वर्तमान राजनीतिक समस्या समाधानका लागि जनमत संग्रह अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल ‘सि’ ले वर्तमान राजनीतिक समस्याको समाधानका लागि जनमत संग्रह अनिबार्य भएको बताएका छन । संवाद समुह, झापाद्वारा बिहिबार आयोजित ‘देशको वर्तमान अवस्था र आगामि निकास’ बिषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सी ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने भन्दै सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । उनले पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न चेतावनी दिदै समस्या समाधानका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिए । उनले भने – ‘दमन गरेर हुन्न, जनमत संग्रहबाट फैसला गरौं। जनमतको सवैले कदर गर्नुको विकल्प छैन ।’
नेता अनिल सी ले संघीयता मात्र समाधान नभएको भन्दै समाजवादी संघीयताको आवश्यकता औल्याउदै भने- ‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ।त्यसैले नेपाली बिशेषताको वैज्ञानिक समाजवादको विकल्प छैन ।’
उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मेची इञ्चार्ज सुमन सी ले कोशी प्रदेशमा शान्ति खल्वल्याउन विभिन्न प्रयत्न भइरहेको बताए । उनले पहिचानको आन्दोलन दवाउने प्रयास, धर्मका नाममा उठेका बिषय, राजतन्त्र पक्षधरको गतिविधि, एमसीसीको प्रभावले प्रदेशलाई अशान्त बनाउने प्रयास भएको बताउदै चीनलाई दवावमा राख्ने रणनीतिमा अमेरिका, भारतलगायतका राष्ट्र अघि वढेको दावी गरे ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त, पाँचथर इञ्चार्ज सन्तोष, बिनोद, भरत, सौगात, डा. डिल्लीराज रिजाल लगायतका नेताको सहभागिता थियो । मुलुकको वर्तमान परिस्थिति र निकासको बाटो बिषयमा भएको छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।