‘साम्राज्यवादले अदालतमार्फत नेकपामाथि हमला गर्यो’

२०८० पुष १० गते, मंगलवार



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले अदालतमार्फत नेकपामाथि गरेको हमला गरेको ठोकुवा गरेका छन् । मंगलबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको ‘पार्टी संगठन सुदृढ तथा राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान उद्घाटन कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै गर्दै उनले सो ठोकुवा गरेका हुन्।


प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता देखेर अदालतमार्फत हमला भएको बताए । उनले नेपालमा साम्राज्यवादलाई नेपाल कम्युनिस्ट पार्टीले मात्र चुनौति दिइरहेको भन्दै त्यसैकारण साम्राज्यवादले विभिन्न मोर्चामार्फत नेकपामाथि हमला गरिरहेको बताए । उनले भने – ‘हाम्रो पार्टी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र शसक्त पार्टी हो । एमसीसीविरुद्ध गरेका संघर्षहरुले जनतामा पनि त्यो परेको छ । नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता जनताबाट कट गराउन, कार्यकर्ताको मनोवल घटाउन साम्राज्यवादले अदालतमार्फत गरेको हमला हो ।’
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी कमजोर भएर हमला गरेको नभई पार्टीलाई कमजोर पार्न अदालतको प्रयोग गरेको ठोकुवा गर्दै भने – ‘हामीलाई थाहा छ, साम्राज्यवाद नेकपाको लोकप्रियताबाट आत्तिएको छ । पार्टीले गरेको जनपक्षिय काम, उत्पादन र संघर्षबाट उनीहरुमा छटपटी भएको छ । राष्ट्रिय राजनीतिमा पार्टीको दवदवा छ । जनतामा आक्रषण बढेको छ । नेपालमा रहेका उनीहरुका दलालहरुले पनि राम्रोसँग काम गर्न सकेका छैनन् । एमसीसी कार्यान्वयन हुन सकेको छैन । त्यही भएर न्यायाधीशलाई प्रयोग गरे । यसलाई पार्टीले स्वविवेकिय र स्वविचारित ढंगबाट प्रतिकार गर्छ ।’


उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृती सीले पछिल्लो समय नेपालमा साम्राज्यवाद कमजोर हुँदै गएकाले जनताबिरुद्ध सड्यन्त्र गर्न सुरु गरेको बताउदै त्यसैको उपज जनताको मुद्धा उठाइरहेको नेकपामाथि पक्राउ पुर्जी जारी गर्न अदालतलाई निर्देशन गरेकोठोकुवा गरे । उनले साम्राज्यवाद, प्रतिक्रियावाद सबैको सड्यन्त्रको केन्द्र उपत्यका भएकाले साम्राज्यवादको सड्यन्त्रको भण्डाफोर गर्न र साम्राज्यवादको दलाल चरित्र जनतामाझ उदाङ्गो पार्न अभियान सुरु गरिएको बताउदै नेकपाको बढ्दो लोकप्रियताबाट अतालिएर साम्राज्यवादले अदालत मार्फत हामीमाथि सड्यन्त्र गरेको समेत ठोकुवा गरे ।
उनले दलाल संसदीय व्यवस्थाको अन्त्यगरि नेपाली विशेषताको समाजवाद स्थापना गर्न जनताले नेकपालाई विकल्पको रुपमा मानेकाले आफ्नो पार्टीले जनताको आशा मर्न नदिने ठोकुवा गर्दै भने-‘समाजवादी सत्ता स्थापनाको लागि हरेक अस्त्र प्रयोग गरिन्छ, त्यो चाहे शान्तिपूर्ण होस् या प्रतिरोध संघर्षबाट होस्। अहिले नयाँ उदाएकाहरुले व्यवस्था ठिक छ अबस्था मात्र परिवर्तन गरे पुग्छ भन्दै जनतालाई बेवकुफ बनाएका छन। व्यवस्था ठीक छैन। यसलाई परिबर्तन गर्न हामीले संघर्ष गरिरहेका छौं ।’
उनले अगाडी भने- ‘अहिले नेपाली जनताको वर्तमान ब्यबस्था प्रतिको वितिष्णाको फाइदा उठाएर क्षणिक आकर्षणमा पारे पनि कालान्तरमा त्यो पानीको फोका साबित हुन्छ, अहिलेको संकटको समाधान भएको नेपाली विशेषताको समाजवाद हो । त्यो नेकपाको नेतृत्वमा मात्र सम्भव छ ।’
उक्त कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य भृकुटी सीले गरेकी थिइन् भने स्वागत मन्तव्य केन्द्रिय सदस्य विपिन सी ले राखेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथी प्रकाण्ड सी रहेका थिए भने अतिथीहरुमा पोलिट ब्युरो सदस्य माइला सी, आस्था सी, केन्द्रीय सदस्य बिहानी सी, संजिव सी लगायत बिभिन्न जनवर्गीय संगठनका नेताहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी प्रकाण्ड सीद्वारा उपत्यका अन्तर्गतका बिभिन्न जिल्ला इन्चार्ज तथा सेक्रेटरिहरुलाई अभियानको झण्डा प्रधान गरिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु