चार दलको वार्ता प्रस्ताव अस्वीकार

काठमाडौं– खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद र उसले गर्ने भनेको निर्वाचनको सशक्त विरोध गर्दै आएको नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका चार दलले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । वार्ता प्रस्ताव अस्वीकारसँगै नेकपा–माओवादी र चार दलको शुक्रबार हुने भनिएको वार्ता पनि स्थगित भएको छ ।
नेकपा–माओवादीले चारदलसँग वार्ता गर्नुको कुनै अर्थ नभएको भन्दै अस्वीकार गरेपछिे वार्ता स्थगित भएको हो । माओवादीले यसअघि पनि चार दल र सरकारसँगको वार्तामा नबस्ने बताएको थियो । उसले केही दिनअघि राष्ट्रपतिसँग मात्र वार्ता गर्ने पार्टी नीति सार्वजनिक गरेको थियो । बिहीबार बसेको चार दलको बैठकले नेकपा–माओवादीसँगको वार्ताको लागि वातावरण मिलाउने जिम्मा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम नेपालसँगको वातावरण मिलाउने जिम्मा कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई दिएको थियो । वार्ताको लागि सेना समायोजन विशष समितिको कार्यालय नयाँबानेश्वर पुगेका चारदलका शीर्र्ष नेताहरु अहिलेको प्रक्रियासँग असन्तुष्ट बनेका कुनै पनि दल वार्तामा नआएपछि वार्ता स्थगित भएको भन्दै फकिर्एका थिए ।