विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले विश्वभरी कम्युनिष्टविरुद्ध आईरहेको साम्राज्यवादी हस्तक्षेप रोक्न विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बिहिबार बसेको अन्तर्राष्ट्रिय विभागको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेकपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले साम्राज्यवादले कुनै पनि कम्युनिष्ट आन्दोलन र पार्टीलाई नछोड्ने भन्दै साम्राज्यवाद विरोधी अभियान विश्वभरी फैलाउने र विश्वभरीका कम्युनिष्ट क्रान्तिकारी एकतावद्ध हुने संगठन आवश्यक भएको र बैठकले त्यो पुरा गर्ने विश्वास व्यक्त गरे । उनले विश्वभरी छरिएर रहेका कम्युनिस्ट पार्टी, कम्युनिष्ट आन्दोलनको अवस्था र नेकपाका संगठनहरूले गर्नु पर्ने कामहरुकाबारे बैठकका सहभागीहरुलाई बोध गराएका थिए ।
पार्टी प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा बसेको उक्त बैठकले अन्तर्राष्ट्रिय तहका क्रान्तिकारी कम्युनिष्ट भाईचाराहरुसंगको सम्वन्ध पनि प्रगाड बनाउने र पार्टीले अन्तर्राष्ट्रिय तहमा पार्टीको संगठनलाई सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले पार्टीका संगठनहरुले कुटनीतिक नियोगसंगको सहकार्यमार्फत पार्टीको विचार पुर्याउने,विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्ने, नेपाली विशेषताको समाजवादका बारे र पार्टीको विचारबारे भाईचारासंग छलफल तथा अन्तरक्रिया गर्ने, आन्तरिक संगठन सृदृढ तथा विस्तार गर्ने, नेपाल सरकारको परराष्ट्र नीतिसंग सम्वन्धित रहेर सरकारवालाहरुसंग अन्तरक्रिया चलाउने निर्णयसमेत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी को अध्यक्षतामा बसेको उक्त बैठकमा अन्तर्राष्ट्रिय विभागका सदस्य आमूल सी, नरेन्द्र सी, संकर सी लगायतका अन्तर्राष्ट्रिय विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।