‘देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन कम्युनिस्टले साेच्नुपर्ने बेला आयाे’

२०८० माघ २० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन क्रान्तिकारी, कम्युनिस्ट, वामपन्थी पक्षधर र सच्चा लोकतन्त्रवादीले साेच्नुपर्ने बेला आएकाे बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय प्रशिक्षणलाई पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले देशमा राजनैतिक संकट आएकोले त्यसको नेतृत्व क्रान्तिकारीहरुले नगरे देश साम्राज्यवादको चंगुलमा जाने र हाम्रो राष्ट्र झन् बर्बाद हुने भएकोले देशलाई त्यसो हुनबाट जोगाउनु पर्ने बताए । उनले क्रान्तिकारी कम्युनिस्ट वामपन्थी पक्षधर सच्चा लोकतन्त्रवादीहरुलाई एकताबद्ध गरेर क्रान्तिकारी ढंगबाट राष्ट्रलाई अग्रगमनतिर लिनुपर्ने बताए ।
महासचिव विप्लव सी ले नेपालमा क्रान्तिकारी कम्युनिष्टलाई एक हुन नदिने षडयन्त्र सुरु भएकोले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबिच सहमति र तालमेल गर्दै देशलाई मुक्त गर्नुको विकल्प नरहेको समेत बताए ।


राष्ट्रिय सम्मेलन तोकिएको समयमा गर्न, त्यसको तयारी स्वरुप पार्टी भुगोलको स्कुलिङ र प्रशिक्षण सकेलगत्तै जवसको प्रशिक्षण सुरु भएको बताइएको छ । जस अनुसार शुक्रबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रशिक्षण भएको हो ।
श्याम सीको अध्यक्षतामा भएको केन्द्रीय प्रशिक्षण जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज शिलु सी, पार्टी केन्द्रीय सदस्य विजय सी, केन्द्रीय सदस्य सुशील सी, मिना सीको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमको संचालन महासंघका केन्द्रीय महासचिव टेक सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]