देशको स्वाधिनता र जनतालाई अधिकार सम्पन्न बनाउन समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले देशको स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन। नेकपा इलामले बुधबार आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र यसको निकास नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुशील सीले सो ठोकुवा गरेका हुन्।
उनले देशमा गंभिर संकट पैदा भएको, साम्राज्यवाद हस्तक्षेपमा आएको यो अवस्थामा देशको स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउन नेपाली विशेषताको समाजवादमा जानु पर्ने बताउदै यसको निम्ति नेपालका कम्युनिष्ट, वामपन्थी, प्रगतिशील वर्ग, मध्यमवर्ग, देशभक्त सबैलाई एकजुट गराएर दलाल पूँजिवाद विरुद्ध लड्न पार्टी अघि बढेको बताए ।
उनले पूर्वका पहिचानवादीले पहिला समाजवादी सत्ता स्थापनाको निम्ति संघर्ष गर्नु पर्ने बताए । उनले समाजवादले मात्र पहिचानलाई सुनिश्चित गर्ने उल्लेख गर्दै पूर्वको पहिचानको आन्दोलनमा पश्चिमाहरु खेल्न सक्ने खतरातर्फ सचेत गराउँदै, वास्तविक पहिचानको लागि आफ्नो पार्टी लड्ने बताए ।
यसैगरी, उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेकपा पूर्व क्षेत्रको पहिचान आन्दोलनको पक्षमा रहेको बताएका छन् । उक्त अन्तरकृया कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै नेता सुमनसिंहले १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि आन्दोलन भैरहेको पूर्वमा अमेरिकन साम्राज्यवादीहरु खेल्न सक्ने संभावनाप्रति सचेत हुन बताए । उनले पुजिवादले कहिलै पनि पहिचानलाई सुनिश्चित नगर्ने, बरु पहिचानको मुद्धामा खेलेर जातिजातिबिच लडाइ लडाउन सक्ने बताए ।
उनले नेपालमा यतिबेला पैदा भएको राजनितिक संकटको निकास नेपाली विशेषताको समाजवाद रहेको र यो समाजवादले मात्रै पहिचानलाई सुनिश्चित गर्ने बताए । अहिले पहिचानवादीहरुको बिचमा साम्राज्यवादले खेलिरहेको र आफ्नो स्वार्थ पूरा गर्न पूर्वलाई मणिपुर जस्तो बनाउन सक्ने खतरातर्फ समेत सुमनसिंहले सचेत गराएका छन् ।
उनले पूर्व १ नम्बर प्रदेशको नाम लिम्बुवान, किरात, कोचलाई सम्वोधन गरेर राख्नु पर्ने कुरामा नेकपा स्पष्ट भएको बताए । पूर्वलाई साम्राज्यवादीहरुको चलखेल, नियन्त्रण र प्रभावमा लैजाने स्थिति बने नेकपाले लडाकु दस्ता बनाएर समेत लड्न सक्ने उनको कुरा थियो । ” हामी जनताको भावनाको उच्चसम्मान गर्छौं, जनता विरुद्ध भ्रम र षड्यन्त्रको सहारा लिएर आफ्नो स्वार्थ लाद्न खोजिए नेकपालाई मान्य नहुने सुमनसिंहले बताए । ” उनले पुंजिवादले पहिचान, अधिकार, न्याय केही नदिने कुरा बुझ्न सबैलाई अनुरोध गरे । पुंजिवादले हिंसाको सहारा लिए वा पहिचानलाई भ्रमको विषय बनाएर नेपाली विशेषताको समाजवाद विरुद्ध षड्यन्त्र गरे बृहत् लडाकु दस्ता बनाउने उद्घोष गरे ।उनले टुलुटुलु देश बर्वाद भएको हेर्न सक्दैनौँ भन्दै अब समाजवादीहरु एक हुनु पर्ने बताए ।
उक्त अन्तरक्रियामा नेकपा एमालेबाट रबिन्द्र सुवेदी, नेकपा माके प्रभास शर्मा, नेकपा एसबाट आरसी, जसपाका छिरिङ तामाङ, इलाम क्याम्पस प्रमुख, प्रध्यापक अरुण नेपाल, प्रध्यापक देवेन्द्र गुरागाई, पिपिएलएका खगराज कट्टेल लगायतले अवधारणा पत्रमाथि टिप्पणी राखेका थिए । सबैले अन्तरकृया यो समयमा सान्दर्भिक रहेको बताउंदै नेपाली विशेषता समाजवादबारे बुंदागत रुपमा अवधारणा अगाडि सार्न सुझाव दिएका थिए ।
कार्यक्रमको सहजीकरण नेकपा इलाम इन्चार्ज मौसम सीले गरेका थिए । धन्यवाद मन्तव्य केन्द्रिय सल्लाहकार समिति सदस्य होम सीले राखेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा इलामको सचिव नवराज सीले गरेका थिए ।