‘साम्राज्यवादी र दलालहरुको खेल तोड्ने समय आयो’

२०८० चैत्र १७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव सीले देशभित्र भइरहेको साम्राज्यवादी र दलालहरुको खेल तोड्ने समय आएको बताएका छन। शनिबार जेलब्रेक स्मृति दिवस समितिद्वारा आयोजित २४ औ जेल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले जनयुद्धमा जेल तोडेको प्रसंग उल्लेख गर्दै अब देशभित्र भइरहेको साम्राज्यवादी र दलालहरुको खेल तोड्ने समय आएको बताए । उनले महिलाले जेलब्रेक गरेको इतिहास विश्वमै नभएको उल्लेख गर्दै यो जनयुद्धको गौरवको बिषय भएको बताउदै डरभन्दा ठूलो क्रान्ति हुने बताए । उनले विचारभन्दा ठुलो हतियार अर्को नहुने उल्लेख गर्दै जेलब्रेक त्यसैको उदाहरण भएको बताए ।
महासचिव विप्लव सीले माओबादी नथाकेको बताउदै सबै माओबादी एक भएर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने र देशमा नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गरेरै छाड्ने उदघोष समेत गरे।


यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी मात्र नभई सम्पूर्ण देशभक्त र वामपन्थीहरु छिट्टै एक हुने बताए। उनले त्यसैका लागि आफूले गठबन्धन परिवर्तन गरेको बताउदै भने- ‘भर्खरै मैले सरकारको नेतृत्वका हिसाबले जुन समीकरण गरेको छु, यो रणनीतिक छ, दूरगामी छ। मेरो विश्वास हो कि यो क्रान्तिकारी पनि छ। प्रचण्डले भने, जोखिम छ, चुनौती छ । तर यसले मात्रै सबै देशभक्त र वामपन्थीहरुलाई एक ठाउँमा केन्द्रित गर्न सक्छ ।’
प्रधानमन्त्री प्रचण्डले आफू जनयुद्धको बेलाभन्दा बढी खटेको र लडेको बताउदै भने- ‘मैले आफ्नो हिस्साको वर्गसंघर्ष अहिले पनि चलाइरहेको छु।’
प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी सहयात्री दलहरू छिट्टै एकताबद्ध हुने र त्यसका लागि आवश्यक वातावरण निर्माणका लागि पहल गर्न पनि सबैलाई आग्रह गर्दै यसबाट मात्रै नेपालको मौलिक समाजवादको यात्रा कोर्न सक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने- “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ। दायाँ कदम चाल्दा होस् या बाँया कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको सङ्कल्प तेही हो, आज पनि त्यही छ।”
प्रधानमन्त्री प्रचण्डले सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताए। उनले आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्गसङ्घर्ष नै भएको बताए।
प्रधानमन्त्री प्रचण्डले निराशा बाड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे। उनले सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उल्लेख गर्दै भने- “यो समीकरण रणनैतिक छ, दूरगामी छ, मेरो विश्वास छ यो क्रान्तिकारी पनि छ। यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ।”
उक्त कार्यक्रममा जनयुद्धको क्रममा बिभिन्न जेल तोडेर बाहिर निस्कन सफल भएका गाेरखा जेलब्रेककाे कमाण्डर उमा सी शिलु, रिता विश्वकर्मा, गजुरी सैन्य हिरासत ब्रेक गर्ने र लमजुङ सैन्य हिरासत ब्रेक गरेका राजु क्षेत्री, पाेखरा सैन्य ब्यारेक ब्रेक गर्ने र लमजुङ सैन्य ब्यारेक ब्रेक गर्ने सुशीला भुजेलसहितलाई सम्मान गरिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]