देशको सबैभन्दा ठुलो समस्या दलाल पुँजीवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशको सबैभन्दा ठुलो समस्या दलाल पुँजीवाद भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीको पुर्वी क्षेत्रको संयुक्त राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सी ले पार्टी नेतृत्वको ९ वर्षसम्मको बलिदानपूर्ण संघर्ष र नेताकार्यकर्ताको अथक प्रयासका बाबजुद पार्टी नयाँ उचाइमा पुगेको बताए । उनले देशको सबैभन्दा ठुलो समस्या दलाल पुजीवाद रहेको बताउँदै थवाङ बैठकमा भएको विश्लेषण अहिले आएर सत्य सावित भएको बताए ।
महासचिव विप्लव सी ले देश र जनताको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको ठोकुवा गर्दै एकीकृत जनक्रान्ति यो शताब्दी कै नयाँ शुरुवात भएको बताए । उनले नेकपा अमेरिकी साम्राज्यवादका विरुद्ध निर्मम संघर्ष गर्न तयार रहेको बताउदै संसोधनवादीहरुलाई नेपाल कम्युनिस्ट पार्टीले परास्त गर्ने ठोकुवा गरे । उनले पार्टीको रणनीति, कार्यदिशा र एजेन्डा सहि सावित भैसकेकाले दृढ भएर पार्टीको निर्देशन अनुरुप काम गर्न नेताकार्यकर्तालाई निर्देशनसमेत दिए ।
महासचिव विप्लव सी ले नेकपाले समाजवादी मोर्चा घोषणा गरेपछि दलालहरु अत्तालिएको र कम्युनिस्ट शक्तिलाई विभाजन गर्न देशीविदेशी शक्ति लागि परेकाले सबै सचेत हुनुपर्ने बताए । उनले कसैलाई सरापेर र गाली गरेर क्रान्तिकारी नभइने भन्दै मोर्चा र नेकपाका विरुद्ध भ्रम छर्नेहरुलाई वर्ग संघर्ष र जनताको मुद्दा एजेन्डामा लाग्न आग्रहसमेत गरे ।