‘दलाल पुँजीवादविरुद्ध समाजवादी विद्रोह आवश्यक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादविरुद्ध समाजवादी विद्रोह आवश्यक भएको बताएका छन् । शुक्रबार समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले नेपाली जनताको स्वाधीनतालाई सुनिश्चित गर्न सक्ने समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै अहिलेसम्मको व्यवस्थाले नेपाली जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न नसकेको ठोकुवा गरे । उनले भने–‘नेपाली जनताहरु धेरै विद्रोहहरु गरेका छन्, मधेसले पनि धेरै विद्रोह गरिसकेको छ, मधेसी जनताले पनि धेरै रगत बगाइसकेका छन्, मधेसमा धेरै उत्पीडन, समस्या र सल्लाह–सुझाव पनि छ तर अहिलेको संकटग्रस्त दलाल पुँजीवादविरुद्ध एउटा अन्तिम समाजवादी विद्रोह आवश्यक छ त्यो विद्रोहमा मधेसको सक्रिय सहभागिता हुनुपर्छ, सक्रिय सहभागिताका लागि अपिल पनि छ ।’
महासचिव विप्लव सीले अहिले देशको स्वाधीनता सर्वाधिक संकटमा परेको बताउँदै भूमण्डलीकृत साम्राज्यवादको चङ्गुलबाट नेपाललाई मुक्त गर्न सबै मिलेर लाग्नुपर्ने बेला आएको बताए ।
महासचिव विप्लव सीले नेपाली जनताको भविष्य निर्माण गर्न कुनै हस्तक्षेपबाट नअत्तालिएर सबै नेता कार्यकर्ता र श्रमिक जनता मिलेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्नु आवश्यक रहेकोसमेत बताए ।
सोही कार्यक्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेकोप्रति दुःख व्यक्त गरे । उनले भने– ‘यति बेला जनयुद्ध र मधेस आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरूबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ । यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएका छौ ।’
प्रधानमन्त्री प्रचण्डले प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डो¥याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पार्दै भने– ‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।’
प्रधानमन्त्री प्रचण्डले विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पु¥याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पु¥याउने र यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरूको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले मधेसको विकासका लागि आपूm चिन्तित रहेको बताउँदै उनले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गरे । उनले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गरे । मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले निजगढ–काठमाडौं फास्ट ट्रयाकको काम छिट्टै सम्पन्न हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि रोकिएको संघीय शिक्षा ऐन, संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै तीनवटै ऐन पारित गराई कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए । संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रुपमा संशोधन गर्न सरकार, सदन र सडक तीनवटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको बताए ।
यसैगरी, सोही सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकार जनताको चाहना, भावना अनुसार सहि नीति, सहि कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने बताए । उनले गाउँदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार व्याप्त मौलाएको भन्दै जनसेवाको भवनामा कमि हुँदा जनता शोषित भएको बताए । भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभेद, उत्पीडनबाट मधेशी जनताहरुले अझै पनि उन्मुक्ति नपाएको बताए ।