बिरोधका बाबजुत लोकमान अख्तियारको प्रमुखमा नियुक्त

काठमाण्डौ । व्यापक विवाद र चर्को बिरोधका बाबजुत पनि राष्ट्रपति रामवरण यादवले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरेका छन ।राष्ट्रपति कार्यालय शितल निवासमा आज बिहान राष्ट्रपति यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहितको उपस्थितिमा कामु प्रधानन्यायाधीश दामोदर शर्माले कार्कीलाई सपथ ग्रहण गराएका छन ।शाहीकालिन मुख्य सचिव कार्कीमाथि जनआन्दोलनको दमनकर्ता, भ्रष्टाचारको आरोपी र सरकारी सेवाका लागि आयोग्य घोषितको आरोप छ ।
कामु प्रधानन्यायाधीश शर्माले कार्कीसंगै लोक सेवाका अध्यक्षमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानुप्रसाद आचार्यलाई पनि पद तथा गोपनियताको सपथ गराका हुन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक निकायहरुमा नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा सहितको चार दलीय संयन्त्रको सिफारिसमा संवैधानिक परिषद्ले कार्की सहित अन्य संवैधानिक निकायका प्रमुखहरुमा नियुक्तिका लागि राष्ट्रपति समक्ष बैशाख २२ गते सिफारिस गरेको हो । परिषद्को सिफारिससंगै देशभर कार्कीको नियुक्तिको बिरोध भएको छ । विद्यार्थी, नागरिक समाजका अगुवा, पेशागत संघ संगठन र राजनीतिक दलका कार्यकर्ताहरु बिरोधमा सडकमा उत्रिएका छन्।