‘क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्छौ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्ने अठोट पनि व्यक्त गरेका छन् । कालिकोटस्थित लालुलैफु सडक अन्तरगत काम रोकिएको माल्कोटको चिउरीबाट तेस्रो सडकखण्डको उद्घाटन गर्दै उनले सो अठोट व्यक्त गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले जनताको समस्या समाधान गर्ने लक्ष्य लिएर जनयुद्ध लडेको तर क्रान्ति पुरा नभएकाले जनताका सपना पुरा गर्न नसकिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टी संसदीय बाटोमा नभएकाले जनतामा विकास निमार्णका काममा केही समस्या भएको जस्तो ठानिए पनि जनताको साथमा भ्रष्टाचार रहित विकास निमार्णको पक्षमा रहको बताए । उनले अहिलेको संसदीय व्यवस्था भ्रष्टाचारी,कमिशनखोरी,दलाली गर्ने ब्यवस्था भएकाले यो ब्यबस्थाबाट जनताले अहिल्यै सुख पाउने सम्भावना नभएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले समाजवादी ब्यबस्थामाले मात्र जनताले सोचेको विकास दिने ठोकुवा गर्दै लालुको खोलामा स्थगित भएको सडक माघ १५ गतेसम्म जसरी भएपनि माल्कोट सीगाउँ पुर्याउने प्रतिबद्धता जनाए ।
प्रवक्ता प्रकाण्ड सीले यदि राज्यका कुनैपनि निकायका मानिसहरुले प्रतिबन्धकालमा अबरोध खडा गरेजस्तै सडक अगाडि बढाउन अवरोध खडा गरे नेकपाले उचित जवाफ लिने पनि चेतावनी दिए ।
स्मरणीय छ , यो सडक नेपाल कम्युनिष्ट पार्टीकै नेतृत्व र पहलमा प्रतिवन्धकालमै डिपिआर भएको थियो । प्रवक्ता प्रकाण्ड सी को पहलमा प्रतिवन्धकै समयमा सडक विभागका इन्जिनियरहरुको विशेष टिम खटाएर डिपिआर गरी २०७४ साल फागुन १ गते जनयुद्ध दिवसबाट नेकपाले सडक खन्ने कामको सुरुवात गरेको थियो । लालुलैफु सडकखण्डको खुलालु देखि लालु, माल्कोट र रुप्सा सम्मको सडक खण्डलाई नेकपाकै पहलमा डिपिआर भएको हो । खुलालु देखि माल्कोट सम्म कुल १२ किलोमिटरको दुरी छ भने माल्कोट देखी रुप्सा सम्म १५ किलिमिटरको दुरी गरी २७ किलोमिटरको सडकको दुरी छ ।
नेपाल कम्युनिष्ट पार्टीले प्रतिवन्धकालमै डिपिआर मात्र होइन, खुलालुबाट लालु सम्म डोजर सहित जनशक्ति परिचालन गरेर करोडौ लागत लाग्ने अनुमानको सडकको ट्रयाक खोल्ने सम्मको काम गरेको थियो ।
सरकारको सहयोग विना नेकपाले सडक खन्ने कामको सुरुवात गरेपछि तत्कालिन सरकारले विद्रोहीपक्षले सडक खन्दा चुनौती थपिएको भन्दै काम रोकेको थियो । सोही सडक खण्डको पहिलो खण्ड खुलालु देखि लालु सम्म नेकपाले सरकारको अवरोधका बिच आफै काटेको छ ।
दोस्रो खण्ड लालु देखि माल्कोटको चिउरी मेला सम्म स्थानीय सरकार बाध्यभएर पालिकाको आर्थिक सहयोगमा काटिएको छ ।
यस्तै अहिले माल्कोटको चिउरी मेला देखि माल्कोटको सी गाउँ हुदै रुप्सा सम्मको सडकखण्ड ट्रयाक खोल्न बाँकी छ । यो तेस्रो खण्डको सडकलाई ट्रयाक खोल्ने कामका लागि नेकपाको पहलमा संघीय सरकारबाट १ करोड बजेट छुट्याईएको छ । यो बजेटले जति सम्म पुग्छ त्यति सम्म सडकको ट्«याक खोलिने छ भने वाकी नयाँ बजेटबाट काम अगाडि बढनेछ । सडकको कामलाई सुचारु गर्न नेकपाका प्रवक्ता प्रकाण्ड सीले आफै साबेलले खनेर सडकको कामको उद्घाटन गरेका हुन । यो सडक खन्ने कामको जिम्मा लिएको ठेकेदार कम्पनीले करिव आधा प्रतिशत घटिघटाउ बोलपत्रबाट ठेक्का पाएको छ । जेजस्तो भएपनि सडकको कामले गतिलिने विश्वास गरिएको छ । सडकको काम सुचारु गर्न ठेकेदार कम्पनी समेत तयार अवस्थामा छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी द्धारा सडक उद्घाटनले स्थानीयवासी भने हर्षित भएका छन । सी गाउँमा छिट्टै गाडी पुग्ने सी गाउँवासीले आशा गरेका छन ।