‘समाजवादी मोर्चा’ समाजवाद प्राप्तिको हतियार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले समाजवादी मोर्चा समाजवाद प्राप्तिको हतियार भएको खुलासा गरेका छन् । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागको मुखपत्र ‘छात्रा आवाज’ लाई दिएको अन्तर्वार्तामार्फत् उनले सो खुलासा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीपति वर्गको संसदीय राज्य व्यवस्थाले देश र नेपाली जनताको जीवनमा पैदा गरेका आतंककारी समस्याको समाधान गर्न देशलाई अब नेपाली विशेषताको समाजवादी व्यवस्थामा लिनुको विकल्प छैन भन्ने निष्कर्षसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चा बनेको हो र यो क्रियाशील भएको बताउँदै यो मोर्चा साम्राज्यवाद र दलाल पुँजीवाद विरोधी मोर्चा भएको बताएका छन् । उनले मोर्चाको अवस्था प्रारम्भिक भएको उल्लेख गर्दै राष्ट्रिय मुक्ति र जनमुक्तिका पक्षधर कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा वामपन्थीहरु, प्रगतिशील लोकतन्त्रवादीहरु र देशभक्तहरु सबैलाई समाजवादी मोर्चामा आवद्ध गराएपछि मात्र यो मोर्चा पूर्ण हुने र नेपाल कम्युनिस्ट पार्टी यसैको प्रयासमा निरन्तर लागिरहेको बताएका छन् । उनले समाजवादी मोर्चाले पूर्ण आकार ग्रहण गरेपछि र देश एवम् जनताको मुद्दामा जनसंघर्षको आँधी सृष्टि गरेपछि मात्र समाजवादी मोर्चा व्यवहारतः नेपाली विशेषताको समाजवाद प्राप्तिको हतियार बन्ने र समाजवाद स्थापनाको सुनिश्चित हुने बताएका छन् ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीपति वर्ग र त्यसको दलाल संसदीय व्यवस्थाले नेपाली सत्ता राजनीतिको इतिहासमा पहिलो पटक देश र नेपाली जनतालाई चरम् संकटको डरलाग्दो भुमरीमा पु¥याएपछि यसबाट देशलाई निकाल्ने अहम् जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको बताउँदै नेकपाको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्ति दलाल पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाले पैदा गरेको संकटको क्रान्तिकारी समाधानको विकल्प नेपाली श्रमिक जनता र देशको प्रतिनिधित्व गर्ने श्रमिक वर्गीय राज्यसत्ता, वैज्ञानिक समाजवादी शासन व्यवस्था र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व भएको ‘नयाँ राजनैतिक मार्गचित्र’ अगाडि सारेर राष्ट्रिय रुपमा चौतर्फी एवम् घनिभूत पहल गरिराखेको बताएका छन् । उनले नेपाली राष्ट्रियता माथि साम्राज्यवादी हस्तक्षेपका विरुद्ध जनसंघर्ष, साम्राज्यवाद र दलाल पुँजीवादको विरुद्ध समाजवादी मोर्चाको निर्माण एवम् अभ्यास, आर्थिक परिचालन एवम् देशव्यापी उत्पादन अभियान सञ्चालन, जनसेवा, सी संस्कृतिको अभ्यास र अन्तर्राष्ट्रिय मोर्चाका कामलगायत यसका प्रमुख मोर्चा भएको बताउँदै यसको मुख्य उद्देश्य भनेको विद्यमान दलाल पुँजीवादी राज्य व्यवस्थाको अन्त्य गर्ने र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने रहेको बताएका छन् ।
उक्त अन्तर्वार्तामा प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति आमनेपाली श्रमिक महिलाहरुको क्रान्ति भएको बताउँदै भनेका छन्– ‘हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्ति आमनेपाली श्रमिक महिलाहरुको क्रान्ति पनि हो । जुन दलाल पुँजीवादको वर्गीय शोषण र पुरुषप्रधान समाजको लैङ्गिक उत्पीडनको दोहोरो मारमा परेका छन् । महिला मुक्तिको आकांक्षा, पार्टी र एकीकृत जनक्रान्तिप्रतिको अगाध विश्वास, ऐतिहासिक जिम्मेवारीवोधसहित उल्लेख्य र नमुनाकोरुपमा नेपाली महिलाहरुको सहभागिता एवम् आवद्धता हाम्रो पार्टी र जनक्रान्तिमा छ । सचेतना, भौतिक सामथ्र्य, मुक्तिको चाहना र छात्रा÷युवा जोशका कारण विद्यार्थी आन्दोलन र एकीकृत जनक्रान्तिमा छात्राहरुको सहभागिता र आकर्षण भर्भराउँदो नै छ ।
नेपालका सबै राजनीतिक पार्टीहरुले हरेक क्षेत्रमा महिलाहरुलाई नेतृत्व तहमा ल्याउनुपर्छ भनेर नारा दिँदै आएका छन् तर अझै पनि नेतृत्व तहमा महिलाहरुलाई जिम्मा दिन सकिरहेका छैनन्, नेपाल कम्युनिस्ट पार्टीले उठाउँदै आएको मुद्दा महिला–पुरुष समान हो विभेद, भेदभाव गर्न हुँदैन, सबै तहमा समान जिम्मेवारी हुनुपर्छ भन्दै आइरहेको छ, नेकपा पार्टी र जबसहरुमा लागू गर्नु भएको छ !
नेपाल कम्युनिस्ट पार्टी र हामी कम्युनिस्ट क्रान्तिकारीहरु शोषक वर्ग र वर्तमान साम्राज्यवादी वा विश्व पुँजीवादी राज्य व्यवस्थाले लुटका खातिर कृत्रिम रुपमा पैदा गरेका सबै किसिमका विभेद र असमानताका विरोधी हौँ । हामी विश्व मानव समाज र नेपाली समाजको पुराका पुरा समानता चाहन्छौँ । यसको प्राप्तिका निम्ति वा स्थापनाको निम्ति एकीकृत जनक्रान्ति चलाएका छौँ । नेपाली राजनीतिमा पार्टीहरुको चरित्र कम्युनिस्ट क्रान्तिकारी, यथास्थितिवादी र दलाल पुँजीवादी गरी तीन प्रकृतिको रहेका छ । दलाल संसदवादी र यथास्थितिवादी चरित्रका राजनीतिक पार्टीहरुबाट आममहिला सहभागितासहितको महिला क्रान्ति, महिला उर्जाको वास्तविक पहिचान, संरक्षण र समान अवसर प्रदान सम्भव छैन । किनकि महिला मुक्ति र अधिकारको दुश्मन नै पुँजीपति वर्ग र त्यसको दोहोरो शोषण हो । संशोधनवादी यथास्थितिवाद, साम्राज्यवाद र दलाल पुँजीवादको पछुवा प्रतिनिधि भएकाले त्योबाट पनि सम्भव छैन ।
हाम्रो पार्टीको नेपाली महिला र आन्दोलनप्रतिको दृष्टिकोण श्रमिक वर्गीय छ, ब्यवहार कम्युनिस्ट छ । यसर्थ आमनेपाली महिलाको निम्ति हाम्रो पार्टी राजनीतिक प्रतिनिधि बनेको छ भने एकीकृत जनक्रान्ति मुक्तिको विचार बनेको छ । पार्टी र जनक्रान्तिमा आममहिलाहरुको आस्था, विश्वास र सहभागिता आशालाग्दो छ । पार्टीको स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय समिति, केन्द्रीय प्रतिनिधि समिति, आमपार्टी पंक्ति र जनवर्गीय संगठनमा महिला नेता, कार्यकर्ताको विकास विशेष प्रकृतिको र उदाहरणीय बन्दै गएको छ । हामी अझ बढाउँदै जाने छौँ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले समाजवादी राज्य व्यवस्थामा छात्रा तथा महिलाहरुको अवस्थामा कस्तो परिवर्तन आउँछ भन्ने प्रश्नको जवाफ दिँदै भनेका छन्– ‘समाजवादी राज्यव्यवस्था भनेको श्रमजीविहरुको व्यवस्था हो जहाँ श्रमले शासन गर्छ । श्रमिक वर्गले त्यो शासन व्यवस्था सञ्चालन गर्छ । कम्युनिस्ट पार्टीले त्यसको विचारधारात्मक नेतृत्व गर्छ । जहाँ राष्ट्र र जनता उन्मुक्त हुन्छन् । हस्तक्षेप, अतिक्रमण, शोषण र विभेद सबैलाई खरानी बनाउने राज्यव्यस्था वैज्ञानिक समाजवाद हो । आमनेपाली महिला पूर्ण स्वतन्त्रता र अधिकारसहित समाजवादी राज्यव्यवस्थाका सञ्चालक हुन्छन् । समाजवादी व्यवस्थामा नेपाली महिलाहरुले शुरुमा विशेष अधिकारको प्रयोग गर्नेछन् । असमानता, निर्मूल पारिसेकपछि समानताको जीवन अभ्यास गर्नेछन् । जहाँसम्म छात्राको विषय छ । तपाईंले जोड दिन खोजेको शैक्षिक अधिकारको सवाल होला, नेपाली छात्राहरुको निम्ति शिक्षा मौलिक अधिकार हुनेछ । छात्रसरह छात्राहरुले समान शिक्षा र समान अवसर प्राप्त गर्नेछन् । आमविद्यार्थीहरुका निम्ति शिक्षा निःशुल्क हुनेछ । शिक्षा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको दायित्वभित्र आउनेछ ।’