‘अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खोजिरहेको छ ‘
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको ठोकुवा गरेका छन् । समाजवादी मोर्चा, नेपालद्वारा शुक्रबार पोखराकाे सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको ठोकुवा गर्दै भने -‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रकाे नेपाल सैन्य मैदान बन्न दिनु हुँदैन, अमेरिकाकाे षड्यन्त्रविरुद्ध यो समाजवादी माेर्चालाई उभ्याउनु पर्छ । सरकार, सदन र सडक क्रान्तिकाे साधन बन्नु पर्छ ।’
महासचिव विप्लव सीले कम्युनिस्टबाहेक अरुले देशका लागि लड्न नसकेको, नेपाल स्वाधिन भएको हेर्न नचाहने र विखण्डन मच्चाउने शक्तिहरू देशमा रहेको ठोकुवा गरे । उनले देशको कार्यकारीलाई नै हत्यारा भन्ने कुरा बजार र चोकचोकमा रहेको उल्लेख गर्दै भने – ‘देशको कार्यकारीलाई हत्यारा भन्ने कुरा बजारमा चोकचोकमा छ । विद्रोह गरेको भनेर हत्यारा हो भनिँदै छ। कार्यकारी प्रमुखले मुद्दा लड्नुपर्छ । माओवादीलाई अपराधी करार गर्नुपर्छ भनिएको छ । यो हमला र ठूलो षड्यन्त्र हो ।’
महासचिव विप्लव सीले नेपाललाई स्वाधिन भएको हेर्न नचाहने भरौटेहरू, समाजमा विखण्डन मच्याउने शक्ति देशमा भएको उल्लेख गर्दै भने – ‘सरकार पैसा कमाउने ठाउँ होइन । संसद, सरकार भनेको जनताको सेवक हुन् । अहिले सुशासनको पक्षमा जे चलेको छ त्यसलाई समर्थन गर्छौं ।’
उनले भने- ’प्रचण्ड सरकारको नेतृत्व गरिरहनु भएको छ, सुशासन, स्वाधीनताकाे पक्षमा लड्नुस्, लडिरहनु भएको छ, सरकार भत्ता खाने ठाउँ मात्र होइन, माधव नेपाल सदनमा हुनुहुन्छ, जनताको कानुन बनाउने पक्षमा लड्नुस् संसद गफ गर्ने थलो मात्र होइन जनताको सेवक बनाउनुपर्छ, बनाउनुस्, हामी सडकको नेतृत्व गर्छौं, सडकको माेर्चाबाट लडिरहेका छाैँ, देशको स्वाधीनताकाे लागि जनताको अधिकारका लागि ।’
यसैगरी महासचिव विप्लव सी ले प्रतिक्रान्ति र साम्राज्यावादका विरुद्ध लड्न समाजवादी मोर्चा बनेको बताए । उनले देशीविदेशी तत्वहरुले जब स्वाधीनता र हाम्रो राष्ट्रियतामाथि हमला गर्न लाग्छन् त्यसैबेला कयौं समीकरण बन्छन् यो समाजवादी माेर्चा पनि साेही एकताको प्रक्रियामा अगाडि बढिरहेको बताए ।
उनले नेपालको दलाल पुजीवादलाई अन्त्य गरि जनताको सत्ता स्थापना गर्न नेपाली विशेषताकाे समाजवादी सत्ता निर्माण गर्ने यो समाजवादी माेर्चाकाे उद्देश्य रहेको दाेहाेर्याए ।
यसैगरी , उक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको बताए । उनले मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गर्दै भने – ‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो’, उनले भने, ‘एउटै विचार र उद्देश्यमा केन्द्रीकृत हुनु गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो ।’
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभएको जिकिर गर्दै नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको बताउदै सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले राम्रो काम गरे पनि विरोधीले राम्रो गर्यो भन्न नसकेको उल्लेख गर्दै सरकारका राम्रा कामको चर्चा समाजवादी मोर्चाले गर्न थालेको बताए । उनले भने, ‘सरकारले जतिसुकै राम्रो काम गरे पनि विरोधीले राम्रो गर्यो भन्न सक्दैन, कसैले पनि सरकारका राम्रा कामको चर्चा नगरे पनि समाजवादी मोर्चा बनाएपछि राम्रा कामको चर्चा हुन थालेको छ।’
प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरे पनि विरोधीले विरोध गरेको उल्लेख गर्दै भने – ‘कमरेडहरू, सरकारले गरेका राम्रा कुरा कसले भनिदिन्छ भन्ने थियो मलाई। समाजवादी मोर्चा बनाएपछि हामी सबैले भन्न थालेका छौं। ‘
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला राम्रा काम भए पनि संसदमा केहीले बोल्नसमेत नदिएको बताउदै भने- ‘भारत भ्रमणमा त्यत्रा ठूला काम भयो, सदनमा हेर्नुभयो भने एकथरी सयाथीहरु बोल्नै नदिने, मैले यो गरेर आएको छु भन्नै नदिने, जनताको बीचमा लैजाने जिम्मा तपाईंहरुको हो।’
उनले भारतबाट ल्याएको मुर्रा भैंसीमा भ्रमणलाई संकुचित गरेर बदनाम गराउने प्रयास भएको उल्लेख गर्दै नेपालमा मुर्रा भैंसी ल्याउन २०७२ सालदेखि प्रयास भए पनि अरु कसैले नसकेको र आफ्नो सम्बन्ध राम्रो भएकाले ल्याउन सफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको अभियान सुरुमा आफूलाई छिटै सकिन्छ भन्ने लागेको तर, यो गर्दै जाँदा महाभियान बन्ने देखिएको बताउदै भने -‘यो अभियान रोकिँदैन । सुरुमा अभियान पन्ध्र दिने, एक महिने बन्छ कि भन्ने लागेको थियो । गर्दै जाँदा महाअभियान बन्ने देखेको छु। एकपछि अर्को गर्दै भ्रष्टाचारमाथि हमला बोल्नुपर्छ भनेर बोलियो । माफियागिरीको कुरुप उदाहरण ललितानिवासको फाइल खोल्यौँ ।’
उनले सत्ता गठबन्धनमा राम्रो एकता कायम रहेको पनि दाबी गर्दै भने – ‘अहिले जो प्रतिपक्षमा छन् उनीहरूसँग मिलेर म प्रधानमन्त्री भएँ । पछि चुनावकै गठबन्धनमा पुग्दा कसरी पुगियो भन्ने पनि लाग्छ। ‘गठबन्धनभित्र राम्रो एकता कायम भएको छ । बेथितिविरुद्ध लडाइँ छेडेका छौँ ।’
प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रमाथि दबाब रहेको पनि तर, सरकारले उक्त समस्यालाई पनि समाधान गर्ने बताउदै भने – ‘अर्थतन्त्रमाथि दबाब कायम छ । जति आर्थिक चलायमान हुनुपर्ने हो त्यो भएको छैन । केही समस्या समाधान गर्नुपर्ने छ, त्यो हुन्छ। ‘
उनले सुन तस्करीको विषय सामान्य नरहेको बताउदै भने – ‘सुन तस्करी सामान्य छैन । क्विन्टलका क्विन्टल सुन तस्करी हुने थाहा पाएपछि, हाम्रो एअर रुट प्रयोग भएको थाहा पाएपछि त्यसमाथि अंकुश लगाउनुपर्छ भनेर प्रहार गर्यौं। मिटरब्याजीविरुद्ध पनि प्रहार गर्यौँ ।’
उनले सरकारले भ्रष्टाचारविरोधी अभियान मात्र नचलाएको बताए । ठूला आयोजनाहरूको आफैँले निरीक्षण गरेर विकासको वातावरण पनि सिर्जना गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको बताउदै भने -‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो। त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’
प्रधानमन्त्री प्रचण्डले नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको सुनाए ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको उल्लेख गर्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताउदै भने -‘त्यस (सुन तस्करी)मा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो। ‘
उनले ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताउदै भने – ‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु। ‘
प्रधानमन्त्री प्रचण्डले सरकार पाँच वर्ष टिक्ने दाबी गर्दै भने- ‘म प्रधानमन्त्री हुँदा एक महिने कि भन्ने थियो। ८ महिना बितिसक्यो। गर्दै जाँदा वर्ष बित्छ जस्तो देख्छु मैले। यो गठबन्धन पाँच वर्ष जान्छ। सरकारले यो लडाइँलाई अन्तिम निष्कर्षमा पुर्याउँछ। ‘
यसैगरी , उक्त सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे । उनले भने- ‘म हाम्रो पार्टीको कार्यकर्तालाई भन्न चाहन्छु । आफ्नो पार्टी पनि बलियो बनाउनुस् । समाजवादी मोर्चालाई पनि गतिशील बनाउनुस् ।’
अध्यक्ष नेपालले एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताउदै भने -‘म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरु विलिन हुनेछन् । हाम्रै पार्टीभित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलिन हुने हो कि भनेर । अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला । जताजता मिल्न मन लागेको छ, उहाँहरुलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ ।’
उनले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गर्दै आपसमा खुट्टा नतानी काम गर्न आग्रह गर्दै भने- ‘प्रत्येक पार्टीलाई भन्न चाहन्छु, तपाईहरु आ–आफ्नो ठाउँमा जनताको माझमा जानुस् । संगठन गतिशील बनाउनुस् । जनतासँग जोडिनुस् । राम्रो काम गर्नुहोस् । राम्रो व्यवहार देखाउनुहोस् । असल आचरण देखाउनुहोस् । तपाईहरु असल नेता बन्नुहुनेछ ।’
उनले काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्नसमेत आग्रह गर्दै भने- ‘तपाईहरुलाई म भन्न चाहन्छु खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भन्ने पन्छिनुस् । कि काम गर्नुस् कि बाटो छोड्नुहोस् ।’
उनले नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरु पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।
विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ । उनले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताए ।