नेकपाद्वारा पक्राउ पूर्जीविरुद्ध देशब्यापीरुपमा जनप्रदर्शन

२०८० मंसिर २१ गते, बिहीबार

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा बिहिबार  देशभर जनप्रदर्शन  गरेको छ ।  यसैक्रममा  नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरो र जवसको संयुक्त आयोजनामा बिहिबार  काठमाडौँमा विशाल जनप्रदर्शन सम्पन्न भएको छ। नेकपा उपत्यका ब्युरोको नेतृत्वमा भएको उक्त  जनप्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्जार्ज शिलु सीले अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक, विध्वंसात्मक निम्त्याउन  प्रकाउ आदेश दिएकाले पार्टीपंक्ति र जनतासहित प्रतिरोधमा उत्रिन परेको बताउदै भनिन् – ‘नेपाल सरकार र नेकपाबिच भएको तिनबुदे राजनीतिक सहमति बिपरित विदेशी प्रतिगामी शक्तिहरुको निर्देशनमा अदालतले २०७६सालको मुद्दा व्यूताएर युद्धको निम्तो दिन खोजेको छ, यसको प्रतिरोध गर्न सिंगो पार्टीपंति र शान्तिप्रेमी जनता तयार छ।’

इन्जार्ज शिलु सीले  आजसम्म नेकपाले उठाएका राष्ट्र, राष्ट्रियता, जनजीविका र वित्तिय ठगीका मुद्धा सतहमा आइसकेकाले पार्टीले आव्हान  मात्र गर्दापनी प्रतिगामी सड्यन्त्र धोस्त हुने भन्दै आगोसँग नाजिस्किन समेत चेतावनी दिइन्।

उक्त प्रदर्शनमा नेकपा उपत्यका ब्युरो, जवसलगायत ब्यापक जनसहभागिता रहेको थियो। ब्युरो इञ्चार्ज कृति सीद्वारा संचालित कोणसभामा नेकपाका स्थायी समिति सदस्य द्वय सी,सिलु र सुशिल सीको विशेष सम्बोधन रहेको रहेको थियो। तिनबुदे राजनीति सहमति सरकार प्रमुखसंग भएपछि त्यो स्वत: कानुनकै एक पार्ट भएर बिद्रोहीहरुको मुद्धा स्वत: हल गर्न अदालतले सहयोग गर्नु पर्नेमा उल्टै क्रान्तिकारी पार्टीसंग जोरि खोज्नुले अदालत, कानुन जनताको पक्षमा नभएको र यो दलालहरुबाट परिचालित छ, प्रतिगामीहरुको गोटी बनेको छ, भन्ने आम नागरिकहरुले बुझिसकेको वक्ताहरुको ठहर थियो।

यसैगरी,  नेपाल कम्युनिष्ट पार्टी  कपिलवस्तुले   तौलिहवा बजारमा विहिवार भब्य जनप्रदर्शन गरेको छ । नेकपाका नेता कार्यकर्ता तथा जनताको सक्रिय सहभागितामा चर्का नारावाजी गर्दै सुरु भएको जनप्रदर्शन बजार परिक्रमण गरी जिल्ला प्रशासन कार्यालय नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई अवधि भाषामा सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पिविएम भेसराज सीले जननेता विप्लवलाई पक्राउ गर्न त्यति सजिलो नभएको बताउदै पक्राउ पूर्जीको आदेश दिने दलालहरुमाथि उल्टै जनअदालतले पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका छन । उनले रगतको भेलबाट जन्मिएको जनताको क्रान्तिकारी नेतालाई पक्राउ गर्ने सपना दलालहरुलाई नदेख्न चुनौती दिदै परिवर्तनका विरोधी सबै दलालहलाई जनअदालतले बारेन्ट जारी गर्ने बताए । उनले देशी विदेशी दलालहरुको षड्यन्त्रका विरुद्ध नेपाली जनता एकभएर प्रतिरोध गर्न अपिल गरे ।

नेता भेसराजले तीन बुँदे सहमतिको यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै एक दुई जना अदालतका दलालहरुले नेकपाका नेतामाथि पक्राउ गर्न आदेश दिदैमा परिवर्तनको यात्रा नरोकिने बताए । उनले तीन बुँदे सहमति कार्यान्वयन सहित अदालतको आदेश खारेज नभए सम्म नेकपाले कडा प्रतिरोध आन्दोलन गर्ने चेतावनी दिए । उनले देशलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउने उद्देश्य सहित सङ्घर्ष गरिरहेको पार्टीका नेताहरु माथि पक्राऊ पूर्जी काटेर नजिस्काउन चुनौती दिए ।

कोणसभामा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी, पूर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सी, जिल्ला सचिव मंगल सी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कोणसभालाई नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा केन्द्रीय सामना परिवारका संयोजक आरोह सीले संचालन गरेका थिए ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा जनप्रदर्शन गरेको छ । तुलसीपुरको बसपार्कबाट सुरु भएको जनप्रदर्शन र्याली विपि चोक पुगेर सभामा परिणत भएको थियो । बिरोध सभालाई  सम्बोधन गर्दै पार्टीका पश्चिम दाङ जिल्ला सचिवालय सदस्य एवम तुलसीपुर नगर इन्चार्ज भुवन सीले देशीबिदेशी प्रतिक्रियावादी तत्वको षड्यन्त्रमा पक्राउ पुर्जी जारी गरिएको बताए ।

उनले भने-  “ नेकपा र सरकारबिच भएको तीन बुदे सहमतीलाई लत्याउदै अहिले जारी गरिएको पक्राउ पुर्जी देशीविदेशी प्रतिक्रियावादी तत्वको गम्भीर षड्यन्त्र हो । तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुदे सहमती कानुनको अंग हो वा बनाइनुपर्छ तर शान्तिपुर्ण ढंगले राजनीतिक कार्यक्रम गरिरहेको पार्टी र त्यसका नेताकार्यकर्ता विरुद्ध अदालतले पुर्जी जारी गर्नु भनेको मुलुकलाई अस्थिरतातिर डोर्‍याउनु हो ।”

नेता भुवनले राज्यलाइ अर्बौं राजस्व नतिरी ब्रम्हलुट मच्चाइरहेको एनसेल र राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध संघर्ष गरिरहेकाले बिदेशी दलालहरुको योजनामा नेपालका दलाल सत्ताका मतियारहरुले पार्टीका महासचिव , प्रवक्ता लगाएतका नेतालाइ पक्राउ पुर्जी जारी गरेको ठोकुवा गरेका थिए ।

नेता भुवनले राज्यले पक्राउ पुर्जी खारेज नगरे पार्टीले आन्दोलनको आगो बाल्ने चेतावनी समेत दिए ।

बिरोध सभामा बोल्दै गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका इन्चार्ज रुद्र सीले पार्टीका शिर्ष नेतृत्व विरुद्ध जारी गरिएको पक्राउ पुर्जी समाजवादी आन्दोलन रोक्ने प्रतिगामी षडयन्त्र भएको जिकिर गरे । मुलुक समाजवादी आन्दोलनमा केन्द्रित भइरहेको बताउदै उनले भने-  “ संसदीय व्यवस्थाबाट मुलुकमा स्थिरता , शान्ति , समृद्धि सम्भव छैन भन्ने निष्कर्ष सहित नेकपा सहित अन्य पार्टीबिच समाजवादी मोर्चा बनेको छ । यो मोर्चाले प्रतिगामीहरुको सातो खाएको छ । अहिले विप्लव , प्रकाण्ड विरुद्ध जारी गरिएको पुर्जी समाजवादी क्रान्ती रोक्ने र मुलुकलाई अस्थिरतातिर लैजाने षड्यन्त्र सहित आएको छ ।”

नेता रुद्रले नेकपाका नेतृत्व विरुद्ध जारी गरिएको पुर्जी तत्काल खारेज नगरे मुलुक गम्भीर संकटमा फस्ने चिन्ता व्यक्त गरेका थिए । बिरोध सभामा बोल्दै युवा संगठन नेपालकि राप्ती ब्युरो इन्चार्ज जिवनी सीले पक्राउ पुर्जीको खोस्टो देखाएर क्रान्तिकारीलाई नजिस्काउन चेतावनी दिइन । नेतृ जिवनीले जनयुद्ध लडेर आएका नेताकार्यकर्तालाई पक्राउ पुर्जीले तर्साउने कुरा हास्यास्पद भएको समेत बताइन् । आवश्यकता आफुहरु अहिलेपनि मुलुकको स्वाधीनता र जनताको अधिकारका लागि जनमुक्ति सेना बन्न तयार रहेको उनको उद्घोष थियो ।

बिरोधसभाको सञ्चालन नेकपाका बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीले गरेका थिए ।

यसैगरी  नेपाल कम्युनिष्ट पार्टी बाँकेले काठमाडौं जिल्ला अदालतले नेकपाका नेतामाथि गरेको पक्राउ पूर्जी आदेश विरुद्ध नेपालगंजमा विहिवार जनप्रदर्शन गरेको छ । नेकपाका नेता,कार्यकर्ता र जनता सहभागी भएको जनप्रदर्शन विपीचोकबाट सुरु भएर धम्बोजी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जनप्रदर्शनमा अदालतको पक्राउ पूर्जी आदेश खारेज गर,तीन बुँदे सहमति कार्यान्वयन गर,दलाल संसदीय व्यवस्था मुर्दाबाद,एकीकृत जनक्रान्ति जिन्दाबाद जस्ता गगनभेदी नाराहरु लगाईएका थिए ।

जनप्रदर्शन पछिको कोणमा नेकपाका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीले सम्बोधन गर्दै देशी विदेशी प्रतिगामी तत्वहरुको षड्यन्त्रमा नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेतामाथि अदालतले पक्राउ पूर्जीको आदेश दिएको खुलासा गरे ।

उनले जनताको बिचमा देशभर नेकपाको नेतृत्व लोकप्रिय हुदै गएपछि प्रतिगामी शक्तिहरुले नेकपाका नेतामाथि तर्साउन हमला गरेको बताए ।

नेता संगमले दलाल व्यवस्था भएकै कारण सरकारले तीन बुँदे सहमति गरेको भए पनि अदालतले अटेरी गरेको बताए ।

उनले क्रान्तिकारी र परिवर्तनशील पार्टी र नेतामाथि पक्राउ पूर्जी जारी गर्ने न्यायाधीसका विरुद्ध सिंगो जनताले प्रतिरोध गर्नुपर्ने बताए ।

नेता संगमले सरकार र उसको अंग अदालतलाई तीन बुँदे सहमति कानूनको अंग मानेर कार्यान्वयन गर्न आग्रह गरे । उनले सहमति कार्यान्वयन नगरिए नेकपाले जस्तो सुकै कदम उठाउन बाध्य हुने र त्यसको जिम्मेवार राज्य हुनुपर्ने चेतावनी दिए ।

कोणसभामा नेकपाका केन्द्रीय सदस्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले प्रतिगामीहरुको षड्यन्त्र परास्त पार्न जनता एक हुनुपर्ने बताए ।

अर्का नेकपाका केन्द्रीय सदस्य नारायण सीले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तालिएर पक्राउ पूर्जी जारी गरेको बताए । कोणसभाको संचालन नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सीले गरेका थिए ।

यसैगरी,   नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा अदालतले पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत नेकपा मेची ब्युरोले झापा , इलाम र पाँचथरमा विरोध प्रदर्शन गरेको छ।

घोषित आन्दोलनको तालिका अनुसार बिहीबार देशैभर पार्टी जवस र जनताको उपस्थितिमा झापा लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको हो । मेची ब्युरो अन्तर्गत झापाको विर्तामोड इलामको इलाम बजार र पाँचथर सदरमुकाममा विरोध सहितको जनप्रदर्शन सम्पन्न गरेको छ । नेकपाले पार्टी केन्द्रले घोषणा गरेकाे तीन दिने संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार साँझ मशाल जुलुस प्रदर्शन र हिजो न्यायधीसको पुतला दहन कार्यक्रम सम्पन्न गरेको थियो ।

विर्तामोडमा भएको प्रदर्शन तथा कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा मेची व्युरो इन्चार्ज सुमनसिंहले सम्बोधन गरेका थिएभने इलामको सभालाई पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी र जिल्ला इन्चार्ज मौसमले सम्बोधन गरेका थिए। त्यस्तै पाँचथरको कार्यक्रमलाई जिल्ला इन्चार्ज सन्तोष सीले सम्बोधन गरेका थिए।

विर्तामोडमा भएको सभालाई सम्बोधन गर्दै नेता सिंहले अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक ढंगले पक्राउ पुर्जी जारी गर्नुमा देशीविदेशी शक्ति लागि परेको आरोप लगाउँदै हिम्मत भए मुखुण्डो उतारेर अगाडि आउन चेतावनी दिए। उनले हिजो यो देशमा राष्ट्रघात जनघात लगायत विभिन्न बेथितिहरुका विरुद्ध बलिदानिपुर्ण संघर्ष गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको स्मरण गराउँदै कसैले नेपाल कम्युनिस्ट पार्टी र उसका नेताकार्यकर्ता माथि षड्यन्त्रको जाल फाँक्ने चेष्टा नगर्न चेतावनी दिएका छन्,। उनले हिजो जनताका हरेक समस्या सँगै पार्टी रहेको र बैंक तथा वित्तीय संस्थाले गरेकोे गैह्रकानुनी हर्कतका विरुद्ध लड्ने पार्टी समेत नेपाल कम्युनिस्ट पार्टी भएको भन्दै देश र जनताको हकहितका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिए।

यता,  इलाममा भएको सभालाई सम्बोधन गर्दै नेताद्वय होम सी र मौसम सीले नेपाल सरकार र नेकपाबिच भएको ३ बुँदे राजनीतिक सहमति विपरित विदेशी प्रतिगामी शक्तिहरुको निर्देशनमा अदालतले २०७६ सालको मुद्दा व्यूताएर युद्धको निम्तो दिन खोजेको भन्दै  प्रतिरोध गर्न सिंगो पार्टीपंक्ति तयार रहेको चेतावनी दिए। उनिहरुले आजसम्म नेकपाले उठाएका राष्ट्र, राष्ट्रियता, जनजीविका र वित्तिय ठगीका मुद्धा सतहमा आइसकेकाले पार्टीले आव्हान मात्र गर्दापनि प्रतिगामी षड्यन्त्र ध्वस्त हुने भन्दै संघर्षरत पार्टीसँग निहुँ नखोज्न चेतावनी दिए।

यता पाँचथरको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सन्तोष सीले सरकारले तीन बुँदे राजनीतिक सहमतिको उल्लंघन गर्दै पक्राउ पुर्जी जारी गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए। सरकारले गरेको निर्णय केटाकेटी  खेलेको खेल जस्तो नभएर यसलाई गम्भीर ढंगले छलफल गरेर समस्या समाधान गर्न र नेपाल कम्युनिस्ट पार्टी सँग निहुँ खोज्ने काम नगर्न चेतावनी दिए।

 विरोध प्रदर्शन कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश र अदालतका विरुद्ध चर्को नाराबाजी गरेका थिए।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी पूर्बी उदयपुरले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आदेश विरुद्ध विहिवार जनप्रदर्शन गरेको छ । जिल्लाको बिपीचोकबाट सुरु भएको जनप्रदर्शन पिपल चोक हुदै मुख्यबजार चोकमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेकपाका नेता कार्यकर्ता र जनताको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, झुट्टा मुद्धा खारेज गर,तीन बुँदे सहमति कार्यान्वयन गर,काठमाडौ जिल्ला अदालतले गरेको कथित पक्राउ पूर्जी खारेज गर,एकीकृत जनक्रान्ति जिन्दावाद,प्रतिगामी षड्यन्त्र बन्द गर जस्ता चर्का नाराबाजी गरेका थिए ।

कोणसभालाई नेकपाका जिल्ला ईन्चार्ज अमृत सीले सम्बोधन गर्दै जनताको जनप्रिय नेतामाथि पक्राउ पूर्जी जारी गर्नु अमेरिकी र भारतीय साम्राज्यवादीहरुको षड्यन्त्र भएको बताए । उनले देशलाई गृह युद्धमा धकेल्न खोजेको आरोप लगादै आगोको झिल्कालाई नजिस्काउन चेतावनी दिए ।

नेता अमृतले तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै नेकपाका नेताहरुलाई पक्राउ पूर्जी जारी गर्ने अदालतका न्यायाधीसहरुको पनि घरघरमा जनताको अदालत मार्फत पक्राउ पुर्जी जारी गर्ने उद्घोष गरे । उनले दलाल संसदीय व्यवस्थाका भ्रष्टाचारीहरु,परिवर्तन विरोधी शक्तिहरुलाई नेकपाले माफी नदिने पनि बताए ।

यसैगरी ,  नेपाल कम्युनिष्ट पार्टी बर्दियाले राजापुर र बाँसगढीमा  जनप्रदर्शन गरेको छ । जनप्रदर्शनमा सहभागीहरुले झुट्टा मुद्धा खारेज गर,तीन बुँदे सहमति कार्यान्वयन गर,एकीकृत जनक्रान्ति जिन्दावाद,प्रतिगामी षड्यन्त्र बन्द गर जस्ता चर्का नारा लगाएका थिए । जिल्लाको बाँसगढीमा भएको जनप्रदर्शन पछिको कोणसभालाई नेकपाका केन्द्रीय सदस्य तथा बर्र्दिया जिल्ला इन्चार्ज हिमशिखरले सम्बोधन गर्दै जनताको जनप्रिय नेता माथि पक्राउ पूर्जी जारी गर्नु साम्राज्यवादी षड्यन्त्र भएको बताए । उनले तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार र अदालतका न्यायाधीसहरुलाई आग्रह गरे ।

नेता हिमशिखरले क्रान्तिकारी पार्टी र नेता माथि यस्ता प्रतिगामी षड्यन्य भईरहे नेकपा हातमा दहि जमाएर नबस्ने चेतावनी दिए ।

पूर्वी बर्दिया जिल्ला सेक्रेरी टिकाराम सीले दलाल व्यवस्थाको षड्यन्त्रले क्रान्तिकारी पार्टी र नेता माथि हमला भएको जिकिर गरे ।

उता राजापुरमा भएको जनप्रदर्शना पश्चिम बर्दिया जिल्ला सेक्रेटरी राम सीले कोणसभालाई सम्वोधन गर्दै झुट्टा मुद्धा खारेज गरिनुपर्ने बताए । उनले सरकारको निर्णय कार्यान्वयन नगर्ने न्यायधीसलाई बर्खास्त गर्नु पर्ने बताए ।

यसैगरी,   नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरको हेटौडामा विहिबार जनप्रदर्शन गरेको छ । नेकपाका नेता,कार्यकर्ता र जनता सहभागी जनप्रदर्शन हेटौडा बजारको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज एटम सीले अदालतले जारी गरेको पक्राऊ पूर्जी बेमौसमको बाजा भएको बताएका छन । उनले तीनवर्ष अघि नेकपा र नेपाल सरकार बिच झुट्टा मुद्धा फिर्ता लिने,जेलम रहेका नेता कार्यकर्ता रिहा गर्ने लगायतका तीन बुँदे सहमति भईसकेको भन्दै अहिले अदालतले नेकपाका नेताहरुमाथि पक्राऊ पूर्जी जारी गर्नु बेमौसमको बाजा भएको प्रष्ट्याए ।

नेता एटमले तीनबुँदे सहमतिको ठाडो उलंघनप्रति नेकपाको गम्भीर आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

उनले देशलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउने उद्देश्य सहित सङ्घर्ष गरिरहेको पार्टीका नेताहरु माथि पक्राऊ पूर्जी काटेर नजिस्काउन चुनौती दिए ।

कोण सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सीले न्यायाधीश कमल प्रसाद ज्ञवाली नसच्चिए आफूहरुले सडकमा घिसारेर ल्याउने चेतावनी दिए । उनले आफूहरुलाई सडकमा आउन कुनै रहर नभएर बाध्यता भएको भन्दै तीन बुँदे सहमति कार्यान्वयन भएन भने आफूहरु कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिए ।

अर्का वक्ता अखिल (क्रान्तिकारी) नारायणि ब्यूरो इन्चार्ज तारा सीले आफ्नो नेताहरुलाई छोएर देखाउन चुनौती दिईन । उनले अदालतका पक्राऊ पूर्जी रद्दीको टोकरीमा फाल्ने पनि चेतावनी दिईन ।

यसैगरी,   नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले नेकपाका  नेताहरुमाथि जारी भएको पक्राउ पुर्जी खारेज नभए भिषण प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीद्धारा बिहीबार   महेन्द्रनगरमा आयोजित एक विरोध प्रदर्शन कार्यक्रममा नेकपा नेताहरुले सो चेतावनी दिएका हुन् ।

नेकपा केन्द्रीय सदस्य रहेका विराट सीले राष्ट्रको अग्रगामी निकासको नेतृत्व गर्दै आएको पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायत नेताहरुमाथि गैरन्यायिक तरिकाले अदालतले पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताए । उनले राज्यसँग ३ बुँदे सहमति भएर टुंगिएको विषयलाई अहिले आएर आपराधिक मुद्दाको रूपमा अगाडि ल्याउने कार्य नेकपालाई सह्य नहुने र पुर्जी तत्काल खारेज हुनु पर्ने जिकिर गरे ।

त्यसैगरी नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सीले अस्वाभाविक तरिकाले राज्यले हाम्रा नेताहरुमाथि पक्राउ पुर्जी जारी गर्नु देशलाई अशान्तितिर लैजानु भएको बताए । साथै अदालतले यो निर्णय नसच्याए सशक्त प्रतिरोध हुने उनको भनाई छ । केही दिन अगाडि काठमाण्डौं जिल्ला अदालतले विप्लव सी लगायतका नेताहरुको नाममा पक्राउ पुर्जीको सूचना गोरखापत्रमा प्रकाशित गरेको थियो । त्यस पश्चात नेकपा आन्दोलित बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु