‘एमसीसीलाई जनप्रतिरोधले रोक्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसीलाई कुनैपनि हालतमा कार्यान्वयन हुन दिनु नहुने भन्दै जनप्रतिरोधले रोक्नुपर्ने बताएका छन् । नेकपाको उत्तर, मध्य तथा दक्षिण कर्णाली व्यूरोले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन।
महासचिव विप्लव सी ले एमसीसीबिरुद्ध जनतालाई सचेत बनाउदै प्रतिरोधको तयारी गर्न नेता – कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले नेपाली जनताका लागि एमसीसी विकास नभएर विनास ल्याएर अमेरिकी साम्राज्यवाद नेपाल आएको बताए ।
महासचिव विप्लव सी ले नेपाललाई युक्रेन बनाउने र नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गुरुयोजनाका साथ अमेरिकी साम्राज्यवाद एमसीसीका माध्यमबाट नेपाल छिरेको प्रष्ट्याए ।
उनले अमेरिकी साम्राज्यवादका केही दलाल टट्टुहरुले अमेरिकाको पैसा खाएर एमसीसीलाई नेपालमा जवर्जस्त कार्यान्यवन गर्न खोजेको ठोकुवा गर्दै नेपालमा राजनैतिक रुपमा प्रधान अन्तरविरोध समेत बदलिएको र अब अमेरिकी साम्रज्यवादका दलाल र नेपाली जनताका बीचको अन्तरविरोध प्रधान भएको बताए ।
महासचिव विप्लव सी ले भने- “अन्तरविरोध बदलिएकाले नेपालमा समाजवादी मोर्चा बन्न सम्भव भएको हो । दलाल पूँजीवादी संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद ल्याउने शर्तमा मोर्चा बनेको हो । यो स्वाधीनताको पक्षमा पनि उभिन्छ ।”

महासचिव विप्लव सी ले नेपाली कम्युनिष्ट आन्दोलनमा मुख्यगरी दुईवटा समस्या एउटा जडसुत्रीय रुढिवाद र अर्को पुँजीवादी संसदवादका कारण कम्युनष्टिहरुहरु अगाडि बढ्न नसकेको उल्लेख गर्दै नेपालमा नयाँ तरिकाले क्रान्ति गर्न आफ्नो पार्टी लागेको र त्यो एकीकृत जनक्रान्ति भएको भन्दै समाजवादी क्रान्ति पूरा गर्न नेपालका सबै कम्युनिष्टहरुलाई साथमा लिएर जाने बताए । उनले प्रचण्डसँग अमेरिकाले नेपालको मुस्ताङ लगायतका केही ठाउँहरुमा सैन्य क्याम्प राख्ने प्रस्ताव गरेको कुरा सुन्नमा आएकोे खुलासा गर्दै यदि त्यसो भए नेपाली जनताले स्वीकार नगर्ने र प्रतिवाद हुने चेतावनीसमेत दिए ।
उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी, सुशील सी, पोलिट व्यूरो सदस्य बन्धु सी लगायतका नेताहरुले समेत प्रशिक्षण मन्तव्य राख्दै नेपालको प्रधान समस्या दलाल पुँजीवाद भएको र त्यसको अन्त्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने बताए । उनीहरुले १५ वर्ष पहिले पार्टीले संश्लेषण गरेका कुराहरु पुष्टि हुँदै गएकाले पार्टी सफल हुँदै गएको समेत बताए । संगमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विवेक सीले गरेको थिए ।