नेकपा र जसपा वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर समाधान खोज्न सहमत
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर समाधान खोज्ने सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज अपरान्ह भएको भेटवार्तामा सो सहमती भएको बताइएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवास हात्तिवनमा भएको सो भेटवार्तामा बिगतको जनसंघर्षका उपलब्धिका बिरुद्ध देशि बिदेशि षड्यन्त्र बढेर गएको , भ्रष्टाचार , कमिशन , कालोधन्दा र महंगीले अर्थतन्त्र धराशायी भै राखेको र राजनीतिक भ्रष्टीकरण र अराजकता बढ्दै गइ रहेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा संसदीय राजनीतिले जनविश्वास गुमाउदै गएको , भ्रष्टाचारी , कमिशनखोर ,चर्कोब्याजी र मुठ्ठीभर तत्वहरुको चंगुलमा अर्थतन्त्र परेको बिषयमा समेत छलफल भएको बताइएको छ । यसैगरी, दुई नेताबीच देशमा दलाल, प्रतिगामी र धार्मिक बितण्डा मच्याउने खेल सुरु भएको , बिदेशी शक्तिहरुको चलखेल अत्यधिक बढेको र बैदेशिक शक्ति र निगम पुँजीपतिहरुले सुनको अबैध ब्यापार गरी नेपाललाई त्यसको शिकार बनाएको र अन्तर्राष्ट्रियरुपमा बदनाम बनाएको बिषयमा समेत छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा सरकारको कामको जनपक्षीयताका बिषयमा छलफल हुनुका साथै नयाँ कार्यक्रम र योजना बनाएर देश र जनताबिरुद्ध भै रहेका षड्यन्त्र चिर्न समाजवादी मोर्चा र सरकारी गठबन्धनको बैठक तत्काल बस्नु पर्ने निष्कर्ष निकालिएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशको समग्र समस्याको समाधान नयाँ राजनीतिक कोर्ष बनाएर खोज्नुपर्ने र त्यसका निम्ति दुई पार्टीबीच वार्ता र सम्बाद जारी राख्ने सहमतिसमेत भएको बताइएको छ ।