राष्ट्रिय राजनीतिमा समाजवादी मोर्चाको सकारात्मक प्रभाव (भिडियोसहित)
काठमाडौँ । समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको गठनले राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको छ । शनिबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले जानकारी दिए । उनले समाजवादी मोर्चा गठन भएपछि आमक्रान्तिकारी कम्युनिस्ट , प्रगतिशील लोकतन्त्रवादी , देशभक्त र आम जनतामा उत्साह र नयाँ आशा पैदा भएको उल्लेख गर्दै दलाल पुँजीवादी तत्व र साम्राज्यवादीहरुको निम्ति मोर्चाको गठन टाउको दुखाईको बिषय बनेको बताए ।
यसैगरी, बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । उक्त कार्यदलले तिन दिन भित्र मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी नीति र आचारसंहितासहितको प्रस्ताव तयार पार्ने र कार्यदलले तयार परेको प्रस्तावमाथि यहि आसार २७ गते बस्ने मोर्चाको बैठकमा छलफल हुने बताइएको छ।
समाजवादी मोर्चा नेपालको शनिबार बसेको पहिलो बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ , कृष्ण बहादुर महरा, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे , नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङ , नेकपा (एकीकृत समाजवादी) का नेता प्रनेश हमाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसहितका नेताहरुको सहभागिता रहेको थियो