‘अमेरिकी हस्तक्षेप जसरी पनि रोक्नुपर्छ ‘
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी हस्तक्षेप जसरी पनि रोक्नुपर्ने बताएका छन् । नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले अमेरिकी हस्तक्षेपलाई समयमै रोक्न नसके नेपाल देश नै नरहने भन्दै त्यसका लागि समयमै कम्युनिस्ट पार्टीले पहलकदमी लिनुपर्ने बताए । उनले भने – ‘अमेरिकी हस्तक्षेप नरोक्ने हो भने नेपालै नरहने खतरा छ । नेपाललाई तहस नहस पार्न अमेरिका विभिन्न तरिकाबाट नेपाल आएको छ । एमसीसी एउटा पाटो हो । उ विभिन्न बहानामा नेपाल आउँदै छ । उसले युद्ध लिएर आउँछ, जनतालाई विखण्डन पार्न विभिन्न खालका नाराहरु दिन्छ । हामी यसमा सचेत हुनुपर्छ र यसका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्छ ।’
महासचिव विप्लव सीले अमेरिकाले चीनलाई घेर्न नेपालको प्रयोग गर्ने रण्नीति बनाएको बताउँदै नेपाली जनताको विद्रोहबाट त्यसलाई रोक्नुपर्ने बताए । उनले भने – ‘अमेरिका कुनै पनि देशमा कम्युनिस्टलाई देखि सहदैन । नेपालमा पनि उसको रणनीति कम्युनिस्ट सिध्याउने, नेपाली भूमि चीनका विरुद्धमा प्रयोग गर्ने र नेपाललाई युक्रेन बनाउने छ । हामी कम्युनिस्टहरुले यसको सचेत पहल कदमी लिएर अमेरिकाका विरुद्धमा लड्नुपर्छ ।’
महासचिव विप्लव सीले अमेरिका विरुद्धमा लड्दा कुनै देशले सहयोग गर्न चाहे उनीहरुको सहयोग पनि ग्रहण गर्ने बताउदै भने- ‘हामी अमेरिकासँग स्वाधिनताको लडाई लड्ने तयारीमा छौं । हामीलाई कसैले सहयोग गर्छ भने उनीहरुको सहयोग लिन्छौं । ‘
महासचिव विप्लव सीले आफ्नो पार्टीले लघुवित्त, मिटरव्याजीका विरुद्धमा संघर्ष गर्दा हजारौंको ज्यान जोगिएको जिकिर गर्दै यसका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने बताए । उनले भने – ‘हाम्रो पार्टीले लघुवित्त, मिटरव्याजी, कालोबजारीका विरुद्धमा संघर्ष गर्दा हजारौं जनताको ज्यान जोगिएको छ । उनीहरुको पक्षमा बोलिदिदा मात्रै हजारौंले आत्महत्या गर्नबाट रोकिएको छ । मान्छे आत्महत्या गर्नबाट एक दिन रोकियो भने अर्को तरिकाले सोचिहाल्छ । बाँच्यो भने विकल्पहरु सोच्न सकिन्छ भन्ने म्यासेज हामीले दिन सफल भयौं । अहिले हामीलाई उहाँहरुको साथ छ ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य विषम सीले एकीकृत जनक्रान्तिमार्फत अधुरो क्रान्ति पूरा गर्ने आधारहरु तयार भएको बताए । उनले पार्टीले अगाडि सारेका रणनीति र कार्यनीतिलाई बुझेर अगाडि बढेको खण्डमा क्रान्ति पूरा हुन समय नलाग्ने बताउदै भने -‘हाम्रो पार्टीले छिटो छिटो निर्णय लिन्छ, धेरैलाई यो विषय थाहा हुँदैन । अनि रणभुल्लमा पर्नुहुन्छ ।’,
नेता विषम सीले फुटबल खेलको कथा सुनाउँदै भने- ‘अलिकति अलमल गर्यो भने विपक्षीले गोल गरिहाल्छ । हामीले दुस्मनलाई छक्याएर, भुलाएर उसको पोस्टमा गोल गर्नुपर्छ । हामी कहिँ पनि अल्मलिनु हुन्न । रणनीति बुझेपछि क्रान्ति छिट्टै पूरा हुन्छ ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य शीलु सीले नेपाल कम्युनिस्ट पार्टी देशको नेतृत्व लिने ठाउँमा आइपुगेको बताइन् । उनले पार्टी नेतृत्व प्रति जनतादेखि ठूला राजनीतिक दलहरुसम्मले विश्वास गरेकाले आफ्नो पार्टी देशको नेतृत्व गर्ने ठाउँसम्म पुगेको बताउदै भनिन – ‘हाम्रो महासचिवलाई माओवादी केन्द्रका नेताहरुले नेतृत्व गरिदिन पर्यो भनिरहनु भएको छ । त्यहाँ विप्लवको खोजी भइरहेको छ । त्यहाँ नेताहरुको खडेरी भएर हो । जनताले पनि विप्लवलाई एक पटक हेर्न पाए हुन्थ्यो भन्ने गरेका छन् । तर हाम्रो पार्टी महासचिव कुनै पनि पार्टीको महासचिव बन्न जानुहुन्न । सिधै नेतृत्व आउँछ भने पछि हटिन्न ।’
नेता शीलु सीले नेकपा अहिलेसम्म स्वतन्त्र, स्वच्छ र जनताको पक्ष उभिएकाले देशले विश्वास गर्ने ठाउँमा पुगेको भन्दै रवि लामिछाने, बालेन शाहहरु विदेशीका दलालहरु भएको बताइन् । उनले भनिन – ‘रविहरु जनताका मान्छे होइनन् । उनीहरु त विदेशीका दलालहरु हुन् । उनीहरुलाई जनताको माया छैन । उनीहरु विदेशीका सच्चा दलाल हुन् । हाम्रो अबको लडाई उनीहरु सँग हो ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य सुशील सीले सामाजवादी क्रान्ति पुरा गर्न मोर्चाबन्दी अनिवार्य भएको बताए । उनले साम्राज्यवादका विरुद्ध लड्ने बलियो हतियार मोर्चाबन्दी भएको बताए । समाजवादी मोर्चा बन्दा माओवादीसँगको पार्टी एकता गर्न लागेको भनेर दुस्मनहरुले हल्ला चलाएको भन्दै उनले त्यसका लागि नेकपाले पहल कदमी लिनुपर्नेमा जोड दिए । उनले भने -‘हामीले माओवादीसँग पार्टी एकता हुँदैन भनेर किन भन्ने ? हामीले त क्रान्तिकारी हो । क्रान्तिकारीहरुले एकताको पहल लिनुपर्छ । तर त्यो एकता एमाले र माओवादी जस्तो हुनुहुन्न । माओवादी घटकलाई एकतावद्ध गर्नुपर्छ र त्यसको नेतृत्व महासचिव विप्लवले लिनुपर्छ ।’
नेता सुशील सीले अमेरिकाले एमसीसीमार्फत दिएको पैसा नेपालका लागि केही पनि नभएको बताउँदै एमसीसी कुनै पनि हालतका कार्यान्वयन गर्न दिन नहुने बताए । उनले भने – ‘अमेरिकाले दिने बजेट भनेको हाम्रो बजेटको १ सय ३७ प्रतिशत भन्दा कम हो । हाम्रो बजेटको ०.७३ प्रतिशत मात्र हो । यो अमेरिकी दलालहरुले नेपालका लागि ठूलो सहयोग हो भनेका छन् । त्यो केही पनि होइन् । त्यसको केही प्रतिशत त नेपालले पनि लगानी गरेको छ । भ्रमको पछि लाग्नुहुन्न, यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्न दिनुहुन्न ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले आफ्नो पार्टीले राजनीतिक मोर्चा जितेको ठोकुवा गरे । उनले समाजवादी मोर्चा बनाएर पार्टीले राजनीतिक मोर्चा जितेको भएपनि सङ्गठन र संघर्षमा कमजोर भएको बताउदै भने – ‘हामीले राजनीतिक मोर्चा जितिसकेका छौं । अब संगठन र संघर्षको मोर्चा जित्नुपर्ने छ । त्यसको मुख्य नेतृत्व उपत्यका र यस आसपासका जिल्लाहरुले लिनुपर्छ ।’
नेता कृति सीले साम्राज्यवाद मडारिए आएको बताउँदै त्यसका विरुद्धमा लड्न केन्द्रीय राजधानीमा रहेका नेता कार्यकर्ताले पहलकदमी लिनुपर्ने बताउदै भने – ‘क्रान्ति पुरा गर्ने कार्यभार केन्द्रीय राजधानीको छ, पार्टीले अगाडि सारेको नीति कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो काधमा छ । त्यही भएर तपाईं हामी संघर्ष र संगठनमा जोड दिएर अगाडि बढौं । क्रान्तिलाई सम्पन्न गरौं ।’
नेकपा उपत्यका व्युरो इन्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य कृति सीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजद सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।