नेपालको संसद जनतालाई ठग्ने थलो

२०८१ जेष्ठ ७ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको संसद जनतालाई ठग्ने थलो भएको ठोकुवा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शान्तिका लागि समाजवाद’ शान्ति -यालीलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले दलाल पुँजीवादको संसद जनतालाई ठग्ने, हल्ला गर्ने र लुठ मच्चाउने थलोका रुपमा परिणत भएको बताए । उनले
संसदमा कहिल्यै पनि जनताका समस्याहरुका विषयमा छलफल नभएको बताउँदै नेपालको संसदले दलालहरुको प्रतिनिधित्व गरेको ठोकुवा गरे । महासचिव विप्लव सीले भने- ‘नेपालको संसदमा कहिल्यै किसानको बारेमा कुरा भएको छ, कहिल्यै बेराजगारी समस्याका बारेमा कुरा भएको तपाईंलाई थाहा छ । यो संसदले तैले यति खाइस, तैले उलिखाइस भनेको छ । नेताहरुको पोल खोलालोल गरेको छ । दलाल पुँजीवाद भनेको यही हो । यसले जनताका समस्याहरुको समाधान गर्दैन ।’

महासचिव विप्लव सीले संसदले सरकारलाई काम गर्न नदिएर झन समस्यामा पारेको बताउदै भने -‘यो देश कस्तो हो के, एउटा प्रधानमन्त्रीले हरेक महिना विश्वासको मत लिनुपर्ने । यता मिलायो, उता मिलायो । सबै समय मिलाउँदै गएको छ । यस्तो भएपछि प्रधानमन्त्रीले जनताको काम कसरी गर्नसक्छ ? यो एउटा व्यक्तिको मात्र समस्या होइन । समग्र सिस्टमको समस्या हो । यसको अन्त्य गर्दै नेपाली विशेषताको समाजवादमा जानुपर्छ । त्यहाँ हुन्छ शान्ति, त्यहाँ हुन्छ जनताका समस्याहरुको समाधान हुँदैन ।’

महासचिव विप्लव सीले अमेरिकाले विभिन्न देशहरुमा युद्धा लादिरहेको बताउँदै नेपालमा पनि त्यो खतरा देखिएकोबताए ।
नेकपा केन्द्रीय समितिले आयोजना गरेको उक्त -याली शान्तिबाटिकाबाट सुरु भएर इन्द्रचोक, असन, क्षेत्रपाटी, ठमेल, थहिटी, जमल घण्टाघर हुँदै पुनः शान्तिबाटिमा आएर कोणसभामा परिणत भएको थियो । -यालिमा समाजवादको नाराले सुख पाउँछ साराले, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जारी छ, नेपाली विशेषताको समाजवाद जिन्दावाद, वीर सहिदहरु लाल सलाम, गो ब्याक अमेरिका, गोब्याक एमसीसी, अमेरिकी पाराले दुःख पायो साराले लगायतका नारा लगाएका थिए ।

-याली पछिको कोणसभालाई नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले संचालन गरेका थिए । कार्यक्रममा पोलिटब्युरो सदस्य कृति सी, कान्छाराम सी, केन्द्रीय सदस्यहरु प्रेम सी, भृकुटी सी, आरोह सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामना सांस्कृतिक परिवारले आफ्नो बेजोड प्रस्तुति प्र्रस्तुत गरेको थियो । साथै रसुवाबाट आएको सांस्कृतिक टिमले मौलिक झाँकी प्रस्तुत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु