तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुखबीच भेटवार्ता : बन्दी रिहा र मुद्दा खारेजीको बिषयमा गम्भीर छलफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलका प्रमुख नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरुङबीच बिहिबार ललितपुरमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका बन्दी नेता -कार्यकर्ताको तत्काल रिहाइ र झुठा मुद्दा तत्काल खारेज गर्ने बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले तीन बुँदे सहमति पश्च्यात तत्कालिन केपी ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारसंग भएका छलफल र कार्य प्रगतिको बारेमा प्रष्ट्याएका थिए । उनले तत्कालिन देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँडसंग तीन बुँदे सहमति कार्यान्वयनका निम्ति भएका कार्यहरुको प्रगति र बाँकी रहेका कार्यहरुको बारेमा प्रष्ट्याएका थिए ।
यसैगरी, उक्त भेटवार्तामा तीन बुँदे सहमति पश्च्यात तत्कालिन केपी ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलले गरेका कार्य र भएका प्रगतिको विवरण गृह मन्त्रालय , कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र महान्याधिवक्ता कार्यालयमा रहेको र त्यसका बिषयमा सरकारी वार्ता टोलीका प्रमुख नेकपा (माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरुङले दुई /तीन दिनभित्रै संकलन र अध्ययन गरेर वार्ता टोलीका प्रमुखबीच पुन: बैठक बस्ने र त्यसको लगत्तै तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको बैठक बस्ने सहमति भएको बताइएको छ।
त्यसैगरी, उक्त भेटवार्तामा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्भव हुने र मिल्नेसंग एकता , संयुक्त मोर्चा र कार्यगत एकताको नीतिलाई अगाडि बढाउने बिषयमा समेत छलफल हुनुको साथै देश र नेपाली जनताको ठुलो अपेक्षा कम्युनिष्ट आन्दोलन , कम्युनिष्ट पार्टी र नेताहरुप्रति नै रहेकोले त्यो अपेक्षा पुरा गर्न नयाँ ढगले सोच्नु आवश्यक भएकोले सो अनुसार अगाडि बढ्ने सहमति भएको बताइएको छ।
स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टी र तत्कालिन ओली नेतृत्वको सरकार बीच ०७७ साल फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । उक्त तीन बुँदे सहमतिमा नेकपाले आफ्ना राजनीतिक गतिविधि शान्तिपूर्वक संचालन गर्ने र सरकारले नेकपाका नेता कार्यकर्तामाथि लगायतका झुट्टा मुद्धा फिर्ता लिने,बन्दीहरु रिहाई गर्ने सहमति भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीले सो सहमति पालना गरिरहेको भएपनि सरकारले उक्त सहमतिको पटक – पटक उल्लङ्घन गर्दै नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुका नाममा पक्राउ पूर्जीसमेत जारी गरेको छ ।