वार्ताको कुनै औचित्य छैन : माओवादी

काठमाडौं , नेकपा – माओवादीले सरकारले प्रस्ताव गरेको वार्ताको कुनै औचित्य नभएको प्रष्ट पारेको छ ।वर्तमान सरकार ‘असंवैधानिक’ भएको भन्दै माओवादीले चुनावी विषयमा वार्तामा नबस्ने स्पष्ट पारेको हो । ‘असंवैधानिक सरकारद्वारा प्रायोजित निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने भएकाले हामी वार्तामा बस्न असमर्थ रहेको जानकारी गराउन चाहन्छौँ,’ माओवादी अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ । माओवादी अध्यक्ष वैद्यद्वारा जारी प्रेस वक्तव्यको पूर्णपाठ यस प्रकार को छ:”. यही बैसाख ३ गते नेपाल सरकार मन्त्रिपरिषद्को वार्ता टोलीको तर्फबाट हाम्रो पार्टीसँग वार्ताको विषयलाई लिएर गरिएको पत्राचारको सम्बन्धमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।
वार्ता गरी राजनीतिक सहमतिबाट निकास खोजिनु पर्दछ भन्ने विषयमा हामी स्पष्ट नै छौं । चैत्र १ गते राष्ट्रपतिज्यूबाट जारी गरिएको “२५ बुँदे आदेश” नै पार्टीहरु वीच सहमति र सार्थक वार्ताका लागि प्रमुख समस्या बनेको छ । सो आदेशको खारेजीबारे छलफल गर्न तयार हुने कि नहुने भन्ने नै अहिलेको वार्ता सम्वन्धि मूल विषय बन्न गएको छ । परन्तु पत्रको व्यहोरा हेर्दा चैत्र १ गतेको प्रतिगामी र असंवैधानिक कदमको पृष्ठभूमिमा जारी गरिएको “२५ बुँदे आदेश”को मार्गचित्र अनुरुप आयोजना गरिने कथित सम्विधान सभाको निर्वाचन सम्वन्धमा वार्ता गर्न खोजिएको कुरा प्रष्ट छ । त्यसकारण, यो प्रस्तावित वार्ताको कनै औचित्य देखिदैन ।
हामीले पटक पटक दलहरु बीचको गोलमेच वार्ताको कुरा ग-यौ, तर सुनुवाइ भएन र उल्टो ४ दलीय एकाधिकारी संयन्त्रको असंवैधानिक मार्ग अवलम्बन गरियो र “२५ बुँदे आदेश” मार्फत अन्तरिम संविधानलाई पनि अपाङ्ग बनाइयो । हाम्रो माग के हो भने, जुनसुकै मार्ग अवलम्बन गर्दा पनि ४ दल मात्र होइन, संविधान सभामा रहेका सबै दलहरुसहित आन्दोलनरत सबै दलहरुको बीचमा सहमतिको लागि सर्वपक्षीय गोलमेच वार्ता गरी राजनीतिक सहमति कायम गरिनु पर्दछ । सरकारको बारेमा पनि दलहरु वीचको सर्वपक्षीय सहमतिबाट टुंगो लगाइनु पर्दछ ।
अन्त्यमा, वार्ता सार्थक बनाउने हो भने उपरोक्त विषयहरुलाई संम्बोधन गर्न सकिने गरी वार्ताको आयोजना गरिनु पर्दछ । असंवैधानिक सरकारव्दारा प्रायोजित निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने भएको हुनाले हामी वार्तामा बस्न असमर्थ रहेको यसै प्रेस वक्तव्य मार्फत् जानकारी गराउन चाहन्छौं ।
धन्यवाद ।
(क. किरण)
अध्यक्ष
ने.क.पा.— माओवादी”