नेकपाद्वारा भुकम्प प्रभावित ३ जिल्लाका १/१ गाउँ पुनर्निर्माण गर्ने उद्घोष

२०८० कार्तिक २८ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भुकम्पले अतिप्रभावित परेका जाजरकोट, रुकुम र सल्यानका १/१ गाउँ पुनर्निर्माण गर्ने उद्घोष गरेको छ। सो पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी भुकम्पले अतिप्रभावित परेका क्षेत्र जाजरकोट, रुकुम र सल्यानका गाउँ बस्तीमा राहत हस्तान्तरण र पार्टीको पुनर्निर्माण अभियानको उद्घाटन गरी सोमबार दाङको तुलसीपुरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो उद्घोष गरेका हुन् ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लव सी ले भुकम्प प्रभावित बस्तीमा भए गरेका समस्या र दैनिकीको बारेमा जानकारी दिदै
भुकम्प पीडितहरुसँगै त्रिपाल मुनी बसेर राहत र पुनर्निर्माणमा लागेको बताए। उनले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ चिउरी बस्तीको गाउँ नै अन्यत्र स्थानान्तरण गर्नु पर्ने बताउदै सोही ठाउँमा भुकम्पमा सिङ्गो परिवार गुमाएकी ९ बर्षीय प्रेमकली लगायत १ दर्जन बेसहारा र कमजोर स्थिति भएका विधार्थीलाई पढाउने जिम्मेवारी लिएको बताए ।
महासचिव विप्लव सी ले सरकारले राहत संकलन मात्रै नगरी जनताका समस्यामा कडाइका साथ राज्यको उपस्थिति हुनुपर्नेमा जोड दिदै तीनवटा जिल्लाका १/१ गाउँ आफ्नो पार्टीले पुनर्निर्माण गर्ने तयारी गरिरहेको बताए ।
उक्त पत्रकार भेटघाट कार्यक्रमकाे सञ्चालन नेकपाका केन्द्रीय सदस्य सविन सीले गरेका थिए ।

यसैगरी, सोही पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका इन्चार्ज प्रदिप सीले महासचिव विप्लव सीलाई भुकम्प पिडितका लागि पार्टीको राहातकोष लागि २१ हजार १ सय रुपैयाँ रकम हस्तान्तरण गरेका थिए । उक्त रकम पार्टीपंक्ति बाट संकलन गरिएको बताइएको छ भने नेकपा पश्चिम दाङले यसअघि नै भुकम्प प्रभावित क्षेत्रमा लाखौं बराबरको भौतिक राहात सामाग्री हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]