नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा (भिडियोसहित )

२०८० भाद्र २५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा गठन भएको ठोकुवा गरेका छन । सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सी ले समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको र नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताउँदै मोर्चाले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने ठोकुवा गरे ।

उनले जनयुद्धवाट ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताउँदै नेपालमा हाल चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताए । उनले दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै त्यसलाई रोक्नुको बिकल्प नभएको ठोकुवा गर्दै अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेकोले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताए ।
महासचिव विप्लव सी ले परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताए । उनले अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने बताए । उनले साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’
महासचिव विप्लव सी क्रान्तिबाट नडराउने भन्दै माधव नेपाल र उपेन्द्र यादवहरूले सरकार र सदनमा लडे आफू सडकमा लड्न तयार भएको बताए ।

यसैगरी, महासचिव विप्लव सी ले जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने भन्दै यसको सामना गर्न तयार हुनुपर्ने बताए । उनले देश जटिल संक्रमणको अवस्थामा रहेको समेत बताउदै भने, ‘एक किसिमको उकुस मुकुस छ। पूर्वमा पहिचानको कुरा छ। युवा सन्तुष्ट छैनन्। यसको सामना कसले गर्ने र कसले सच्याउने भन्दै उनले प्रश्न गरे। धार्मिक, सांस्कृतिक विरोध छन्। समाजवादी मोर्चा बनाउंदा टुक्रा टुक्रा आन्दोलनले समाधान हुँदैन। उनले भने, ‘समग्र लक्ष्य पूरा गर्न मोर्चा बनेको हो।’
महासचिव विप्लव सी ले जाति जनजाति, किसान, मजदुर मालिकबीचको अन्तर विरोधको सम्बोधन गर्ने बताउँदै संसदीय व्यवस्था जनताको चाहनाअनुसार नभएकोले नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताए।

प्रतिक्रियाहरु

[anycomment]