आज २९ औँ जनयुद्ध दिवस : देशव्यापीरुपमा मनाइदै

काठमाडौँ । आज फागुन १ गते अर्थात २९ औँ जनयुद्ध दिवस । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको ऐतिहासिक दिनलाई नेपालका माओवादी घटक दल, क्रान्तिकारी कम्युनिष्ट शक्ति र विशेषगरी नेपाल कम्युनिष्ट पार्टीले विशेष पर्वका रूपमा मनाउँदै आएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले आज देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी भव्य रूपले २९ औँ जनयुद्ध दिवस मनाउँदैछ ।
नेकपा र नेकपा आवद्ध विभिन्न जवस, मोर्चाहरूले देशभर विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी २९ औँ जनयुद्ध दिवस मनाउँदैछन् ।
आज हर्षउल्लासका शुभकामना आदानप्रदान गर्ने, दिउँसो उत्सव मनाउने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने र साँझ दीपावली गरिनेछ ।
२०५२ साल फागुन १ गते अर्थात् नेपालमा जनयुद्ध सुरुवात भएको दिन । अठ्ठाइस वर्षअघि ‘विद्रोह जनताको अधिकार हो । प्रतिक्रियावादी राज्यसत्ता अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ नेपालमा प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंस गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्ध सञ्चालन भएको थियो ।