वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ १ नम्बर जिल्लाद्वारा शनिबार आयोजित ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
उक्त कार्यक्रममा नेकपाकी नेतृ भृकुटी सीले प्रस्तुत गरेको कार्यपत्रमाथि बोल्दै प्रवक्ता प्रकाण्ड सीले कार्यपत्र क्रान्तिकारी, वस्तुगत र शानदार भएको बताउँदै कार्यपत्र प्रस्तुतकर्ता नेतृ भुकुटी सीलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान संकट २०६२÷६३ को प्रतिक्रान्तिको उपज भएको बताए । उनले वर्तमान सत्ता, व्यवस्था र नेतृत्व दलाल पुँजीपतिवर्गको भएको ठोकुवा गर्दै यसकै कारण देश र जनताका एजेन्डा ओझेलमा परेको बताए । उनले देशको वर्तमान संकटको समाधानको लागि नेपाली जनताको राज्यव्यवस्था चाहिने र त्यो भनेको नेपाली विशेषताको समाजवाद नै भएको ठोकुवा गरे । उनले यसको निम्त क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्टहरुले नेतृत्व लिनुपर्ने बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कम्युनिष्टहरुलाई दुश्मन देख्ने प्रवृत्ति माक्र्सवादविरोधी प्रवृत्ति र दृष्टिकोण भएको भन्दै यसलाई सच्याउनुको विकल्प नभएको र नेकपाले हालै सम्पन्न पार्टीको विशेष बैठकबाट उक्त विषय सच्याएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले कम्युनिष्ट भनेको मित्र हुन् भन्दै तिनमा विचारमा भिन्नता हुन सक्छ । राजनीति लाइन, संगठनात्मक मान्यता, नीतिमा भिन्नता भयो भन्दैमा दुश्मन हुँदैन । यसको निम्ति बहस, छलफल गर्दै जानुपर्छ । विचार र राजनीति मिलेमा पार्टी एकता गर्ने । विचार, राजनीति मिलेन, रणनीति मिल्यो भने संयुक्त मोर्चा बनाउने र त्यो पनि मिलेन र मुद्दा मिल्यो भने सहकार्य गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कम्युनिष्टहरु साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लाग्दै जनमुक्तिका निम्ति एक हुनुपर्छ र सहकार्यमा आउनुपर्छ भन्दै यो इतिहासको आवश्यकता भएको बताए । उनले दलाल पुँजीपति र लोकतान्त्रिक पुँजीपतिहरु एउटै होइनन् । लोकतान्त्रिक पुँजीपति देश र जनताको पक्षमा हुन्छन्, स्वाधीनताको पक्षमा हुन्छन्, प्रगतिको पक्षमा हुन्छन् र विकासको पक्षमा हुन्छन् । दलाल पुँजीपति साम्राज्यवादको एजेन्ट हुन्छ र त्यो प्रतिक्रियावादी हुन्छ । देश र जनताको मुख्य दुश्मन हुन्छ भन्दै यी विषयमा कम्युनिष्टहरु प्रष्ट हुनुपर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले देशमाथि पैदा भएको समस्याको समाधानको निम्त कम्युनिष्टको काँधमा धेरै ठूलो जिम्मेवारी रहेको भन्दै देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकजुट भएर लाग्नुको विकल्प नभएको बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका पूर्व गर्भनर डा दिपेन्द्रवहादुर क्षेत्रीले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्धको इन्डोप्यासिफिक रणनीतिको अभिन्न अंग भएको खुलासा गरे । उनले अमेरिकी अधिकारीहरुले नै एमसीसी इन्डोप्यासिफिक रणनीतिको अभिन्न अंग भएको बताउने गरेको वताए ।
उनले नेपाल युक्रेनको दिशातिर जाने प्रष्ट संकेत देखिएको भन्दै त्यसलाई रोक्न नेकपा सहित सबै कम्युनिष्ट,स्वाभिमानी शक्तिहरु एक भएर लाग्नुपर्ने बताउदै भने ‘नेपाल स्थित अमेरिकी राजदुतावास अरु भन्दा सुरक्षाका दृष्टिकोणले क्षमतावान छ,नेपालमा एमसीसीबाट छिरेर चीन विरुद्ध जान चाहान्छ । अमेरिकाले ५५ करोड डलर सशर्त एमसीसीबाट दिन्छु भन्दै गर्दा चिनियाँ राष्ट्रपतिले पनि ५६ करोड लडर विना सर्त नेपालको कुनै पनि योजनाका लागि सहयोग गर्ने भनेका थिए । खै त ! त्यो बारे नेपालका राजनीतिक दलहरुले चासो दिएको पाईएन किन अमेरिको मात्र पछि लागेका हुन ? यसमा गम्भीर छ ।’
उनले नेपालको राजनीति विखरिएको र साझा दुश्मन छुट्याउन नसकिएको बताए । उनले नेपालीहरुको साझा दुश्मन अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवाद भएको ठोकुवा गरे । उनले आर्थिक रुपमा नेपाल धेरै संकटमा पुगेको र निर्याय भन्दा आयतमुखी अर्थतन्त्र भएको र यो दलाल व्यवस्थाले गर्दा भएको बताए ।
यसैगरी, सोही कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द)्रका पोलिट व्यूरो सदस्य तथा काठमाडौ जिल्लाका इन्चार्ज कुमार पौडेलले कम्युनिष्ट पार्टीहरु बिचको रुपान्तरण सहितको एकता आवश्यक भएको बताए । उनले एमसीसी नेपालको हितमा नभएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले अमेरिकी साम्राज्यवाद विरुद्ध लडेर विजयी हुन नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय मोर्चा बनाउनु पर्ने पनि बताए ।
उनले सहकारीबाट केही मुठ्ठीर मान्छे धनी भएको र आज सहकारीहरु बदनामको दिशामा गएको बताए । उनले पुरानो नेपाललाई बदल्न काठमाडौ आएका माओवादीलाई उल्टै माओवादीलाई बदलेको टिप्पणी गरे । उनले आजको ज्ञान विज्ञानलाई माक्र्सबादमा जोडनु पर्ने पनि बताए ।
यसैगरी, सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केवी उप्रेतीले विदेशीको इसारामा नेपाल चलेकाले नेपालमा संकट आएको बताए । उनले भने ‘विदेशीको इसारामा नेपाल चल्यो,मन्त्रीदेखि ठुला पदका व्यक्तिहरु विदेशीको इसारामा चल्छन,नेपालमा संकट नआएर कहाँ आउछ ? यो संकट हामी आफैले बनायौं ।’
अध्यक्ष उप्रेतीले विदेशी हस्तक्षेका कारण दलाल पुँजीको विगविगी बढेको र नेपाल आर्थिक संकट तिर गएको बताए । उनले ६७ प्रतिशत कम्युनिष्ट जनमत भएको नेपालमा किन सबै क्षेत्रमा अस्तव्यत भईरहेको छ त ? गम्भीर तथा सोचनिय प्रश्न भएको बताए । उनले केही सहकारीहरुको कमजोरीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको पनि टिप्पणी गरे । सहकारीलाई उत्पादनमुलक काममा लगाउनु पर्ने र सहकारी क्षेत्रको बदनाम चिर्नुपर्ने उनको भनाई थियो ।
यसैगरी, सोही कार्यक्रममा बोल्दै राष्ट्रिय विमा संस्थानका पूर्व अध्यक्ष खेमराज खरेलले १० बर्षपछि नेपालको संसदमा ठेकेदार र जग्गा दलालहरु मात्र देखिने बताए । उनले पैसा विना चुनाव जित्न नसकिने अवस्थामा दलालहरु मात्र संसदमा हुने टिप्पणी गरे । उनले पैसाका कारणले श्रीमतीको उपचार गर्न नसकेर माक्र्सको श्रीमतीको मृत्यु भएको स्मरण गरादै नेपालका कम्युनिष्ट भन्नेहरु आज करोडौको दलाली र वार्गेनिङ्गमा लाग्ने गरेको बताए । उनले कम्युनिष्टहरु नै निजी सम्पत्तिका लागि भ्रष्टाचार,कमिशन,तस्करी र दलालीमा लागेपछि जनताले कसरी नेपालका कम्युनिष्टहरुलाई पत्याउने भनेर प्रश्न गरे । पूर्व अध्यक्ष खरेलले नेपालको हितविपरित एमसीसी पास भएको भन्दै कित दुई तिहाई ल्याएर खारेज गरौं, कि त अमेरिकी दुतावास घेराउ गरौं भनेर विचार व्यक्त गर्दै भने – ‘नेपालका कम्युनिष्ट भन्ने नेताहरु हिजो वुर्जुवा शिक्षा भनेर जनताका छोरा छोरीलाई पढन दिएनन्, युद्धमा लगाए । तर आज आफै तिनै जनयुद्ध लडेका नेताहरु विदेशीको अगाडि आत्मसमर्पण गरेर आफ्ना छोरा छोरीहरु छात्रवृति कोटामा एमविविएममा विदेश पढाउन पठाएका छन । के यहि हो कम्युनिष्ट विचार ? यसलाई सुधार कसले गर्ने ?’
यसैगरी, सोही कार्यक्रममा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राधेश्वरी सुवेदी,वाम वुद्धिजीवी मनोज थापा,एकीकृत समाजवादीका केन्द्रीय सदस्य मिना ज्ञवाली,राष्ट्रिय पार्टीका खगेश्वर रञ्तिकार, कानुन तथा जनअधिकार मञ्चका खिमानन्द अधिकारी र नेकपा मसालका नेता जगत प्रसाद रेग्मीले आ –आफ्नो धारणा राख्दै नेपालका लागि एमसीसी घातक भएको बताएका थिए ।