एकीकृत जनक्रान्ति अनिवार्य
तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्रको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थासम्म पुग्ने लक्ष्यका साथ २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयद्ध सुरु भएको थियो । जनयुद्धको कमाण्डर प्रचण्डले जनयुद्धलाई सत्ता र सरकारमा पुग्ने बागडोर बनाउन खोजेपछि जनयुद्ध लक्ष्यमा पुग्न सकेन । प्रचण्ड सहमतिको नाममा संसदवादी दलहरुसँग काँधमा काँध मिलाउन पुगे । यतिबेला जनयुद्धमा सहादत हजारौँ सहिदहरुको सपना नाकाम भएको छ । सहिद, घाइते र बेपत्ता परिवारको बिजोग भएको छ । तर, जनयुद्ध हाँकेका केही नेताहरु सत्ता र सरकारमा बसेर भोज गरिरहेका छन् ।
जनयुद्धको लक्ष्यमा नपुगी केही नेताहरुले क्रान्तिको झण्डा बीचैमा फ्याँकेर हिँडेपछि त्यस झण्डालाई तत्कालीन नेकपा माओवादीकै युवानेता विप्लव र प्रकाण्डलगायतले उठाउने प्रयत्न गरे । उनीहरुले नेपालमा जसरी पनि वैज्ञानिक समाजवाद ल्याएर छोड्ने उद्घोषका साथ नेपाल कम्युनिस्ट पार्टी पुर्नगठन गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेर संघर्ष अगाडि बढाइरहेका छन् । परिवर्तनका पक्षधर आमनेपाली जनताले नेकपाको यस कदमलाई साथ सहयोग गर्न थालेपछि सरकारले नेकपामाथि प्रतिबन्ध समेत लगायो । सरकारको यो राष्ट्रघाती र जनघाती कार्य उसैको लागि घातक बन्दै गयो र अन्तत ः सरकार नेकपासँग तीन बुंदे सहमति गर्न बाध्य भयो ।
यतिबेला राष्ट्र र जनताको मुक्तिको लागि थालनी गरिएको जनयुद्ध नेतृत्वकर्ताहरूको गैरजिम्मेवारीपनका कारण लक्ष्यमा नपुग्दै धराशयी भएको छ । देशमा पुनः संसदवाद स्थापना भएको छ । जनयुद्धका नेतृत्वकर्ताहरू सत्ता र भत्तामा रमाउन पुगेका छन् । जनताको स्थिति हिजोको भन्दा दयनीय बन्दै गइरहेको छ । भ्रष्टाचार, कालोबजारी, महँगी अनियन्त्रितरूपमा बढिरहेको छ । बलात्कार, हत्या, हिंसाले उग्ररूप लिएको छ । हिजो १० वर्ष जनयुद्ध लडेका नेताहरू सत्तामा छन् । तर, लुटतन्त्र हावी भएको छ । के यसैको लागि जनयुद्ध भएको थियो ? के यसैको लागि हजारौँको बलिदानी भएको थियो ? आमनेपाली जनताले प्रश्न गर्न थालेका छन् । के जनयुद्ध लडेर सत्तामा पुगेका नेताहरूले यसको जवाफ दिनु पर्दैन ? त्यसैले जनयुद्धलाई आफ्नो व्यक्तिगत स्वार्थको साधन बनाउने नेताहरूविरुद्ध अब आमसचेत नागरिक उठ्नैपर्छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धि रक्षाको निम्ति जनता नजागे देश भड्खालोमा पर्ने निश्चित देखिन्छ ।
तसर्थ, राष्ट्र, राष्ट्रियता र जनजीविका पक्षमा संघर्ष गर्ने दललाई अहिले साथ र सहयोग गर्नुपर्ने देखिन्छ । यसको लागि देश र जनताको मुक्तिको लागि संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई सबैले साथ र सहयोग गर्नु आवश्यक भएको छ । वर्तमान संकटबाट देशलाई पार लगाउन र जनताको शासन व्यवस्था कायम गर्न अब सबै जनता लाग्नैपर्छ र नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा साथ दिनैपर्छ । नेकपाले आफ्नो कार्यदिशाअनुसार संघर्षका कार्यक्रम अगाडि बढाए देशमा छिट्टै वैज्ञानिक समाजवाद आउने राजनीतिक विश्लेषकहरुले समेत चर्चा गर्न थालेका छन् । सरकार निरंकुश बन्नु र नेकपाले आमजनताको साथ, सहयोग र सहानुभूति प्राप्त गर्दै जानुले नेकपाको कार्यदिशा सही छ र यसबाट राष्ट्र र जनताको मुक्ति सम्भव छ भन्ने प्रस्ट हुन्छ । तसर्थ, एकीकृत जनक्रान्तिलाई सफल बनाऔँ र वैज्ञानिक समाजवाद स्थापना गरौँ । आजको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतन भया… ।