‘ प्रधानमन्त्री प्रचण्ड एमसिसीविरुद्ध लड्नुहुन्छ भन्ने विश्वास छ’

२०८० भाद्र १४ गते, बिहीबार

काडमाडौं ।   नेपाल कम्युनिष्ट पार्टीका महासचिव   विप्लव सीले  प्रधानमन्त्री प्रचण्ड  एमसिसीविरुद्ध     लड्ने  विश्वास व्यक्त गरेका छन्।  समाजवादी मोर्चाले  बिहिबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन्। 

 महासचिव   विप्लव सीले   अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन   जनताको हितमा नरहेको बताउदै  यसको विरुद्धमा प्रधानमन्त्री  प्रचण्ड लड्ने विश्वास व्यक्त  गर्दै भने – ‘एमसिसी जनताको हितमा छैन। यसविरुद्ध प्रचण्ड लड्नुहुन्छ भन्ने विश्वास छ। अर्को खराब मान्छे आउनेवित्तिकै अनेक चलखेल हुन सक्छ। अनुदान हो भने ठिक छ तर त्यसका नाममा हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्विकार गर्न सकिन्न। नेपाल कुनै पनि सैन्य मोर्चामा जान सक्दैन।’

महासचिव   विप्लव सीले   समाजवादी मोर्चा क्रान्तिको प्रतिक भएको बताउदै  राष्ट्रहित र प्राप्त उपलब्धीको रक्षाका लागि मोर्चा एकढिक्का रहेको बताए । 

महासचिव   विप्लव सीले भने – ‘अरु कुरामा हामी चार दलबीच फरक मत हुन सक्छ।  क्रान्तिद्वारा प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व र देशलाई युक्रेन बनाउन चाहने तत्वहरु, कहिले पनि कसैको अधिनमा नरहेको नेपाललाई उपनिवेशन बनाउन चाहने साम्राज्यवादी तत्वहरुविरुद्ध हामी लड्छौं, एकढिक्का छौं।’

महासचिव   विप्लव सीले  नेपालमा संसदीय व्यवस्था रहेसम्म शान्ति, स्थिरता र समृद्धि संभव नरहेको  बताए ।  उनले अहिलेको सरकार प्रगतिशील रहेको भन्दै   सुशासनका पक्षमा डटेर लाग्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे। उनले आफूहरु भ्रष्टाचार निर्मूल पार्न सडकबाट साथ दिन तयार रहेकोसमेत  बताए।

महासचिव   विप्लव सीले    नेपाल भ्रष्टचारको दलदलमा फसेको बताउदै भने-   ‘वडा वडामा छ, भ्रष्टचार, अर्काको खोरको बाख्रा देखाएर अनुदान खाने नक्कली कम्युनिष्टहरु मैले देखेको छु।  प्रधानमन्त्रीज्यू, कालो, रातो जस्तोसुकै रंग ओढेका भ्रष्टाचारीहरु किन नहुन् खोरमा हाल्नुहोस्, हामी साथ दिन्छौं । भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ ।’

यसैगरी, सोही सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री  प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए ।  उनले  भने-   ‘भ्रष्टाचारविरुद्धको अभियान अब रोकिनेवाला छैन। समाजवाद निर्माणको नयाँ अभियानको रुपमा यसलाई अघि बढाइने छ। दायाँबायाँ तेरोमेरो केही पनि हेरिने छैन ।’

प्रधानमन्त्री  प्रचण्डले  सरकार आफ्नो प्राथमिकतामा नरहेको र सरकार जोगाउन नलागेको भन्दै राम्रो काम गर्दै अघि बढेको बताउदै भने – ‘सरकार कतिसम्म चल्छ चल्दैन मलाई टेन्सन छैन। राम्रो कामको सुरुवात गर्छु‚ राम्रो काम गर्दा गर्दै कसले हटाउँदोरहेछ हेर्छु। अहिले आठमहिना भयो । झन् राम्रोतिर गइरहेको छ। माओवादीले आफ्ना मान्छे बचाउँछ कांग्रेस र एमालेलाई हान्छ भनेर हल्ला गरिएको छ। मैले सिआइबीलाई दोषी  देखिए माओवादीका नेता कसैलाई नछोड, खोज्दै जाँदा बाटोमा प्रचण्ड भेटियो भने पनि नछोड भनेको छु।’

प्रधानमन्त्री  प्रचण्डले आफूले गरेका राम्रा काम प्रतिक्रियावादी दलालहरुलाई सहीसक्नु नभएको भन्दै  विरोध गर्न धुप हालेर बसेको जिकिर गर्दै विगतका विभिन्न कालखण्डमा छुट्टिएका नेताहरुलाई एक ठाउँमा ल्याउन पाएकामा आफू सबैभन्दा बढी खुशी भएको बताए ।

प्रधानमन्त्री  प्रचण्डले  देशलाई प्रतिगमनतिर लगेर अहिले प्राप्त उपलब्धी खोस्ने षड्यन्त्र भइरहेको भन्दै   त्यसविरुद्ध गठबन्धन, सरकार र मोर्चामा बसेर लड्ने बताए।

 प्रधानमन्त्री  प्रचण्डले नेकपा एमालेभित्र असन्तुष्टि चुलिएको र विस्फोट हुने खतरा रहेको बताउदै भने- ‘अहिले म नाम लिएर धेरै भन्दिनँ। आफूलाई निकै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ। नेता र कार्यकर्ताको विशाल पंक्ति हैरान, परेशान भएर कहिँ न कहिँ बिस्फोट हुने स्थितिमा पुगेको छ। मलाई लाग्छ त्यहाँबाट फेरि कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुन्छ भन्ने मेरो विश्वास छ।’

उनले अब भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन जनता सडकमा उतारिने बताउदै भने – ‘वर्षा सकिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रिय जनजिविका, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ। ‘जनतालाई सडकमा नल्याइ सरकारले मात्रै गर्देला र खाउँला भन्यो भने त्यो भुल हो। इतिहासको निर्माता अन्ततः जनता हो।’

प्रधानमन्त्री  प्रचण्डले   जनता सडकमा आएकैले संविधान मिचेर विघटन गरिएको संसद पुनर्स्थापना हुन सफल भएको बताउदै भने –  ‘दुईदुई पटक संविधान मिचेर संसद विघटन गरियो। केही नेताले वक्तव्य दिएर त्यो रोकिनेवाला थिएन। जब हामी सडकमा गायौं। लखौं जनता देशभरबाट काठमाडौंका सडकमा पटक-पटक आन्दोलिन भएपछि कसैले विघटनलाई साथ दिन सक्ने स्थिति भएन र हामी विजयी भयौं। अहिले पनि भ्रष्टाचारविरोधी अभियान, समाजवाद र स्वाधिनताको यो अभियान जनताले मात्रै रोक्न सक्छ।’

यसैगरी प्रधानमन्त्री  प्रचण्डले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्वर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिए।  उनले  कर्णाली कोरिडरले यहाँका जनताको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गरे।  उनले कम्युनिष्ट आन्दोलनले नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै   विगतको आन्दोलनमा अग्रणी भूमिका खेलेको कर्णाली अब पनि समाजवादी मोर्चाको केन्द्र बन्ने ठोकुवा   गरे ।

 यसैगरी, सोही सभालाई सम्बोधन गर्दै  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कलकारखाना तथा उद्योग खोल्न विदेशी पूँजी आउँछ भने  स्वागत गर्न तयार रहेको उल्लेख गर्दै  त्यसका लागि अनुचित शर्त र सम्झौता स्वीकार्य नभएको बताए ।   उनले एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताउदै भने -‘हामीले एमसिसी पास गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणा अघि सारेका छौं। यसलाई अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्छ। एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिनुहुँदैन। हामीले विशुद्ध आार्थिक सहयोग सम्झौताको रुपमा लिएका छौं।’

उनले नेपालमा अरु कसैको मनपरी नचल्ने भन्दै नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन पनि नदिइने बताए।

अध्यक्ष   नेपालले  सरकार कसैले ढाल्न नसक्ने जिकिर गरे।  उनले राम्रो उद्देश्यका निम्ति आफूहरुले सरकार बनाएको भन्दै     कसैले चाहँदैमा सरकार परिवर्तन हुन नसक्ने बताए। प्रधानमन्त्रीले आफ्नालाई समेत नछाडी अहिले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको भन्दै नेपालले प्रचण्डलाई धन्यवाद समेत  दिए ।

प्रतिक्रियाहरु

[anycomment]