‘साम्राज्यवादी मुलुकहरु नेपाललाई सैनिक अखडा बनाउन खोज्दैछन ‘

२०८० आश्विन २५ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन खोजेको ठोकुवा गरेका छन। बुधबार समाजवादी मोर्चा झापाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सी ले नेपाल देश पछिल्लो समय विदेशीहरुको प्रत्यक्ष हस्तक्षेपको चपेटामा रहेको र अमेरिकी साम्राज्यवादले नेपाललाई २१ औँ शताब्दीको उपनिवेश बनाउने प्रपञ्चमा रहेकाले यसका विरुद्ध जस्तोसुकै संघर्ष गरेर भएपनि यसलाई रोक्न आफुहरु तयार रहेको बताउदै भने- ‘देश नै रहन्छ कि रहन्न भन्ने स्थितिमा छ, यदि हामीले जथाभावी यतिकै छाडिदियौँ भने नेपाल देश नै कता पुग्छ भन्ने अवस्थामा पुगेको छ ।
नेपालको राष्ट्रिय स्वाधिनता यति धेरै खतरामा परेको छ, साम्राज्यवादी तत्वहरुको प्रत्यक्ष हस्तक्षेप हुँदैछ, यदि पार्टीहरुले र नेताहरुले ध्यान पुर्याउन सकेनन् भने नेपाल २१औँ शताब्दीको उपनिवेश बन्ने खतरामा पुगेकोछ ।’
महासचिव विप्लव सी ले नेपालमा विदेशी सेनाहरु प्रत्यक्ष आउने अवस्थामा पुगेको, साम्राज्यवादी देशका सेनाको ठूलाठूला हवाइजहाज काठमाडाैँमा आउने र तीनले ल्याएका सामानहरु विना चेकजाँच गाडीमा राखेर लगिने गरेको ठोकुवा गर्दै । साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन लागेको बताए ।
महासचिव विप्लव सी ले अमेरिकाले रातारात ठूला ठूला सैनिक जहाज ल्याउने र ती जहाजहरुमा के सामान ल्याइराखेको छ भन्ने नेपाली जनतालाई सूचना नहुनुका साथै हवाइ अड्डाका कर्मचारीहरुलाई ती सामान जाँच गर्ने अधिकार पनि नभएको बताए । उनले पछिल्लो समय समाजवादी मोर्चा र पार्टीको विषयमा केही मान्छे, संगठनहरुले भ्रम छर्ने गरेको कारण पार्टीका नेताकार्यकर्ता तथा शुभचिन्तकहरुमा थोरै अन्योलता आउँने गरेको उल्लेख गर्दै यसमा अत्तालिनुपर्ने कुनै कारण नभएको बताए । उनले सुखानीका सहिदहरुको सम्झना गर्दै बलिदानपूर्ण इतिहासको समिक्षा समय परिस्थिति अनुसार हुने र सहिदहरुको त्याग तपस्या र बलिदानकै कारण आज देशमा गणतन्त्र स्थापना भएको बताए ।

महासचिव विप्लव सी ले मुलुकको राज्यसत्ता देख्नलाई माओवादीको हातमा देखिएपनि यहाँका राजनीतिक दलको हातमा नभएर यो सत्ता मुठ्ठीभर दलालहरुको हातमा गएको भन्दै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता संवेदनशील र जनताको नैसर्गिक अधिकार समेत खोसिएको बताए।
उनले हिजो माओवादीहरुमा केहि मन नमिलेर अलग अलग भएपनि अब एक हुने बेला आएको र मुलुकलाई जोगाउन साझा धारणाका साथ समाजवादी मोर्चा गठन भएको उल्लेख गर्दै भने – ‘समाजवादी मोर्चा गठन भएपछि केहि मानिसहरु तिल्मिलाउन थाले ।’
महासचिव विप्लव सी ले इतिहासको समिक्षा जनताले गर्ने बताउँदै माओवादीका नेताहरू र १० वर्षे जनयुद्धलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए दोस्रो भयानक जनयुद्ध गर्ने चेतावनीसमेत दिए । उनले भने- ‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूबाट अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबै दलालहरुलाई बढारेर लैजान्छ’, उनले भने, ‘जनयुद्ध मरेको छैन र मर्दैन, जनयुद्ध हरेकको मनमा छ । आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो ? ‘
महासचिव विप्लव सी ले नेपालीहरुको अवस्था हैन व्यवस्था परिवर्तन हुनु पर्ने बताउँदै अहिले केही नयाँ स्वरुपमा व्यवस्था ठिक छ अवस्था परिवर्तन गर्ने भन्दै जनतामा भ्रम छर्न आएकाले त्यो सत्य नभएको बताए । उनले रास्वपा र राप्रपालाई इंगित गर्दे भने ,- ” कोहि पुरानै व्यवस्था ठिक भनेर जनता भ्रमित पार्ने कोहि व्यवस्था ठिक छ अवस्था परिवर्तन गरौँ भन्ने यो सरासर झुठो कुरा हो जनताले अस्विकार गरेर फालिसकेको ब्यवस्थाले निकास दिँदैन बरु नेपाली विशेषताको समाजवाद ल्याउन जरुरी छ।”

प्रतिक्रियाहरु

[anycomment]