नेकपाका महासचिव विप्लव सीद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य सन्तोष सी लगायतले संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । महासचिव विप्लवले नेम्वाङको पार्थिव शरीरमा फुल मालाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पु प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।
यसैगरी, मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालयमा ल्याएको थियो ।
एमालेले पनि पार्टी उपाध्यक्ष नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।