध कालदेखि जेलमा रहेर रिहा भइ आएका उदयपुरका पूर्व इन्चार्ज बाबुराम सी र जिल्ला सदस्य नन्द सी. लाई सम्मान गरिएको थियो ।
पूर्वी नेपालमा अवस्थित नेकपाको ४ वटा संयुक्त ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम धरानमा आयोजना गरिएको थियोे । उत्तर मेची – कोशी ब्युरो इन्चार्ज देव सी. ले कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रमको अध्यक्षता कोशी ब्युरो इन्चार्ज दिपेश सी ले गरेका थिए ।