‘नेपाल कम्युनिस्ट पार्टीको काँधमा ऎतिहासिक जिम्मेवारी र सुनौलो अवसर आइरहेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको काँधमा ऎतिहासिक जिम्मेवारी र सुनौलो अवसर आइरहेको ठोकुवा गरेका छन्। बुधबार राति प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले संसदवादी दल र नेतावाट देश र जनताको मुक्ति सम्भव नहुने ठोकुवा गर्दै संसदीय राजनीतिमा भएका सबै दल र नेताहरु टेस्टेड भै सकेको बताए । उनले अहिले देशमा भएको समस्यामा संसदवादी दल र नेताहरुको कतै न कतै , कुनै न कुनैरुपमा संलग्नता भएको ठोकुवासमेत गरे ।
प्रवक्ता प्रकाण्ड सीले देशको विद्यमान अवस्था असाध्यै जटिल र संकटग्रस्त भएको बताउदै यसकारण देशमा अनिबार्यरुपमा क्रान्तकारी कम्युनिस्टहरुको नेतृत्व जरुरी भएको ठोकुवा गरे। उनले अहिलेको राज्य व्यवस्थालाई परिमार्जन वा बिकास गरेर अर्थात नयाँ ठाउँमा पुर्याएर नेपाली जनताको चाहना बमोजिमको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प छैन भन्ने कुरा अकाट्य भएको ठोकुवा गरे।
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको जन्म नै देश र जनताका बिरुद्ध हुने अपराधसंग संघर्ष गर्दा गर्दै भएको बताउदै नेकपाको अहिले राष्ट्रियरुपमा भएको लोकप्रियता र जनताको आकर्षणको कारण पनि यहि भएको बताए । उनले नेकपाले तत्कालिन सरकारसंग ३ बुँदे सहमति गरिसकेपछि राष्ट्रिय राजनीतिको जटिलतालाई दृष्टिगत गरेर नयाँ मोर्चा खोलेको बताउदै नयाँ मोर्चा खोलेपछि राष्ट्र र जनघातीसंगको संघर्ष राजनीतिक बनेको र जनसंघर्ष नपुगेको बताउदै त्यसतर्फ छिट्टै पार्टीले कदम चाल्ने बताए।
प्रवक्ता प्रकाण्ड सीले संसदीय व्यवस्था र निर्वाचन प्रणाली रहेसम्म सुशासन, देशको विकास र भ्रष्टाचार अन्त्य नहुने ठोकुवा गर्दै भने- ‘संसदवादी दलको बीचमा सत्ता र कुर्सीको निमित्त मुख्य लडाइँ पर्ने, त्यो असाध्यै दुस्मनीपूर्ण ठाउँमा पुग्ने छ । यसले सायद कांग्रेस–एमालेको अहिले बनेको गठबन्धनलाई पनि सजिलै जान दिन्छ जस्तो लाग्दैन । यो देशमा दलाल तत्वहरु छन् । यो देशमा सत्ता र कुर्सीको खेल गर्ने, त्यो खेलका निमित्त देश र जनतालाई दाउमा हान्ने तत्वहरु त छन् । ती तत्वहरुले खेल गर्छन्। ‘
प्रवक्ता प्रकाण्ड सीले एमाले २०४७ सालदेखि पटक–पटक सत्तामा गएर केही पनि गर्न नसकेको भन्दै एमालेले गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले अहिलेको संसदीय व्यवस्था र निर्वाचन प्रणाली रहेसम्म सुशासन, देशको विकास र भ्रष्टाचार अन्त्य नहुने बताए । उनले वर्तमान संविधानले उत्पीडित वर्ग, क्षेत्र, समुदाय र महिलाहरुको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा समेत गरे।