‘मंसिर ८ गते’ नेपाली क्रान्तिलाई मृत्युबाट जोगाएको दिन

२०८१ कार्तिक २९ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेको एकदशक पुगिसकेको छ, यस बिचमा आन्तरिक एवम् बाह्य रूपमा कतिपय परिवर्तनहरु समेत देखा परेका छन्। यो समग्र प्रक्रियामा पार्टी पुनर्गठनको तत्कालीन अनुभव र सन्दर्भ के थियो ?

खुसी र गर्वको कुरा — हामीले कमरेड विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन गरेको ठिक एकदशक पुगेको छ । यो अवसरमा सर्वप्रथम नेकपाको पुनर्गठन गरेर एकीकृत जनक्रान्तिको नेतृत्व गर्दै दक्षिणपन्थी अवसरवादको दलदलमा भासिदै गएको माओवादी आन्दोलनलाई समग्र नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी मूलधारमा स्थापित गर्न सफल हाम्रो पार्टी महासचिव कमरेड विप्लवलाई हार्दिक बधाई तथा शुभकामना । दोस्रो, पार्टीलाई यो ठाउँसम्म ल्याउन आर्थिक, भौतिक, नैतिक सहयोग र समर्थन गर्ने नेपाली जनता, सहयोगी मित्रहरु, प्रवुद्ध—बुद्धिजीवी वर्ग, हाम्रो पार्टीका देशविदेशमा कार्यरत नेताकार्यकर्ता कमरेडहरु सबैमा स-धन्यवादसहित निरन्तर सहयोग, सहकार्य र पूर्ण सफलताको हार्दिक शुभकामना । तेस्रो, सहिद, वेपत्ता योद्धाहरुप्रति श्रद्धासुमन । परिवारजनमा सहिद—वेपत्ता योद्धाहरुले हामीलाई जिम्मा दिई छाडेका अधुरो कार्य पूरा गर्ने र अन्तिमसम्म धोका नदिने प्रतिबद्धता दोहर्याउन चाहान्छु ।

यो एकदशकको क्रान्तिको भिन्नै प्रक्रियामा बाह्य र आन्तरिक राजनीतिक परिस्थितिमा निकै परिवर्तनहरु भएका छन् । एकध्रुवीय विश्व बहुध्रुव हुँदै दुई ध्रुवको अवस्थामा आएको छ  । अमेरिकी एकलौटी दादागिरी तोडिएको छ ।अफगानिस्तानी जनताबाट अमेरिका हारेर फर्केको छ । चीन—अमेरिका व्यापार युद्ध, दक्षिण चीन सागर तनाव, उत्तर कोरिया—अमेरिका शीत युद्ध, सिरिया युद्ध, चलिरहेको रुस युक्रेन युद्ध, मध्यपूर्व तनाव (इजरायल प्यालेस्टाइनी युद्ध, लेवनानमाथि इजरायलको आक्रमण र त्यसको हेजबुल्ला, हमास विद्रोहीहरुको प्रतिरोध), इरान र इजरायलको एक अर्कामाथि गरिएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमण, रुस—चीन, उत्तरकोरिया, इरान र अमेरिका—बेलायत, अष्ट्रेलिया, युरोपियन समुह बिचको विश्वको अघोषित युद्धको घोषणा र ध्रुवीकरण, व्रिक्स समुहको गठन, हिन्द प्रशान्त सैन्य गठबन्धन आदि लगायतका युद्ध विभिषिकाले तेस्रो विश्वयुद्धलाई संकेत गरिरहेको छ । यी घटनाक्रमहरु यो दशकमा घटेका प्रमुख घटनाक्रमहरु हुन् ।

विश्वको यो नयाँ अन्तरविरोध र ध्रुवीकरणको प्रभाव नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा देखा परेको छ र केही राजनीतिक उलटपुलटहरु भइरहेका छन् । नेपालमा सरकारको अस्थिरता, विघटनको तीव्रता, पार्टीहरुको फुट—विभाजन र ध्रुवीकरण, कुनै बेला टाउकोको मूल्य तोक्ने र टाउकोको मूल्य तोकी माग्नेहरुबीचको अपवित्र गठबन्धन, माओवादी र एमाले बीचको एकता र फुट, नेकपामाथि माओवादी र एमाले नेतृत्वको नेकपाकै गठबन्धन सरकारले गरेको २ बर्षे प्रतिवन्ध, ३ बुँदे सहमति, माओवादी—एमाले भनिने कम्युनिस्टले रुख चिन्हको प्रचार, काँग्रेसले हँसिया हतौडा र सूर्य चिन्हको प्रचार, नेकपाबाट लुकेका अवसरवादीहरुको बहिर्गमन, विचलन र पलायनता, रवि, हर्क, बालेनहरुको उदय, एमसीसी प्रकरण नेपालमा अमेरिकीहरुको आगमन र नेपालको स्वाधीनतामाथिको हस्तक्षेप, एसपीपी मार्फत नेपालमा अमेरिकी सैन्य व्यारेक राख्ने योजना, लिपुलेखमाथिको भारतीय सीमा हस्तक्षेप र त्यसको विरोध, समाजवादी मोर्चाको गठन र परिचालन, माओवादी नेताहरुमा एमसीसीको समर्थन, भुटानी  शरणार्थी प्रकरण र सुन काण्ड जस्ता प्रकरणमा देखा परेको विचलन, भ्रष्टाचार र तस्करहरुको उजागर, नेकपाले यी राष्ट्रघाती, भ्रष्टाचार तस्कर र जनविरोधी क्रियाकलाप विरुद्ध, जनताको पक्षमा निरन्तर गर्दै आएको संघर्ष र आन्दोलनहरु, जनतामा नेकपा वैकल्पिक राजनीतिक धारमा स्थापित र जनप्रिय बन्दै जानु आदि यस विचमाा देखापरेका प्रमुख आन्तरिक राजनीतिक घटनाक्रमहरु हुन् । यी वाह्य र आन्तरिक परिस्थितिमा आएको वा देखा परेका परिवर्तनका दृश्यहरु हुन् । यसले नेकपाको आवश्यकता र पुनर्गठनको औचित्यतालाई प्रष्ट पार्दछ ।

जहाँसम्म तत्कालीन अुनभूति र सन्दर्भको विषय छ , दश बर्षको माओवादी आन्दोलन पूर्ण रुपमा साम्राज्यवादी डिजाइन र माओवादी आन्दोलनकै खिलाफमा गएपछि र जनतामा, इमान्दार र क्रान्तिकारी कार्यकर्ता, नेताहरुको ठूलो पंक्ति यो प्रक्रियामा असन्तुष्ट मात्र होइन पूर्ण निराशामा पुगेपछि आन्दोलनको क्रान्तिकारी धार र विचारको रक्षा तथा माओवादी जनयुद्धलाई नयाँ शिराबाट निरन्तरता र विकास गर्न पार्टी पुनर्गठन गर्नु परेको सन्दर्भलाई हामी माओवादीहरु कसैले पनि भुल्नु हुँदैन । यदि हामीले पार्टी पुनर्गठन नगरेको भए हामी पनि अहिलेको माओवादी केन्द्रको ५/६ वटा स्वार्थ समुहहरुमा एक समुहको रुपमा रहने  बाहेक अरु केही उपादेयता हुने थिएन । यसले माओवादी आन्दोलन नै पूर्ण रुपमा विघटन हुने स्थिति बन्थ्यो ।

कम्तीमा आज सबैले देखिरहनु भएको छ हामी र हाम्रो पार्टी हिजोको १० बर्षको माओवादी पार्टीको उत्तराधिकारीको रुपमा उभिएको छ । अहिले पनि माओवादी स्पीरिटमा नेकपा अगाडि बढिरहेको छ । सांगठनिक, वैचारिक रुपले एकढिक्को छ, नेतृत्व केन्द्रिकृत छ, पार्टी र कार्यकर्ताहरु आशावादी छन्, जनता पनि नेकपाप्रति आशावादी छन्, विचार, लाइन क्रान्तिकारी छ, कुनै गुट—उपगुटमा पार्टी विभाजित छैन । क्रान्तिको नयाँ दियो बालेर जनतालाई यो दलाल पुँजीवाद र भ्रष्ट संसदीय व्यवस्था तथा असफल नेताहरुको विकल्प दिन नेकपा सफल भएको छ । यो नै पार्टी पुनर्गठनको उपादेयता हो ।

   यो एक दशकको यात्रालाई कसरी मुल्यांकन गर्नहुन्छ ? 

मैले माथि पनि धेरै कुराहरु भने र के भन्दै आएको छु भने जनयुद्ध सिनेमाको मध्यान्तर अगाडिको दृश्य हो भने एकीकृत जनक्रान्ति मध्यान्तर पछाडिको दृश्य हो । मध्यान्तर अगाडिको हिरोलाई भिलेन वा गुण्डाहरुले अपहरण गरेर आत्मसमर्पण गराएर आफ्नो काम गराउँदै गरेको दृश्यमा मध्यान्तर भएको छ । मध्यान्तर पछिको दृश्यमा अर्को नयाँ हिरोको आगमन भएको छ । उसले पहिले गुण्डा नाइके र अपहरित अघिल्लो दृश्यका हिरोको जमातसंग जुज्दै नयाँ नयाँ ढंगले अघि बढेको छ । पुरानो बृद्ध हिरोले आफ्ना विगतका कमजोरी र गल्तीहरुप्रति प्रायश्चित गर्दै नयाँ हिरोसंग कानेखुशी गरीरहेको दृश्यसम्म सिनेमा अघि बढेको छ मध्यान्तरपछि । लाग्छ जतिसुकै गुण्डाहरुले दुख दिएपनि अन्तिममा हिरोकै जीत हुन्छ । यो सिनेमाले पनि यहि लय पकड्ने छ ।

अर्थात क्रान्ति आफै परिवर्तनको वाहक हो । क्रान्ति सुखद पनि हुन्छ, दुखद पनि हुन्छ । यो संयोगान्त पनि हुन्छ र वियोगान्त पनि हुन्छ । एउटा आमालाई बच्चा जन्माउँदा कति दुःख हुन्छ र बच्चा जन्माएपछि आमा कति खुशी हुन्छिन्, एउटी आमालाई मात्र थाहा हुन्छ । एउटा कहानी छ — एउटा बच्चालाई दुईटा आमाहरु मेरो बच्चा हो भनेर दावी गर्छन्, दुई मध्ये कुन नक्कली आमा र कुन सक्कली आमा हुन् छुट्याउन गाह्रो पर्छ । यो अवस्थामा उनीहरु आ—आफ्ना दावाका साथ न्यायधिश कहाँ पुग्छन् । उनीहरु दुवैले समान रुपले आ—आफ्नो बच्चा दावा गर्छन् । अन्तिममा न्यायधिशले बच्चालाई दुई टुक्रा बनाएर एक जनालाई शीरतिरको भाग र एक जनालाई पाउतिरको भाग दिलाई दिने गरी टुक्रा पार्न चक्कु झिक्छन् र कसले कुन भाग लिने ? भनेर सोध्छन् । एक जनाले म शीरतिरको भाग लिन्छु, भन्छिन् । दोस्रो भो भो न्यायधिष ज्यू यो वच्चालाई नकाट्नुस बरु बच्चा वहाँलाई नै दिनुस, भन्छिन् । अनि न्यायधिशले दोस्रो आमालाई सक्कली आमा भनेर बच्चा सुम्पि दिन्छन् र नक्कलीलाई दण्ड दिन्छन् ।

मेरो मतलव कि जसले बच्चा जन्माएको र हुर्काएको छ, दुख कष्ट पाएको छ, लगानी गरेको छ उसैलाई बच्चाको माया लाग्छ तर दुःख नै नगरेको आमालाई बच्चा काटे पनि मुटु नदुख्दो रहेछ । एक टुक्रा मृत शरीरको भाग पनि लिन तयार हुन्छिन् ।

दश बर्षको जनयुद्ध कसले जन्मायो र कसले मारेर एक टुक्रा लिन तयार भयो भन्ने कुरा अहिलेका यी सबै घटनाक्रमहरुले पुष्टि गरेका छन् कि हामीले दुःख कष्ट सहेर भए पनि जन्माए, हुर्काएको बच्चाको मायाले सम्पूर्ण प्राप्त सुविधा त्यागेर, स्वार्थ र पदलोलुपता तथा भावि (संभावित) सेवासुविधाहरु समेत छाडेर क्रान्तिको पक्षमा उभिएको हो । एउटा क्रान्तिकारीलाई यो भन्दा खुशी र गर्व के हुन सक्छ र । यसरी लाग्दा हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पाचौं प्रतिबन्ध पनि सह्यौं र त्यो अवरोध पनि पार गरेर आज एकीकृत जनक्रान्तिको नयाँ उचाईमा आएका छौं यो निकै गर्वको विषय हो ।

अर्को तथ्य हामीले जुन उद्देश्यका साथ नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्ने र मुलुकलाई स्वाधीन बनाउने र नेपाली जनतालाई स्वतन्त्रता, समानता र संमृद्धि दिने लक्ष थियो, त्यो लक्षमा पुग्न सकेनौं । यसको प्राप्तीको लागि अहिले पनि हामी प्रयासरत छौं र निरन्तर क्रान्ति र संघर्षमा छौं । यति भनिरहँदा फेरी राजनीतिक रुपले करीव अढाइ सय बर्षदेखि सामन्तवादी राज्य व्यवस्थाको चङ्गुलभित्र छटपटाइरहेको नेपाल र नेपाली जनतालाई १० बर्षको जनयुद्धबाट मुक्त गरेको पनि सत्य हो । यो पनि चानचुने उपलब्धी होइन, यसलाई हामीले सुखद पक्ष मान्नुपर्छ । यो प्राप्तिको लागि १० हजार योद्धाहरुले रगत बगाएका छन् । यति हो जति राजनीतिक उपलब्धी हासिल गर्यौं , जनतालाई तत्कालिक सन्दर्भमा जनवादी गणतन्त्र, आजको सन्दर्भमा समाजवादी गणतन्त्र दिलाउन सकेनौं यो अधुरो पक्ष रह्यो । यसको प्राप्तीको लागि आज नेकपाले नयाँ शिराबाट एकीकृत जनक्रान्ति गरिरहेको छ । यो नै हामीले सकेको र नसकेको पक्ष हो ।

एक दशकको एकीकृत जनक्रान्तिको यात्रालाई फर्केर हेर्दा हामीले यसका तीन भागहरु देख्न सकिन्छ ;पहिलो भाग प्रतिबन्ध अगाडिको ३ बर्षहरु, दोस्रो भाग प्रतिबन्धका २ बर्षहरु र तेस्रो भाग प्रतिबन्ध पछिका ५ बर्षहरु । यसरी हेर्दा पहिलो ३ बर्षहरु एकीकृत जनक्रान्तिको सैद्धान्तिक आधारहरु तयार गर्यौं  र यसलाई २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनद्वारा परिस्कृत र अनुमोदन गर्यौं । दोस्रो भागमा यसलाई कार्यान्वयन गर्ने क्रममा २ बर्षको प्रतिबन्धको सामना गर्यौं  । यी दुई बर्षहरु प्रतिरोध संघर्षका बर्षहरु थिए । यसलाई ३ बुँदे सहमतिले तोड्यौं र अहिले हामी यो ठाउँमा आइपुगेका छौं । तेस्रो भागका ५ बर्षहरुमा हामी फेरी नवौं महाधिवेशन सम्पन्न गरेर आठौं महाधिवेशनले संश्लेषण गरेको नयाँ सैद्धान्तिक प्रस्थापनाहरुलाई नयाँ उचाई प्रदान गरेको छ । शान्ति प्रक्रियामा राजनीतिक संघर्ष र समाज रुपान्तरका नयाँ अवधारणाहरु अगाडि सार्दै पार्टी र आन्दोलनलाई नयाँ दिशा दिने काम भएको छ ।

पछिल्लो ५ बर्षहरु एमसीसी विरोधी संघर्ष, एसपीपी विरोधी आन्दोलन, उत्पादन संघर्ष, सी जाति सम्बन्धी अवधारणाको कार्यान्वयन, समाजवादी मोर्चा सम्बन्धी अवधारणा, नेपाली विशेषताको समाजवादले वर्तमान दलाल पुँजीवादी राज्यसत्तालाई राजनीतिक हिसावले कन्डेम बनाउने र जनतालाई समाजवादतिर डोर्याउने  महत्वपूर्ण राजनीतिक हस्तक्षेप भएको छ । साम्राज्यवादले जसरी एकपछि अर्को दलालहरुलाई अगाडि सारेर नेपाली जनतालाई भ्रमित पार्ने काम गर्दै आएको छ, नेकपा निरन्तर त्यसको प्रतिपाद गर्दै जनतालाई सचेत बनाउने सचेतकको भूमिकामा छ । यी नै दश बर्षका  गर्व गर्ने हाम्रा उपलब्धीहरु हुन् ।

तपाईहरुले एकीकृत जनक्रान्ति प्रारम्भ  गरेको यति लामो समय भैसक्दा समेत क्रान्तिकारी आन्दोलनले गुणात्मक परिणाम हासिल गर्न सकेन, त्यसैले पार्टी पुनर्गठनको औचित्य साबित भएन भन्ने पनि एकथरी बुझाई र विश्लेषण छ -यसबारे   के भन्नु हुन्छ ?

बदलिएको परिवेशमा क्रान्तिले रुप बदलेको र यसले हासिल गरेका महत्वपूर्ण उपलब्धीहरुलाई नदेख्नेहरुले यसो भन्नु स्वभाविक छ । जो अन्धो   छ, उसले के देख्न सक्छ र भन्न सक्छ ? उसले भन्ने  भनेको जति देखेको छ त्यति हो । भदौ महिनामा अन्धो भएको गोरुले सधैं हरियो देख्छ रे, भन्छन् । जनयुद्धको बेलामा अन्धो भएका साथीहरुले जनयुद्ध बेगर के नै पो देख्ने भए र ? त्यसपछिको प्रक्रियामा एकथरी साथीहरु चुनाव, पद, प्रतिष्ठा, पैसा र कमाउ धन्धा बाहेक के देखेका छन् र । निरन्तर क्रान्ति र संघर्षमा हुनेहरुले देख्ने क्रान्तिको यात्रा र संसदीय व्यवस्थाको तरल पदार्थमा तैरिने परजीवीहरुको यात्रा र भनाई एउटै हुँदैन र संश्लेषण पनि एउटै हुँदैन । यो भन्दा बढी के भनौं ।

माथि नै भने कि यो दश बर्ष हामीलाई नितान्त छोटो भए जस्तो लाग्छ तर कति छिटो १० बर्ष विते छ थाहै भएन । यहाँ गुणात्मक परिवर्तन र मात्रात्मक परिवर्तनका पुराना मानसिकताबाट जव हामी नयाँ विचार र दृष्टिकोणमा पुग्दैनौं, परिवर्तनहरुलाई न देख्न सक्छौं न बुझ्न नै सक्छौं । माथि भनिसकें कि बाह्य र भित्री रुपमा कति परिवर्तनहरु भएका छन् के ती आफै भएका हुन् ? होइनन्, त्यसको पछाडि प्रत्यक्ष- अप्रत्यक्ष क्रान्ति र क्रान्तिकारीहरुको सचेत प्रयत्न र प्रक्रियाहरुको पनि भूमिका छ । अमेरिका किन प्रत्यक्ष नेपालमा उपस्थित भएको छ ? सरकारहरु १/१ वा २/२ बर्षमा किन बदलिरहन्छन् ? कम्युनिस्ट भनिनेहरुको नेतृत्वको सरकारले कम्युनिस्टहरुमाथि प्रतिबन्ध र हत्या गर्ने, सयौं झुठ्ठा मुद्दाहरु चलाउने, क्रान्तिकारीहरुलाई जेल हाल्ने, अझै पनि एकदर्जन बढी नेकपाका कार्यकर्ताहरु जेलमा छन् प्रचण्ड केपीहरु कति पटक प्रधानमन्त्री भए किन आफूले गरेका सहमति पनि पुरा गर्न सकेनन् ? यी कुराहरु के अदृश्य छन् ? यी गुणात्मकता होइनन् र ? त्यसकारण यो बिषयलाई कसरी हेर्ने र बुझ्ने भन्ने दृष्टिकोणको प्रश्न हो ।

सन्तोष सी `विषम´, स्थायी समिति सदस्य –  नेपाल कम्युनिस्ट पार्टी

पार्टी पुनर्गठन दिवस भनेर मङ्सिर ८ लाई नेकपाले धुमधामसङ्ग मनाउने गरेको देखिन्छ, यसपटक के कसरी मनाउदै हुनुहुन्छ ?

हामी हरेक मंसिर ८ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउने गर्दै आएका छौं । यो हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा नेपाली क्रान्तिलाई अर्थात माओवादी जनयुद्धलाई मृत्युबाट जगाएको दिन हो । कोमाबाट फिर्ता गरेर जीवन प्रदान गरेको दिन हो । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा २००६ साल बैशाख १० गते (अप्रिल २२) पार्टी स्थापना दिवस, फागुन १ गते जनयुद्ध दिवस, मंसिर ८ गते पार्टी पुनर्गठन दिवस अब कहिल्यै नमेटिने दिनका रुपमा अंकित भएको छ । यसका अलावा हामीले असार १० देखि ३० सम्म कृषि विदा, असोज २५ गते सी स्मृति दिवस, असोज २६ देखि २९ गतेसम्म सी भ्रमण विदा आदि नेकपाको क्यालेण्डरमा नयाँ दिन र दिवसको रुपमा स्थापित भएका छन् । यी नेकपाले राजनीतिसंगै आर्थिक र साँस्कृतिक जीवनमा ल्याएका नयाँ परिवर्तन हुन् ।

अहिले २०८१ मंसिर ८ गते नेकपाको पुनर्गठनको एक दशक पूरा गरेको दिनको रुपमा हामीले मनाउँदै छौं । हामी हरेक बर्ष मंसिर ८ लाई एउटा खुशीयाली, उत्सव पर्वको रुपमा विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउँदै आएका छौं । हामी यसलाई विभिन्न खेलकुद र अतिरिक्त कार्यक्रमहरु, गल्ली, बाटोघाटो सरसफाई, असहायहरुलाई न्यानो कपडा र फलफूल, केटीकेटीलाई मिठाई वितरण, दीपावली, चियापान, जुलुश प्रदर्शन, भेटघाट, सहभोज आदि कार्यक्रमहरु स्थान विशेष अनुसार विविध रुपमा मनाउँदै आएका छौं । यस पटक पनि प्रदेश र  जिल्लाहरुले यी कार्यक्रमहरु आ-आफ्नो सापेक्षतामा भव्य, खुशीयाली र उत्सवमय रुपमा मनाउने पार्टीको निर्णय छ ।  

मङ्सिर ८ लाई पुनर्गठन दिवसको रूपमा किन यति धेरै प्राथमिकता दिँदै हुनुहुन्छ ? यसले त मोहन बैध (किरण) लगायत जनवादी क्रान्ति पूरा भएको छैन भन्ने मित्रशक्तिलाई टाढा पो बनाउला त ?

होइन, बनाउँदैन । यो दिन एउटा ऐतिहासिक दिन हो । एउटा खुशी र उत्सवको दिन हो । यसले कसैलाई टाडा र नजिक बनाउने भन्ने कुरै छैन नी । कसैले मान्ने र नमान्ने भन्दा पनि यो त इतिहासले लेखेको दिन हो । यो कसैको विरुद्धमा मानिएको पनि होइन र कसैको विरुद्ध पनि छैन । कसैलाई होच्याउने र टाडा बनाउने यसको उद्देश्य होइन र छैन पनि । यसको कारणले कसैले चोरको खुट्टाझिक भन्दा खुट्टा झिक्छन् वा टाडिन्छन् भने यो हाम्रो प्रश्न होइन उहाँहरुकै समस्या हो । इतिहासमा यस्ता कयौं विद्रोहहरु भएका छन् तर तिनमा केही विद्रोहका दिनहरु मात्र निर्णायक हुन्छन् । कयौं विद्रोहरु इतिहासमै विलाउँछन्, हराउँछन् । मंसिर ८ त्यस्तै विरलै हुने र नविलाउने विद्रोहको दिन हो । त्यसैले यसको महत्व छ र मनाउँदै आएका छौं ।

जहाँसम्म जनवादी क्रान्तिको कुरा छ — हामी जनवादी क्रान्तिको विरोधी होइनौं । एकीकृत जनक्रान्तिलाई राम्रोसंग बुझ्यौं भने जनवादी क्रान्ति त्यसैभित्र पाउँन सकिन्छ एकीकृत जनक्रान्ति समग्र युद्ध हो । आजको जमानामा एउटा मात्र युद्ध शैलीले क्रान्ति पूरा हुँदैन मात्र भनेको हो । प्रविधिमा एउटै स्मार्ट मोवाइलमा सबै चीज एटेच भए जस्तै एकीकृत जनक्रान्तिमा क्रान्तिका सबै रुपहरु एटेच छन् । त्यसलाई नबुझेर मात्र जनवाद वा विद्रोहको कुरा अहिलेको बदलिएको साम्राज्यवादी युगमा अपुरो भयो पो भन्न खोजेको हो हामीले ।

यति भन्दा जनवादको विरोधी कसैले देख्छ र टाढिन्छ भने त्यो उसको दृष्टिकोणको समस्या हो । यसलाई सबैले सच्याउनु पर्छ । म नै सबै ठिक अरु सबै बेठिक । यो नै सब ठिक अरु सब बेठिक भनेर समीक्षा र आत्मसमीक्षा नै गर्न तयार नहुने, आजको जमाना बुझ्न नसक्ने नेताले आजको जमानाको क्रान्तिको नेतृत्व कसरी गर्न सक्छ ? हामी त खुल्लै छौं नी । कसैसंग हाम्रो आग्रह पूर्वाग्रह छैन्, रिसराग छैन । राम्रोको हामी समर्थन, सहयोग र सहकार्य गर्न तयारै छौं । मन र कुरा मात्र होइन विचार मिले पार्टीसङ्ग एकता गर्न पनि तयारै छौं । त्यसैले मंसिर ८ लाई पूर्वाग्रही ढंगले हेर्नु हुँदैन ।

फरक बिषय तर्फ जाऔं, अहिले यहाँहरु समाजवादी मोर्चामार्फत माओवादी धाराको एकता र  नेपाली विशेषताको समाजवादको दिशामा अगाडि जाने कुरा गरिरहनु भएको छ, तर समाजवादी मोर्चा प्रभाबकारी हुन सकेन भन्ने बुझाई छ नि ?

हो, हामी माओवादी मात्र होइन कम्युनिस्ट एकताका पक्षपाती हौं । समस्त कम्युनिस्ट धाराहरुमा माओवादी धारा सबभन्दा नजिकको मित्र शक्ति हो र पहिलो एकता र ध्रुवीकरण माओवादी धारासंग नै संभव छ । तर अझै पनि केही चीजहरु मिलेका छैनन् । मिलाउनु पर्छ । आत्तिएर हतारमा गरिने एकता पनि दिगो हुन सक्दैन । तर एकता गर्नु र्छ र यो संभव छ । एकताका लागि केही प्रक्रियाहरु पूरा गर्नु पर्छ । त्यो बाँकी छ । जहाँसम्म मोर्चाको प्रश्न छ — समाजवादी मोर्चा र नेपाली विशेषताको समाजवाद आजको आवश्यकता अगाडि सारिएको साझा विषय बस्तु हो । कमसेकम यसमा सबै धारालाई मुख्यतः कम्युनिस्ट धारालाई यो एजेण्डामा एकताबद्ध बनाएर लान सकियो भने समाजको गतिलाई एक कदम अगाडि बढाउन सकिने छ भन्ने हाम्रो अपेक्षा रहेको छ । समाजवादी मोर्चा यसै उद्देश्यका साथ ल्याइएको अवधारणा हो । प्रभावकारिताको जुन सन्दर्भ छ यो एउटा आन्दोलन हो । यो कहिले गड्गढाउँदै अघि बढ्छ, कहिले शान्तपूर्वक अघि बढ्छ, कहिले क्षणिक रुपमा यसको गति अवरुद्ध पनि हुन्छ । यसलाई एउटै गतिमा बुझ्नु हुँदैन तर मोर्चा निरन्तर अघि बढ्छ ।

समाजवादी मोर्चालाई बुझ्ने सन्दर्भमा मोर्चा भित्रको एक घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिगतमा मोर्चालाई सरकारको सहयोगी साधनको रूपमा र अहिले सरकारको प्रतिपक्षी साधनको रूपमा प्रयोग गर्न खोज्ने उपयोगिताबादी सोचाइले पनि केही असर गरेको भन्ने पनि देखिन्छ, यसबारे तपाईंहरुको अनुभव के छ ?

केही हदसम्म यो सत्य हो, किन भने हामी सबै समाजवादी मोर्चामा आवद्ध घटकहरुको सोच, उद्देश्य र दृष्टिकोणहरुमा केही अन्तरहरु छन् । मोर्चाबाट ती अन्तरहरुका दूरीलाई कम बनाउने पनि हाम्रो प्रयास हो । हाम्रा उद्देश्य र दृष्टिकोणहरुमा केही अन्तर भएको कारणले नै हामी एक ठाउँमा छैनौ । केहीमा समान धारणा र दृष्टिकोण भएको कारणले फेरी हामी मोर्चामा छौं । यसैको कारणले नै हामी हिजो कोही सरकारमा थियौं कोही सडक संघर्षमा । यो हाम्रो मोर्चा विगतमा यसको गठन गर्ने समयमा सरकारमा रहेका शक्ति र सडकमा रहेका शक्तिका बीचको मोर्चा बनेको थियो ।

अहिले सरकारमा रहेका साथीहरु पनि सरकार बाहिर प्रतिपक्षको भूमिकामा आउनु भएको छ । प्रतिपक्षी भनेको करीव करीव सडककै शक्ति भन्दा पनि हुन्छ तर उसको उद्देश्य अझै पनि मोर्चालाई साधनको रुपमा प्रयोग गरेर पुनः सरकार र कुर्चीमा पुग्ने नै हुन्छ । जव कि हाम्रो उद्देश्य भनेको यो व्यवस्थाबाट आजित जनतालाई व्यवस्था र सत्ताकै विकल्प दिने हुन्छ । हाम्रो यी उद्देश्यहरुमा रहेको भिन्नतालेसमाजावादी मोर्चालाई पनि प्रभाव पार्ने स्वतः हुन्छ । विगतमा प्रधानमन्त्री हुने बेला कमरेड प्रचण्डले आझ्नो उद्देश्यमा प्रयोग गर्न खोज्नु भयो होला । हामीसंग सरकारको कामकाजको व्यस्तताको कारण देखाउनु हुन्थ्यो तर वहाँले जति सरकारमा हुने बेला अझ यसलाई जोडतोडका साथ लानु पर्थ्यो त्यो वहाँमा नपुगेकै हो । आज सरकारबाट हटेपछि क्रियाशील बनाउन खोज्नु भएको छ भने त्यो राम्रै कुरा हो, स्वागत गर्नु पर्छ । अब यसलाई क्रियाशील बनाएर लानु पर्छ । कसैले नलगे कसैले त लानै पर्छ, नी । हामी त अझै पनि यो मोर्चाको आवश्यकता छ र यो समाजवाद प्राप्त नहुँदासम्मको लागि आवश्यक छ भनि नै रहेका छौं ।अझ अलग अगल घटकमा रहेको बेला त झन सहकार्य र एकताको आधार तयार पार्नको लागि र साझा दुश्मनका विरुद्ध लड्न यो भरपर्दो हतियार हो ।

समाजवादी मोर्चाका प्रमुख समस्या र चुनौतीहरु के के छन् , अब   अगाडि जानेबारे कसरी सोच्दै हुनुहुन्छ ?

मोर्चा अहिले करीव निष्क्रिय अवस्थामा छ तर जीवित छ । यसको मुख्य समस्या साझा उदेश्यमा एक हुँदाहुँदै पनि वास्ता नगर्नु, मुखमा ठिक व्यवहारमा आलटाल, तपाईले भन्नु भए जस्तै साझा उद्देश्यमा एक भएर जानु भन्दा पनि आफ्नो अनुकुलतामा प्रयोग गर्न खोज्नु मुख्य समस्या देखिन्छ । समष्टिमा कथनी र करनी बीचको समस्या देखिन्छ । चुनौतीको रुपमा यसलाई कति परसम्म लान सकिन्छ ? साम्राज्यवादीहरु यसलाई असफल पार्न षड्यन्त्र गरिरहेका छन् । मोर्चा फुटाउने प्रयास गरिरहेका छन् । यसलाई रोक्न मोर्चा सफल हुन्छ कि हुँदैन ? अर्थात बाहिय हस्तक्षेप र आन्तरिक अवरोधका विरुद्ध जाने सवाल नै मोर्चाको तत्कालिक चुनौती देख्छु ।

तपाईहरु र माओवादी केन्द्रबिच एकता गर्ने भनेर चर्चा चलिरहँदा यसमा उल्लेख्य प्रगति भए जस्तो लाग्दैन । माओवादीसङ्गको एकताबारे के भैरहेको छ, यो प्रक्रिया कसरी पूरा हुन्छ होला ?

सान्दर्भिक प्रसङ्ग उठाउनु भयो । अहिले पार्टी एकताको बारेमा केही भ्रमहरु पनि उत्पन्न भएको छ । बाहिर हल्ला चलिरहेको छ कि “दशैंपछि एकता हुँदैछ, तिहारपछि एकता हुँदैछ, छिट्टै एकता हुँदैछ । एकताका सबै प्रक्रिया पूरा भइसक्यो । प्रचण्ड र विप्लवबीच सबै कुरा टुङ्गी सक्यो ।” यी निष्कर्षका हल्लाहरु यथार्त होइनन् । पार्टी एकता बारे दुई शीर्ष नेताहरु बीच कुराकानी र विचार विमर्श भइरहेको कुरा सत्य हो । एकताबारे सैद्धान्तिक सहमति छ । माओवादी धाराबीच एकता आवश्यक छ र हुनुपर्छ । यो सैद्धान्तिक विषय हो । यसको लागि निश्चित प्रक्रिया पूरा गर्नु पर्छ त्यो सुरु भएको छैन । यसका लागि ३ विषयमा छलफल र प्रक्रिया पूरा गर्नु पर्छ — एउटा वैचारिक, साँगठनिक र नेतृत्वको प्रश्नमा । उद्देश्य, गन्तब्य र गन्तव्यमा पुग्ने साधन । यी कुराहरुलाई पर राखेर गरिने एकता केटाकेटी पाराको र सतही हुन्छ । यो दिगो हुन सक्दैन । त्यसैले प्रगति नभए जस्तो लागेको हो । छलफलहरु चलिरहेका छन् । ठोस छलफल गर्न बाँकी छ । यसमा क्रान्तिकारीहरु आत्तिनु हुँदैन । संगै जाने मोर्चा जतिखेर पनि खुलै छ । एकताको कुरा सबै मिलाएर गरिने कुरा हो ।

  नेकपाले विभिन्न कार्यक्रमसहित पुनर्गठन दिवस मनाइरहँदा यस सन्दर्भमा थप केही भन्न चाहनुहुन्छ ?

  नेकपाको पुनर्गठन एकदशक पूरा भएको शुभ उपलक्षमा एकीकृत जनक्रान्तिका सम्पूर्ण सहयात्री मित्रहरु, सम्पूर्ण मुक्तिकामी, परिवर्तनकामी, देशभक्त र सहयोगी, समर्थक, शुभचिन्तक जनता तथा देश विदेशमा कार्यरत सहयात्री कमरेडहरु सबैमा उत्तरोत्तर प्रगति र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।  – शेरबहादुर विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]